समानुपातिकको बन्दसूचीमा नाम रहेका बहुविवाह गरेका व्यक्तिलाई प्रमाणसहित उपस्थित हुन सर्वोच्चको आदेश – Nepal Press

समानुपातिकको बन्दसूचीमा नाम रहेका बहुविवाह गरेका व्यक्तिलाई प्रमाणसहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बहुविवाहको अभियोग लागेका प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकको सूचीमा रहेका व्यक्तिलाई कारबाही हुनुनपर्ने आधार र कारण भए प्रमाणसहित उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बहुविवाहमा सजाय हुनुपर्ने आधार र कारण पेस गर्न अन्तरिम आदेशको लागि विपक्षीलाई छलफलमा झिकाउने आदेश गरेको हो ।

अधिवक्ता अनन्तराज लुईंटेल, नीतिका ढुंगाना, विशालकुमार उपाध्याय र अभिवक्ता केदार लुईंटेलले बहुविवाहको कसूरदारलाई सांसद बनाउँदा कानुनको शासनको धज्जी उडाउने काम हुने दाबी गर्दै राजनीतिक आपराधिक संलग्नता रोक्नका लागि अन्तरिम आदेश जारी गर्न माग गरेका थिए ।

निर्वाचन आयोगमा निवेदन दर्ता गराउँदासमेत बहुविवाह गरेका व्यक्तिलाई समानुपातिकको सूचीबाट हटाउने निर्णय नभएको भन्दै अभिवक्ता केदार लुईंटेलले सर्वोच्च अदालतमा उत्प्रेषणको आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् ।

रिट निवेदनमा बहुविवाह गरी समानुपातिकको सूचीमा परेका व्यक्तिका विरुद्धमा बहुविवाहको कसूरमा अनुसन्धान गरी कारबाही अघि बढाउन निर्वाचन आयोग, महान्यायधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको नाममासमेत आदेश माग गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसूरको रुपमा उल्लेख गरिएको छ । अझै पनि राजनीतिक दलले कानुन निर्माण गर्ने विधायकमा सजाय पाउने कसूरदारलाई सिफारिस गरी मुलुकमा विधिको शासनमाथि चुनौती दिएको निवेदक अभिवक्ता लुईंटेलले जिकिर गरेका छन् ।

कानुनले कसूरदार मानेका व्यक्तिलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन र उनीहरूमाथि कानुन बमोजिम कारबाही गर्नसमेत रिट निवेदनमा माग गरिएको छ ।

बहुविवाह गरेका राप्रपाका प्रेमराज थाम्सुहाङलाई प्रदेश एको प्रदेश सभाको समाुनपातिक तर्फको पहिलो नम्बमा, नेकपा (माले)का कृष्णबहादुर आलेलाई छैटौं नम्बरमा, मालेकै तर्फबाट प्रतिनिधिसभाका लागि समानुपातिक सूचीको ६१ औँ नम्बरमा रहेका चिरञ्जीविराम थारु बुहविवाह गरेका व्यक्ति भएको बताइएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभाका लागि समानुपातिकको बन्दसूचीको २७ औँ नम्बरमा रहेका अकवाल कविराज, लोकतान्त्रिक संघीय मञ्चबाट ज्ञानबहादुर इबुङलिम्बु र नेकपा (एमाले)बाट लुम्बिनी प्रदेश सभाको समानुपातिक बन्दसूचीको सूचीको १२ औँ नम्बरमा रहेका कारणचक्रपाणि शर्मासमेतले बहुविवाह गरेको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर