एमालेमा मेनकाले उठाएको ‘केस स्टडी’- समकालीन केहीलाई अवसरको खात, अरूलाई भुईँको बास – Nepal Press

एमालेमा मेनकाले उठाएको ‘केस स्टडी’- समकालीन केहीलाई अवसरको खात, अरूलाई भुईँको बास

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको २०६५ सालमा सम्पन्न २० औ राष्ट्रिय सम्मेलनबाट रामकुमारी झाँक्री अध्यक्ष र माधव ढुंगेल महासचिव निर्वाचित हुँदा पहिलोपटक केन्द्रीय कमिटीमा इन्ट्री भएका दुई युवती थिए सुनिता बराल र मेनका पछाई ।

हुन त त्यह अधिवेशनबाटै केन्द्रीय सदस्यमा इन्ट्री भएका थिए राधिका खतिवडा, दीपा शर्मा,सुनिता अधिकारीलगायत पनि । तर यहाँ केस स्टडीको रूपमा तुलना भएका पात्र चाहिँ सुनिता र मेनका हुन् ।

एमालेको ३४ जनाको समानुपातिक सांसद सूचीमा खस आर्यबाट आठौं नम्बरमा रहेकी सुनिता बराल पर्दा सोही समुदायको तर पिछडिएको क्षेत्रबाट २ नम्बरमा रहेकी मेनका पछाई पर्न परिनन् । एमाले केन्द्रीय सचिवालयको निर्णयप्रति टिप्पणी गर्दै पछाईले आइतबार लामो स्टाटस लेखेपछि यी दुई एमालेका युवा नेतृको राजनीतिक आरोह अवरोहको चर्चा पार्टीभित्र चलेको छ ।

पोखरा महाधिवेशनबाट अखिल केन्द्रीय कमिटीमा आएका यी दुईमध्ये अर्को महाधिवेशनमा पुग्दा पछाई अनुशासन आयोगको अध्यक्षमा ३ मतले पराजित भएर विद्यार्थी राजनीतिबाट बिदा भइन् । सुनिता भने केन्द्रीय कमिटीमै दोहोरिइन् । उनलाई माधव ढुंगेल अध्यक्ष भएका बेला विद्यार्थी राजनीतिमै निरन्तर गराइयो ।

विद्यार्थी राजनीतिबाट बिदा भएकी पछाईलाई २६ वर्षकै उमेरमा एमालेले २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक सूचीमा पारेको थियो । तर बच्चालाई टिकट दिएको भनेर पार्टीभित्र टिप्पणी भएपछि टिपेक्स लगाएर आफ्नो नाम हटाइएको उनले बताएकी छन् ।

२०७० मा समानुपातिक सूचीबाट अन्तिममा हटाइएकी मेनका २०७४ मा कर्णाली प्रदेश सभाको समानुपातिक सूचीमा थिइन् । उनका अनुसार त्यसबेला पनि रुकुमकी देवी वलीलाई सांसद बनाइयो । वली पछि पार्टी विभाजनमा नेकपा एसतिर लागिन् ।

यसपटक उनी समानुपातिकबाट सांसद बन्नेमा ढुक्क थिइन् । तेस्रो प्रयासमा सांसद बन्न उनका लागि अनुकूल के पनि थियो भने जुम्लामा तेस्रो मानिएको एमाले समानुपातिकमा पहिलो दल बन्यो भने प्रदेशमा पनि एक सीट प्रत्यक्ष जित्यो ।

दूधे बच्चा बोकेर उनी जुम्लाका हिमाली गाउँहरूमा चुनावी अभियानमा सहभागी थिइन् । एमालेको१० औं महाधिवेशन हुने बेला उनी ८ महिनाका गर्भवती थिइन् । पार्टीको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधि चुनिएपछि उनले चिकित्सकले दिएको मितिभन्दा २ साता अघि नै बच्चा जन्माइन् ।

तर स्वास्थ्य प्रतिकुल भएका कारण आफूले महाधिवेशनमा भाग लिन नपाएको र आफ्ना समकालीनहरुले केन्द्रीय सदस्य बन्न पाउँदा आफू मनोनयनमा समेत नपरेको गुनासो मेनकाले गरेकी छिन् । उनीसँगै अखिल केन्द्रीय सदस्य बनेकी सुनिता सोही महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् ।

मेनकाले राजनीतिमा अवसर गुमाइरहँदा सुनिताले भने अवसरबाट कहिल्यै बन्चित हुनुपरेन बरु बोक्न नसक्ने अवसरको भारी पार्टी नेतृत्वले दिइरह्यो र अधिवेशन नै नभई ऐन महरलाई बिदा गरेर अनेरास्ववियुको अध्यक्ष बन्ने मौका पाइन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट भएका कारण उनले एमाले केन्द्रीय सदस्य भएपछि पनि अखिल अध्यक्ष छाड्नु परेन । पछिल्लो विधान महाधिवेशनमा उनले अध्यक्ष छाड्नुपर्ने कुरा भित्रभित्र उठे पनि नेतृत्वको वक्रदृष्टिमा पर्ने डरले नेताहरू कोही पनि खुलेर बोल्न नसकेको अखिलका पदाधिकारीहरू बताउँछन् ।

सुनिताले एक वर्षभित्र एमाले केन्द्रीय सदस्य, अनेरास्ववियुको मनोनीत अध्यक्ष र प्रतिनिधि सभाको सांसद बन्न पाउँदा उनीसँगै राजनीतिमा अघि बढेकी दुर्गम जुम्लाकी मेनका भने तीनपटक सम्म समानुपातिक सूचीमा परेर पनि नेतृत्वको नजरमा नपरेका कारण निर्वाचित हुन सकिनन् । उनले ‘केस स्टडी’का रूपमा आफ्नो राजनीतिक आरोह अवरोध सार्वजनिक गर्दै कसरी केही समकालीनले अवसरको खात पाए भन्ने उल्लेख गरेकी छन् ।

उनले लामो स्टाटस लेख्दै भनेकी छन्–समकालीन कसैलाई अवसरमाथि अवसर दिने,कसैलाई भुईँबाट उठ्न नदिने,मलाई तीनपटक सूचीमा राखेर उपकार गर्ने हाम्रा नेतालाई धेरै धन्यवाद । यसले गर्दा मलाई झन् परिपक्व बनाएको छ ।

उनका समकालीनमध्ये सुनिता बराल र दीपा शर्मा समानुपातिक सांसद बनेका छन् । यद्यपि उनका धेरै समकालीन समानुपातिक सूचीमै पर्न पाएका छैनन् । तर मेनकाले आफू नपरेकोमा भन्दा पनि आफ्ना समकालीनलाई अवसरको खात दिएर आफूहरूलाई भुईँमाथि उठ्न नदिएकोमा चित्त दुखाएकी हुन् ।

त्यसो त अनेरास्ववियुका पूर्व अध्यक्षहरू रुपनारायण श्रेष्ठ, माधव ढुंगेल, किशोरविक्रम मल्लले अहिलेसम्म चुनाव लड्ने टिकट समेत पाएका छैनन् भने सुनिता बरालसँगै उपाध्यक्ष भएका तर राजनीतिमा सिनियर रश्मी आचार्य भुईँमै लडिरहेका छन् । झापाकी सुनिताको राजनीतिमा एकपछि अर्को छलाङ देखेर एमालेका शीर्ष नेताहरू समेत चकित छन् ।

एमालेबाट सुनिता बराललाई सांसद बनाउनका लागि अन्य क्लस्टरमा कैँची चलाइएको टिप्पणी समेत भएको छ । खस आर्यबाट महिलामा ६ नम्बरसम्मका मात्र पर्ने भएपछि ८ नम्बरकी सुनितालाई सांसद बनाउने क्रममा ७ नम्बरकी दीपा शर्माले समेत मौका पाएको एक नेताले बताए ।
एमालेका एक नेताले भने–हुन त एमालेमा मेनकाहरूभन्दा धेरै सिनियर महिला र पुरुष नेताले अवसर पाएका छैनन् । तर उनले समकालीन केहीले अवसरको खातै खात पाएको जुक कुरा उठाएकी छन्,यो एमालेको आन्तरिक जीवनमा हामीले पार्टीभित्र मूल्याङ्कनको परिपाटी स्थापना गर्नका लागि एउटा केस स्टडी हुनसक्छ ।

उनीसँगै उपाध्यक्ष भएका महेश बर्तौला जनताबाट प्रत्यक्ष जितेर आए,ऐन महर झिनो मतले हारे । रश्मी आचार्य, शैलेस लामाहरूले जनतामा टेस्ट हुनै पाएनन् तर नेताले छान्न पाउने समानुपातिक सिस्टममा चाहिँ न्याय हुनुपर्छ भन्ने कुरा हो । सुनिताले जुन अवसर एमालेमा छोटो समयमा पाइन् त्यसलाई जनमतमै टेस्ट गर्न बरु प्रत्यक्ष चुनाव लडाउनुपर्थ्यो र उनले पनि ५ वर्ष कुर्ने धैर्य राखेर जनताबाटै अनुमोदित भएर देखाउँछु भन्नुपर्थ्यो ।

सुनिताकै मातहत कमिटीमा रहेका अखिलका कयौँ नेता कार्यकर्ता स्थानीय तहमा पालिका प्रमुख,उपप्रमुख जितेर जनताबाट अनुमोदित भएका छन् । बरालको सन्दर्भमा भने पार्टीमा निकै बहस भएपछि र ठूलो षड्यन्त्र पार गरेर मात्र सांसद बनाउन सकिएको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सार्वजनिक रूपमा स्वीकार गरेका छन् । उनले सुनिताकै सङ्घर्षका कारण ३ जना थप महिला समानुपातिकमा परेको भन्दै उनलाई रोक्न धेरै चलखेल भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर