रेशम रिहा गर्ने सरकारको तयारीमा कांग्रेसका तीन पदाधिकारीलाई नैतिक संकट – Nepal Press

रेशम रिहा गर्ने सरकारको तयारीमा कांग्रेसका तीन पदाधिकारीलाई नैतिक संकट

कैलाली । नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने तयारी गरेको छ ।

जस अनुसार आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

टिकापुर घटनाको दोषि ठहर भई डिल्लीबजार कारागारमा रहेको रेशम चौधरीलाई भेट्न एक सता पहिले पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, बाबुराम भट्टराईदेखि कांग्रेसका नेताहरू पनि पुगेका थिए । त्यो बेला रेशमले आफ्नो रिहाइ पछि मात्रै पार्टीले साथ दिने बताएका थिए । त्यस लगत्तै सरकार रेसमलाई रिहाइ गरेर भएपनि सरकारमा सहभागी गराउने योजनामा अघि बढेको थियो ।

सरकारले अध्यादेश ल्याएर रेसमलाई रिहाइ गर्ने योजना बनाइरहेका बेला कांग्रेस भित्रै भने केही नेताहरूलाई नैतिक संकट परेको छ । केही समय अघिदेखि नै टीकापुर घटना राजनीतिक घटना नभएको बताउँदै आइरहेका कांग्रेस पदाधिकारीहरूलाई अब आफ्नै सरकारको तयारीले नैतिक संकट उब्जाएको हो ।

कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा उपसभापति धनराज गुरुङले टीकापुर घटनालाई आपराधिक घटनाका रुपमा व्याख्या गर्दै आइरहेका थिए ।

‘क्षमा गर्नुहोला राजनैतिक अपराधीकरण र गैर न्यायिक हत्या दुबैसँग असहमत छु’ गगन थापाले सामाजिक सञ्जालमा लेखेका थिए ।

यता विश्वप्रकाश शर्माले यस विषयमा नेतृत्वलाई सचेत गराएको समेत उल्लेख गरेका थिए ।

‘टिकापुर प्रकरण आपराधिक घटना हो’ शर्माले लेखेका थिए, ‘यो या त्यो नाममा क्षमा गर्ने प्रक्रिया अघि बढाइन्छ भने खुलेआम असहमति , नेतृत्वलाई भेटेर पनि असहमति ।’

धनराज गुरुङले पनि यहि संशय व्यक्त गरेका थिए ।

‘टिकापुर घटनालाई राजनीतिको पछ्यौरीले छोपेर छोपिँदैन’ सरकार उनले लेखेका थिए, ‘टिकापुर घटनाका अपराधीको मुद्दा फिर्ता लिने निर्णय फिर्ता लिइयोस् सरकार ।’

टिकापुर घटनाबारे कडा टिप्पणी दिइरहेका यी नेताहरूले अहिले सम्म सरकारको तयारीबारे सार्वजनिक धारण दिएका छैनन् । तर, पहिले कडा रुपमा विरोध गरेको विषयमा आफ्नै सरकारले अध्यादेश ल्याउँदा उनीहरूलाई त्यहि अडान कायम राख्न भने सकस छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर