जीपी-उषा डिभोर्समा कार्यान्वयन नभएको अदालतको फैसला : सम्पत्ति चार भाग, ऋण आधा-आधा – Nepal Press

जीपी-उषा डिभोर्समा कार्यान्वयन नभएको अदालतको फैसला : सम्पत्ति चार भाग, ऋण आधा-आधा

काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सीना कुनै बेला ग्ल्यामर दुनियाँका ‘आइडल कपल’ मानिन्थे । हरेक भ्यालेन्टाइन डेमा सञ्चारमाध्यमहरुमा उनीहरुको खोजी हुन्थ्यो र उनीहरु आफ्नो प्रेमिल सम्बन्धको वर्णन गर्दै एक-अर्काको प्रशंसा गरेर थाक्दैनथे । तर, अब त्यो इतिहास भयो ।

सम्बन्धमा तिक्तता आएसँगै यो जोडी केही वर्षदेखि अलग भएको छ । औपचारिक सम्वन्धविच्छेद चाहीँ यसै वर्षको जेठ २६ मा भएको हो । तर, कागजी डिभोर्स भए पनि यो जोडीको व्यवहार अझै मिलिसकेको छैन । उषाले जीपीबाट अहिलेसम्म एक रुपैयाँ पनि अंश नपाएको गुनासो गरेकी छन् ।

उषासँगको वैवाहिक सम्वन्धमा कानूनतः पूर्णविराम लगाएको ६ महिनाभित्रै जीपीले अर्को विवाह गरेका छन् । उनले गत १९ गते आफ्नी प्रेमिकालाई दुलही बनाएर भित्र्याएका हुन् । सम्वन्धविच्छेदपछि पनि जीपी र उषा लोकन्थलीमा रहेको एउटै घरमा बस्दै आएका थिए भने अहिले नयाँ श्रीमतीलाई पनि जीपीले त्यही घरमा भित्र्याएका छन् । उषा घरको दोस्रो फ्ल्याटमा एक छोरा र एक छोरीसित बस्छिन् । तेस्रो फ्ल्याटमा जीपी आफ्नी नयाँ दुलहीसँग बसिरहेका छन् । घरको भूईंतल्ला चाहीँ भाडामा दिइएको छ ।

जीपीसँग सम्वन्धविच्छेका लागि उषाले २०७६ साल असार ११ गते जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दाको निवेदनमा उनले श्रीमानले आफूलाई रक्सी खाएर कुटपिट तथा गालीगलौज गर्ने गरेको आरोप लगाएकी छन् । साथै, मानसिक तनाव दिएर कोठाबाट निकालेको तथा खानलाउन समेत नदिएर वैवाहिक जीवन सुखमय हुन सक्ने अवस्था नभएपछि सम्वन्धविच्छेदको विकल्प नरहेको उनको फिरादपत्रमा उल्लेख छ ।

उषाले विपक्षी श्रीमान गणेशप्रसाद तिमल्सिना (जिपी तिमल्सिना) तथा आफूहरुका एक छोरा र एक छोरी गरी चार अंशियार भएकाले सम्पूर्ण सम्पत्ति चार भाग लगाएर आफूलाई एक भाग दिन निवेदनमा माग गरेकी थिइन् । साथै, छोराछोरीको संरक्षण एवम् पालन पोषणको जिम्मेवारी श्रीमानले लिनुपर्ने तथा आफूले समय-समयमा भेटघाट गर्न एवम् आर्थिक हैसियत अनुसार सहयोग गर्न पाउनुपर्ने उनको माग थियो ।

यता, जिपीले अदालतमा प्रत्यूत्तर पेश गर्दै आफूमाथि पत्नीले लगाएका आरोपहरु झूटा र कपोलकल्पित भन्दै अस्वीकार गरेका थिए । यद्यपि, सम्वन्धविच्छेदका लागि भने उनको मञ्जुरी थियो । नाबालक छोराछोरीको जिम्मेवारी लिन पनि उनी तयार थिए । उनले विभिन्न व्यक्ति तथा संस्थाबाट घरपरिवार र पेशा सञ्चालनका लागि लिएको ऋणमध्ये श्रीमती र आफूलाई आधा–आधा भाग लगाउनुपर्ने तथा कुल सम्पत्तिलाई ४ भाग लगाएर १ भाग श्रीमतीलाई दिन तयार रहेको अदालत समक्ष बताएका थिए ।

अदालतले सुरुमा उक्त मुद्दालाई मेलमिलापको प्रक्रियाबाट समाधान गर्न सुझाउँदै एक महिनाको समयावधि दिएर मेलमिलाप केन्द्रमा पठाइदिएको थियो । तर, मेलमिलाप हुन नसकेपछि डिभोर्स गराइदिएको हो ।

अदालतले आ–आफ्नो जिम्माको सम्पत्तिको फाँटवारी मुद्दासाथै पेश गर्न २०७८ साल मंसिर १ गते आदेश दिएको थियो । तर, बादी उषाले तारेख गुजारेकी थिइन् । यद्यपि, प्रतिवादीले पनि सम्पत्ति चार भाग लगाएर सम्वन्धविच्छेद गर्न मञ्जुरी दिएकाले तारेख गुजारेकै कारणले मात्र मुद्दा ढिसमिस गर्नु नपर्ने निस्कर्षमा अदालत पुगेको थियो ।

अदालतले भक्तपुरको मध्यपुर थिमी वडा नम्बर १६ मा रहेको गणेशप्रसाद तिमल्सिेनाको नाममा रहेको घर–जग्गा (त्यसबेला एक करोड मूल्यको) लाई चार भाग लगाउन फैसलामा आदेश दिएको थियो । त्यसको एक भाग उषाले पाउने थिइन् । साथै, जीपीले सञ्चालन गरेको प्रमोटर्स नेपाल र उषाले सञ्चालन गरेको स्टाइलिस कलेक्सन (बुटिक) आआफूले नै निरन्तरता दिनेगरी भागबण्डा गर्न नपर्ने फैसलामा उल्लेख छ । जिपी र उषाले चढेका गाडीहरु पनि आआफैंले पाउने गरी अदालतले त्यसमा पनि कुनै बण्डा आवश्यक नरहेको अदालतले बताएको छ ।

अदालतको फैसलाअनुसार जीपीले सञ्चालन गरेको प्रमोटर्स नेपाल फर्मले लिएको ऋणमध्ये ९४ लाख २४ हजारभन्दा बढी सिद्धार्थ बैंक लिमिटेडमा त्यसबेला तिर्न बाँकी थियो । दुवैको सम्वन्ध सुमधुर भएका बखत २०७१ चैत १० गते लिएको कर्जाको उपयोग उनीहरु दुवैले गरेको भन्दै तिर्न बाँकी कर्जाको साँवा–ब्याजबाट दुई भागको एक भाग दुवैले व्यहोर्नुपर्ने अदालतको ठहर थियो । आधा-आधा भाग लगाइएको यस्तो ऋण रकम तत्कालीन समयमा ३५ लाखभन्दा बढी थियो ।

तर, प्रमोटर्स नेपालका नाममा सिद्धार्थ बैंकबाट लिएको ५० लाख रुपैयाँ २०७५ साल मंसिरमा आपसी मनमुटाव भएपश्चात लिएको भन्दै त्यसको उपभोग उषाले गर्न नपाएको ठहरका साथ अदालतले त्यो कर्जाको दायित्व उनले बहन गर्नु नपर्ने जनाएको छ । यसैगरी जीपीले कार खरिदका लागि लिएको ऋणबाट तिर्न बाँकी ७ लाख ८० हजार रुपैयाँ पनि भागबण्डा गर्नु नपर्ने फैसलामा उल्लेख छ ।

तर, यो फैसलामा जिपीले चित्त बुझाएनन् । उनले फैसला उपर उच्च अदालतमा पुनरावेदन गरेका छन् । त्यही पुनरावेदनको बहानामा आफूलाई अहिलेसम्म अंश नदिएको उषाको आरोप छ । अंश नपाएका कारण उनी श्रीमानकै घरमा बस्दै आएकी हुन् । अहिले उनीहरुका १७ वर्षीया छोरी र ८ वर्षिया छोरा उषासँग बस्छन् ।

सन् २००० मा मिस नेपाल बनेकी उषा र जीपीबीच तीन वर्ष लामो प्रेम सम्वन्ध भएको थियो । सन् २००३ मा उनीहरुले विहे गरेका हुन् । श्रीमानसँग सम्वन्धविच्छेदको उजुरी दिएपछि उषाले विभिन्न मिडियाहरुलाई अन्तरवार्ता दिएर आफू अन्यायमा परेको बताइरहेकी थिइन् । उनले १७ वर्षसम्म आफूले घरेलु हिंसा सहनुपरेको गुनासो गरेकी थिइन् ।

हेर्नुस् अदालतकाे पूर्णपाठ:


प्रतिक्रिया

One thought on “जीपी-उषा डिभोर्समा कार्यान्वयन नभएको अदालतको फैसला : सम्पत्ति चार भाग, ऋण आधा-आधा

  1. महिला अधिकारका नाममा पुरुष माथिकाे पक्षपाति कानुन, मानसिक हिसा, अार्थिक बलत्कार, राज्यकाे बिभेदपुर्ण नितिनियम, सामाजिक बिचलन, सन्तानमाथिकाे अधिकार हनन, स्वतन्त्र बाच्न पाउने अबसर माथि सिन्डिकेट तुरुन्त खारेज गर डलरे कुम्भकर्ण सरकार! पुरुष निर्भर हैन आत्मनिर्भर नागरिक खडा गर। परनिर्भर लाई मृत्युदण्ड गर।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर