समूह चरणबाटै बाहिरिने भय पार गरेर ब्राजिलको सफलता दोहोर्‍याउने मुखैमा पुगेको फ्रान्स – Nepal Press

समूह चरणबाटै बाहिरिने भय पार गरेर ब्राजिलको सफलता दोहोर्‍याउने मुखैमा पुगेको फ्रान्स

दोहा। तीन साता अघि, विश्वकप फुटबलका पछिल्ला संस्करणहरू साबिक विजेता टोलीका लागि विर्षनलायक बनिरहेको अवस्थामा फ्रान्सले कतार विश्वकपमा उपाधि रक्षा अभियान सुरु गर्दै थियो।

सन् २०१० मा इटाली, सन् २०१४ मा स्पेन र २०१८ मा जर्मनी साबिक विजेताका रूपमा सहभागी भए पनि पहिलो चरणबाटै घर फर्किएका थिए। फ्रान्सको इतिहास पनि त्यस्तै थियो। सन् १९९८ मा विश्व च्याम्पियन बनेको फ्रान्स चार वर्षपछि पहिलो चरणबाटै घर फर्किएको थियो।

यस पटक फ्रान्स डराउनुपर्ने अन्य कारणहरू पनि थिए। खास गरी लयमा रहेका करिम बेन्जेमा, पल पोग्बा, एङ्गोलो कान्टेजस्ता खेलाडीहरू चोटका कारण विश्वकप खेल्न नसक्ने अवस्थामा पुगेका थिए।

तर विश्वकपमा फुटबलमा १२ वर्षदेखि चल्दै आएको एक नियतिलाई फ्रान्सले दोहोरिन दिएन। सुरुका दुई खेल जित्दै फ्रान्सले समूहगत चरण पार गर्ने निश्चित गर्‍यो। प्रिक्वाटरफाइनलमा पोल्यान्डलाई ३-१ गोलले हराएको फ्रान्स क्वाटर फाइनलमा इङ्गल्यान्डमाथि २-१ गोलले हराएर उपाधि रक्षा अभियान कायम राख्न सफल भएको छ।

विश्वकपमा ६० वर्षयता कुनै पनि साबिक विजेता टोलीले उपाधि रक्षा गर्न सकेका छैनन्। सन् १९६२ मा ब्राजिलले अन्तिम पटक यस्तो सफलता हात पारेको थियो। विश्वकप फुटबलमा ब्राजिलबाहेक इटाली मात्र हो जसले विश्वकप उपाधि रक्षा गरेको छ।

ब्राजिल सन् १९९४ देखि लगातार तीन पटक फाइनल पुगे पनि उपाधि रक्षा गर्न भने सफल भएको थिएन। सन् १९९४ को विश्वकपको फाइनलमा इटालीलाई टाइब्रेकरमा हराएर उपाधि जितेको फ्रान्स सन् १९९८ को फाइनलमा भने फ्रान्ससँग पराजित भएको थियो। सन् २००२ को विश्वकपको फाइनलमा जर्मनीलाई पराजित गरेर ब्राजिल पाचौँपटक विश्व विजेता बनेको थियो।

ब्राजिलयता कुनै पनि टोली लगातार फाइनल पुग्न सकेका छैनन्। यस पटक फ्रान्सको उपाधि रक्षा अभियानमा केलियन एमबाप्पे र ओलिभर जिरोड मुख्य दुई हतियारका रूपमा देखिएका छन्। जारी प्रतियोगितामा एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन्।

यस्तै जिरोडको नाममा ४ गोल रहेको छ। फ्रान्सले अब उपाधि रक्षा अभियान कायम राख्न सेमिफाइनलमा मोरक्कोलाई हराउनुपर्ने छ।

प्रिक्वाटरफाइनलमा पूर्व विजेता स्पेनलाई हराएको मोरक्को क्वाटर फाइनलमा पोर्चुगललाई हराएर विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *