पार्टी फेरेका लुम्बिनीका दुई मन्त्री : यादव पराजित, शर्मा जनमतबाट समानुपातिक – Nepal Press

पार्टी फेरेका लुम्बिनीका दुई मन्त्री : यादव पराजित, शर्मा जनमतबाट समानुपातिक

को-को मन्त्रीले जिते, कसले हारे ?

रुपन्देही । लुम्बिनी प्रदेशसभामा यसअघि जसपाबाट सांसद बनेर अहिले मन्त्री रहेका दुई नेताले चुनावको पूर्वसन्ध्यामा एकाएक पार्टी छाडेका थिए ।

मनोनयनकै दिन कांग्रेस छिरेका मन्त्री सहश्राम यादव प्रत्यक्षमा पराजित भएका छन् भने जनमतमा लागेकी मन्त्री सुमन शर्मा रायमाझी समानुपातिकबाट पुनः सांसद बनेकी छन् ।

०७४ मा कपिलवस्तु १ को २ बाट तत्कालीन संघीय समाजवादी फोरम (पछि जसपा) बाट विजयी भएका भौतिक पूर्वाधार मन्त्री सहश्रराम यादव मनोनयन गर्ने दिन जसपाबाट दर्ता गराउन गएपनि बीच बाटोमै नेपाली कांग्रेसमा प्रवेश गरेर गठबन्धनको उम्मेदार बनेका थिए । तर उनी लोसपा छाडेर एमाले प्रवेश गरेका मधुसुदन शरण चौधरीसँग पराजित भएका छन् । कांग्रेस प्रवेश गरेर सत्ता गठबन्धनको उम्मेदवार बनेका मन्त्री यादवलाई २६ सय ८२ मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् । चौधरीले ११ हजार ७४८ मत पाउँदा उनका प्रतिस्पर्धी यादवले ९ हजार ३३ मत पाएका थिए ।

तर, जसपा छाडेर सुटुक्क जनमत लागेकी मन्त्री सुमन शर्मा रायमाझी समानुपातिकमा पुनः सांसद बनेकी छन् । यसअघि जसपाबाटै सांसद बनेर मन्त्री बनेकी उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेश सदस्यका लागि समानुपातिक सूचीमा पर्नेगरी पार्टी छाडेकी थिइन् । जनमत पार्टीले लुम्बिनीमा प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ २ सीट हात पारेको छ । उक्त दुई सीटमा रायमाझी र गीता गुरूङलाई पठाउने निर्णय जनमत पार्टीको छ ।

रुपन्देही क्षेत्र नम्बर ५ को प्रदेश सभा (ख) बाट जनमत पार्टीका चन्द्रकेश (सीके) गुप्ता प्रत्यक्षतर्फ जितेका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा पराजित भएका गुप्ताले लुम्बिनी प्रदेशसभा सदस्य जितेका हुन् ।

यसअघि पनि समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा सिफारिस भएकी रायमाझी जसपाबाट प्रदेश सांसद थिइन् । उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन् । पछि राजीनामा दिएर केही समय बसिन् पछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसी नेतृत्वको मन्त्रिपरिषदमा कृषी मन्त्री भएकी थिइन् । उनी पार्टी निर्णयविपरीत पोखरेल नेतृत्वको सरकारमा गएकी थिइन् । तर पछि जसपाले कारबाही गर्ने भएपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन् ।माओवादीका केसीको नेतृत्वमा नयाँ सरकार बनेपछि रायमाझीलाई कृषिमन्त्री बनाइएको थियो । उनलाई जसपाले कारबाही गर्दै पार्टीबाट हटाएपछि पार्टी निर्णयविरूद्ध उनी सर्वोच्च अदालतमा गएकोका उनको मुद्दा सर्वोच्चले तामेलीमा राखेको थियो ।

जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले जसपाबाट सांसद बनेर मन्त्री बनेकाहरु पुनः सांसद बन्ने लोभमा पार्टीलाई जानकारी नै नदिई दल फेरेको बताए । उनले दलहरुले समानुपातिक सूचि पठाएको नाम सार्वजनिक हुँदा सुमन शर्माको नाम जनमतको लिस्टमा भेटेपछि कारबाहीका लागि प्रदेश सरकारलाई पत्र पठाएपनि बेवास्ता गरेको बताए ।

‘हामीलाई पार्टी छाडेको जानकारी नै थिएन तर नाम जनमतबाट भेटिएपछि प्रदेश सरकारलाई पत्र पठाएँ तर बेवास्ता गरियो, सहश्रराम यादव पनि जसपाबाट उम्मेदार दिन हिंडेर बीच बाटोमै कांग्रेस प्रवेश गरेर जानुभयो’, उनले भने ।

को-को मन्त्रीले जिते, कसले हारे ?

पार्टी फेरेर चुनाव हारेका मन्त्री सहश्रराम यादवसहित लुम्बिनी प्रदेशबाट संघ तथा प्रदेशका बहालवाला ११ जना मन्त्री चुनावी मैदानमा गएपनि ६ जनाले मात्र जित निकाल्नसके । एकजना समानुपातिकबाट पुनः सांसद बनेकी हुन् । संघका तीनजना तथा प्रदेशका ८ जना मन्त्रीहरू चुनावमा गएका थिए ।

संघीय सरकारमा रहेका गृहमन्त्री बालकृष्ण खाण, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा सहरी विकास मन्त्री मेटमणि चौधरी चुनावी मैदानमा रहेपनि चौधरीमात्रै विजयी भए ।

गृहमन्त्री बालकृष्ण खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट मैदानमा थिए । उनी राप्रपाका दीपक बोहोरासँग पराजित भए । संघीय सरकारमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट एमालेका सूर्यप्रसाद ढकालसँग पराजित भएका छन् ।

लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल नेपाली काँग्रेसबाट बाँके-२(ख) मा प्रदेशसभा सदस्यमा पुनः प्रतिस्पर्धामा थिए तर उनी प्रतिस्पर्धामा समेत आउन नसकेर तेस्रो स्थानमा खुम्चिनुपरेको छ ।

त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति अजय शाही नवलपरासी १ बाट पराजित भएका छन् । प्रतिनिधिसभामा उम्मेदार बनेका शाही तेस्रो स्थानमा आएका हुन् । अघिल्लो निर्वाचनमा एमालेको चुनाव चिन्हबाट निर्वाचन जितेका शाही एमाले नेतृत्वको सरकार ढाल्न विपक्षी गठबन्धनमा लागेपछि मन्त्री भएका हन् ।

कुन कुन मन्त्रीले जिते चुनाव ?

दाङ १ बाट संघीय सरकारका सहरी विकास मन्त्री मेटमणि चौधरी पुनः निर्वाचित भएका छन् । मेटमणिले २६,५६३ मत ल्याउँदा एमालेका शान्ता चौधरीले २१,४७९ मत ल्याएकी थिइन् ।

प्रदेश सरकारमा रहेका शिक्षामन्त्री बसीउद्दिन खाँन, ग्रामीण विकास तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य मन्त्री इन्द्रजित थारू, ऊर्जा तथा सिँचाइ मन्त्री वीरबहादुर राना पुनः निर्वाचित भएका छन् ।

चुनावमा गएका प्रदेशका ८ जना मन्त्रीमध्ये ५ जनाले चुनाव जितेका हुन् । स्वास्थ्य मन्त्री इन्द्रजित थारु दाङ क्षेत्र नम्बर १ को (१)बाट पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका तर्फबाट पर्यटन, ग्रामीण विकास तथा सहरी विकास मन्त्री डिल्ली चौधरी दाङ-३ (क) बाट विजयी भएका छन् । यसअघि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

त्यसैगरी शिक्षा मन्त्री बसीउद्दिन खाँनलाई रुपन्देही-४ (२), जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले पाल्पा-२ (१) बाट निर्वाचित भएका छन् । खान सोही क्षेत्रबाट २०७४ सालमा निर्वाचित भएका थिए भने राना ०७४ मा समानुपातिकबाट सांसद बनेका थिए । कृषि मन्त्री सुमन शर्मा भने समानुपातिकबाट पुनः सांसद बनेकी हुन् ।

प्रदेशका १६ जना मन्त्रीमध्ये ८ जनाले मात्रै टिकट पाएका थिए । मुख्यमन्त्री कुलप्रसाद केसीसहित ८ जनाले भने टिकट नपाएका हुन् । मुख्यमन्त्री केसी, अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, आन्तरिक मामिला, कानून तथा सञ्चामन्त्री तिलकराम शर्मा, महिला बालबालिका मन्त्री रमा घर्ती, श्रम तथा यातायातमन्त्री पूर्मती ढेंगा र राज्यमन्त्री सुष्मा यादव, अर्जुन श्रेष्ठ र रिना नेपालले टिकट नपाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर