विराटनगरमा डुबान समस्या समाधानका लागि सम्भाव्यता अध्ययन सुरु – Nepal Press

विराटनगरमा डुबान समस्या समाधानका लागि सम्भाव्यता अध्ययन सुरु

विराटनगर । विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीवी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

स्मेक डिएमका टिम लिडर डा. शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सूक्ष्म अध्ययन गरेको छ । टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ ।

वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ । महानगरलाई वैज्ञानिक रुपमै डुबानबाट मुक्त गर्न एडीवीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको मेयर नागेश कोइरालाले जानकारी दिए ।

मेयर कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको थियो । आरयूडीपी प्रोजेक्टअन्तर्गतको स्मेक डिएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको मेयर कोइरालाले बताए ।

विराटनगरमा जम्ने पानीलाई कसरी सिंघिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडीवीका कन्सलट्यानहरूबाट अध्ययनको सुरुवात गरिएको उनको भनाइ छ ।

त्यस्तै पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोलालगायतको पानीलाई पनि मूलखोलामा पु¥याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ । ‘विराटनगरको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मको भाग हेरिरहेको छौं,’ मेयर कोइरालाले भने,‘एडीवीबाट आएका साथीहरूसँग म आफैं हिंडिरहेको छु । उहाँहरूले अध्ययन गरेपछि एक–दुई हप्ताभित्रैमा प्रतिवेदन तयार पार्नुहुनेछ र त्यसपछिको प्रक्रियामा अगाडि बढ्नेछौं ।’

मेयर कोइरालाले वैज्ञानिक ढंगले व्यवस्थापन नगरेसम्म महानगरको डुबान समस्या समाधान नहुने बताए । उनले प्राविधिक टोलीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आग्रह गरिएको सुनाए ।

प्राविधिकसहितको टोलीले विराटनगर वडा नम्बर ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ । प्राविधिक टोलीले खोला र पैनीको वर्षातको समयमा हुने अवस्थाबारे स्थानीयसँगसमेत कुराकानी गरेको थियो । महानगरका डुबान समस्या भएका अन्य वडाको पनि अध्ययन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर