प्राविधिकतर्फका रामआधार साह सचिवमा बढुवा, सचिव आचार्यको सरुवा


काठमाडौं । सरकारले प्राविधिकतर्फको रिक्त रहेको सचिवमा रामआधार साहलाई बढुवा गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल इन्जिनियरिङ समूहका प्राविधिकतर्फका सहसचिव साहलाई सचिवमा बढुवा गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गत मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव साह पहिलो नम्बरमा, विश्वबाबु पुडासैनी दोस्रो नम्बरमा र अर्जुनजङ्ग थापा तेस्रो नम्बरमा सिफारिस गरेको थियो ।
साह यसअघि नै पहिलो नम्बरमा सिफारिस भए पनि तेस्रो नम्बरका केशवकुमार शर्माको सचिवमा बढुवा भएपछि बढुवा हुनबाट रोकिएका थिए ।
शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह मङ्सिर पहिलो साता अनिवार्य अवकाशमा गएपछि रिक्त एक प्राविधिक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको थियो ।
साहको बढुवा भएसँगै उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
उक्त कार्यालयमा रहेका प्राविधिकतर्फ इन्जिनियरिङ सेवाका सचिव सुरेश आचार्यको सहरी विकास मन्त्रालयमा सरुवा गर्ने पनि निर्णय भएको छ ।