पुसबाट घट्ला ब्याजदर ? बैंकर्स पर्शुराम कुँवरले देखाए यस्ता आधार – Nepal Press

पुसबाट घट्ला ब्याजदर ? बैंकर्स पर्शुराम कुँवरले देखाए यस्ता आधार

काठमाडौं । पुसदेखि बैंकको ब्याजदर घट्ने भन्दै बैंकर्सहरूले आ-आफ्नै विश्लेषण गर्न थालेका छन् ।

अहिले बैकिङ क्षेत्रमा हल्ला भएजस्तो तरलता अभाव नभएको बताउँदै बैंकर्स पर्शुराम कुँवर क्षेत्रीले पुस १ देखि ब्याजदर घट्ने बताए । बैंकहरूमा कर्जायोग्य लगानीको अभाव रहेपनि राष्ट्र बैंकको पछिल्लो तथ्यांकले त्यस्तो अभाव नदेखाएको उनको भनाइ छ ।

मंसिर सकिन लागेसँगै अब बैंकहरूले निक्षेपको ब्याजदर रिभ्यू गर्ने समय आएको छ । बैंकहरुले हरेक महिना निक्षेपको ब्याजदर हेरफेर गर्न पाउने प्रावधान छ । आजै (सोमबार) साँझ बैंकर्स संघको साधारणसभा पनि डाकिएको छ । सो सभामा बैंकर्सहरुले ब्याजदरका विषयमा के गर्लान् भन्ने चासो पनि छ । केही बैंकर्सले भने अब ब्याजदर के गर्ने भन्दै संघमा आवाज समेत उठाएको बुझिएको छ । मंसिर सकिन लागेको छ । पुसबाट ब्याजदर केही हेरफेर हुनसक्ने सम्भावना रहेको बैंकर्सहरू बताउँछन् । अहिले बैंकहरूले वार्षिक मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । यता कर्जाको ब्याजदर करिब १८ प्रतिशत छ ।

ग्लोबल आईएमई बैंकका पूर्वसीई क्षेत्रीले बैंकका केही सूचक प्रस्तुत गर्दै ब्याजदर घट्ने आधार देखाएका छन् । उनले सामाजिक सञ्जालमार्फत ब्याजदर घट्ने आधार लेखेका छन्, ‘अहिले बैंकको कर्जा निक्षेप अनुपात ८६.४१ प्रतिशत छ । यसका आधारमा र बैकहरुले ९० प्रतिशतको कर्जा निक्षेप अनुपात सम्म कर्जा दिन सक्ने भएकोले थप करिब १ खर्ब ९८ अर्व कर्जा दिनसक्ने देखिन्छ । गत आवको पछिल्लो ६ महिनामा बैंकको कर्जा वृद्धि ३३ अर्बले मात्र बढेको र चालू आवको मंसिर २२ सम्म ४६ अर्व (झण्डै ११ महिनामा कर्जा वृद्धि ७९ अर्ब रूपैयाँ) मात्र भएको सन्दर्भमा माथि उल्लेख भएको बैंकहरूको थप कर्जा दिन सकिने क्षमता रकम १ खर्ब ९८ अर्व रुपैयाँ उल्लेखनीय हो ।’

चालू आवको सुरूदेखि नै अन्तरबैंक व्याजदर वार्षिक ८.५ प्रतिशतको हाराहारीमा भएकोमा केही दिनदेखि मुद्रा बजारमा व्याजदर घट्दै गएको छ ।

क्षेत्री भन्छन, ‘बैकहरूको थप कर्जा दिन सक्ने सुविधाजनक अवस्था, उच्च व्याजदर आदीका कारणले कर्जाको मागमा कमी, बैंकहरूले राष्ट्र बैंकबाट लिने रिपोएसएलएफमा उल्लेख्य गिरावट, अन्तरबैक व्याजदरमा उल्लेख्य गिरावट आदीका कारणले आगामी २०७९ पौष १ गतेबाट लागु हुने गरि निक्षेपको व्याजदर राम्रै घट्ने देखिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर