प्रज्ञा-प्रतिष्ठानको गतिविधि जानकारीसहित ३८औँ प्राज्ञ सभा सम्पन्न – Nepal Press

प्रज्ञा-प्रतिष्ठानको गतिविधि जानकारीसहित ३८औँ प्राज्ञ सभा सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको ३८ औँ प्राज्ञ सभा सम्पन्न भएको छ । निमित्त कुलपति डा. जगमान गुरुङको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो कार्यकालमा सहयोग र सहकार्य गर्ने सबैप्रति आभार जनाए । छोटो समयमा महत्वपूर्ण कृति प्रकाशन गरेर सार्वजनिक गर्न सकेकोमा निमित्त कुलपति, निमित्त सदस्यसचिवसहित प्राज्ञ परिषद्लाई उप्रेतीले बधाईसमेत दखिए ।

नयाँ सरकार बनेसँगै प्रज्ञा-प्रतिष्ठानको मर्म नखलबलिने गरी नयाँ प्राज्ञ सभा र परिषद् गठन हुनेमा उनको विश्वास थियो । प्रज्ञा गरिमामाय संस्थाको रूपमा रहेकाले नेपालको साहित्य प्रवर्द्धनमा आगामी दिनमा संवेदनशील बनी काम गर्नुपर्ने उप्रेतीको भनाइ छ ।

पूर्वकुलपति बैरागी काइँलाले ज्ञान उत्पादन, निर्माण र वितरण गर्ने संस्था भएकोले अहिले भएका कामको सराहना गरे । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले विभिन्न महत्वपूर्ण अध्धयन, अनुसन्धान र ग्रन्थहरूको प्रकाशनका लागि प्रतिष्ठानलाई बधाई दिए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ ले नेपाल प्रज्ञा-प्रतिष्ठा वर्तमान प्राज्ञ परिषद् आफ्नो कार्यकालमा अतुलनीय काम गर्न सफल भएको बताए ।


निमित्त सदस्य सचिव प्रा.डा. हेमनाथ पौडेलले सभाको औचित्य र सभाले यसअघि गरेका कामका बारेमा जानकारी गराए । वर्तमान प्राज्ञ परिषद्ले ३२१ ओटा अध्ययन, अनुसन्धान, २२७ ओटा गोष्ठी, सम्मेलन र कार्यशाला तथा ३८६ वटा पुस्तक प्रकाशन र पुनः प्रकाशन भएको पौडेलले जानकारी गराए ।

प्रज्ञा-प्रतिष्ठानलाई प्रशासनिक भवनको अभाव रहेकोले त्यो निर्माण गर्न पहल भइरहेको, महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) लाई तोकिए भन्दा कम लागतमा महाकवि देवकोटा सङ्ग्रहालयका रूपमा निर्माण गरी सञ्चालनमा आएको, वेबसाइट पुनः डिजाइन गरी इबुक एप निर्माण गरिएको, प्रज्ञा नेपाली बृहत् शब्दकोशलाई एप निर्माण गरी निःशुल्क वितरण गरिएको पनि उनले बताए । सातअटै प्रदेशका भूगोल र प्रकृतिका साथै त्यहाँ बस्ने जाति र तिनका भाषा, संस्कृति, इतिहास, कला, साहित्य, धर्म, दर्शन, परम्परा, सभ्यता, ज्ञान, विज्ञान आदि पक्षका स्थलगत अवलोकनसहित सातओटा आधिकारिक ग्रन्थ निर्माण गर्ने र तिनको सारसंक्षेपका रूपमा ‘नेपाल दर्पण’ तयार पार्ने क्रममा ‘मधेस दर्पण’ प्रकाशनको अन्तिम चरणमा पुगेको पनि जानकारी गराइयो ।

पूर्वकुलपति बैरागी काँइलाले नेपाली बृहत शब्दकोश मोबाइल एप शुभारम्भ गरे ।

समारोहमा पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी, पूर्वमन्त्री डा. मोदनाथ प्रश्रित, लोकसेवा आयोगका सदस्य तथा नेपाल प्रज्ञा–प्रतिष्ठान सेवा आयोगका अध्यक्ष दिनेश सिलवाल, भाषा आयोगका सदस्यहरू डा. अमर गिरी, मातृका पोखरेल, कृष्ण न्यौपाने, सांस्कृति संस्थानका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी, साझा प्रकाशनका सञ्चालक समिति सदस्य हरिप्रसाद भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दर्शनशास्त्र विभागले तयार गरेको ‘नेपाली दर्शन’ ग्रन्थको पूर्वउपकुलपति प्रा.डा. त्रिपाठीले लोकार्पण गरे । यसै गरी लोकवार्ता र बालसाहित्य विभागले तयार पारेको ‘नेपाली लोकवार्ता कोश’को निवर्तमान कुलपति उप्रेतीले लोकार्पण गरे । प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले सभा सहजीकरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *