बिनु पौडेलको प्रष्टीकरण- लेनदेन उहिल्यै मिलिसक्यो, बैंकका कारण कालोसूचीबाट हटाउन ढिलाइ – Nepal Press

बिनु पौडेलको प्रष्टीकरण- लेनदेन उहिल्यै मिलिसक्यो, बैंकका कारण कालोसूचीबाट हटाउन ढिलाइ

काठमाडौं । नेपाली कांग्रेसबाट बाग्मती प्रदेशको समानुपातिकमा सिफारिस भएकी बिनु रायमाझी (पौडेल) ले आफूलाई अन्यायपूर्ण तरिकाले कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिएको गुनासो गरेकी छन् । नेपाल प्रेसमा आफ्नो समाचार प्रकाशित भए लगत्तै सम्पर्कमा आएकी उनले सो गुनासो गरेकी हुन् ।

चितवनको भरतपुर महानगरपालिका १० कि बिनुको बीएमआर कन्स्ट्रक्सन एन्ड सप्लायर्सले स्थानीय रतन ठाकुरलाई ६१ लाख रुपैयाँको चेक दिएको थियो । तर, कम्पनीको खातामा सो रकम नभएको देखिएपछि रतनले उनलाई कालोसूचीमा राख्न २०७८ सालको फागुन २७ गते एनसीसी बैंकमा माग गरेका थिए । बैङ्कले पठाएको पत्रका आधारमा कर्जा सूचना केन्द्रले २०७८ फागुन ३० गते बिना र उनका साझेदार भरन श्रेष्ठले कालोसूचीमा राखेको थियो, जुन अहिलेसम्म हटेको छैन ।

तर, बिनुले रतनको पैसा चुक्ता गरिसकेको बताइन् । उनले पैसा दिएपछि रतनले एनसीसी बैंकमा सोको जानकारी गराउँदै कालोसूचीबाट हटाउन निवेदन दिएका थिए । तर, हालसम्म बैङ्कले त्यसमा कुनै कारबाही नगरेको बिनाको गुनासो छ ।

‘मैले त कालोसूचीबाट नाम हटिसक्यो होला भन्ने सोचेकी थिएँ । राजनीतिक व्यस्तताले गर्दा फलो अप गर्न पनि पाइनँ । आज समाचार आएपछि पो झसंग भएँ,’ उनले भनिन् ।

बिनाले आजै बैंकका सीइओलाई फोन गरेर यस विषयमा सोधपुछ गरेको जानकारी दिइन् । सीइओ रमेश अर्यालले तत्काल कर्जा सूचना केन्द्रलाई पत्राचार गर्ने बताएको उनको भनाइ छ ।

यस विषयमा सीइओ अर्यालसँग नेपाल प्रेसले कुरा गर्दा कालोसूचीमा हटाउने प्रक्रियामा बैंकबाट ढिलाइ भएको स्वीकार गरे ।

उनले भने, ‘उहाँहरूको लेनदेन सेटल भइसकेको छ । तर, यसमा उहाँहरूले खासै फलो अप गर्नुभएन र प्रक्रियामा ढिलाइ भयो । अब हामी कालोसूचीबाट हटाउन तत्काल पत्र पठाउँछौँ ।’

नेतृ रायमाझी केही वर्षअघि भरतपुर कारागारमा हत्या गरिएका तरुण दलका नेता शिव पौडेलकी पत्नी हुन् । श्रीमानको हत्यापछि उनी राजनीतिमा सक्रिय छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर