समानुपातिकमा छुटाइएका अजम्बरलाई प्रचण्डको ढाडस- सानो मन नगर्नु होला – Nepal Press

समानुपातिकमा छुटाइएका अजम्बरलाई प्रचण्डको ढाडस- सानो मन नगर्नु होला

काठमाडौं । नेतृत्वमा सहमति नजुट्दा समानुपातिक सांसद बन्न नपाएका अजम्बर राई काङमाङले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

समानुपातिकमा पाएको १४ सीटमध्ये माओवादीले पुरूषतर्फ दुईजना पठाउनुपर्ने थियो । त्यसमा खस आर्यबाट हितराज पाण्डेको नाममा सहमति जुटे पनि दोस्रो पुरुष सांसदबारे पदाधिकारीबीच सहमति नहुँदा प्रचण्डलाई जिम्मा दिइएको थियो । पछि दलितबाट रणेन्द्र बराइलीलाई चयन गरिएको छ । भोजपुरका अजम्बर आदिवासी जनजाति क्लस्टरको एक नम्बरमा थिए ।

प्रचण्डलाई भेटेपछि उनले लेखेका छन्, ‘प्रतिनिधिसभा समानुपातिकको सदस्यको उम्मेदवारमा आदिवासी जनजाति क्लस्टरको एक नम्बरमा म अजम्बर राई काङमाङ पनि अटाएकै थिएँ । हिजो आयोगमा बुझाइएको पत्रमा मेरो नाम चाहिँ अटाएनछ ।’

सूचीबारे छलफल भइरहँदा अध्यक्षलाई भेट्दा सांसद बनाइमाग्न आएको भान र दबाब पर्ला भनेर यसअघि भेट्न नआएको अजम्बरले प्रष्ट्याएका छन् । प्रदेश १ का सहइन्चार्ज सावित्री काफ्ले ‘समर’ लाई लिएर खुमलटार पुगेका काङमाङले अध्यक्षले थोरै बल गरिदिएको भए आफू पर्ने बताएको उल्लेख गरेका छन् ।

अध्यक्षले, ‘अनेकौं प्रयत्नका बाबजुद तपाईंलाई यसपटक सांसद बनाउन सकिएन । सानो मन नगर्नु होला ।’ भन्नुभयो । नाङ्गो पाइतालाले आगोको कोइला कुल्चदै हिँड्न अभ्यस्त मैले भनेँ, ‘म पनि बन्छु भन्नेमा विश्वस्तै थिएँ, तपाईंले एक प्रतिशत मात्रै मेरो पक्षपोषण गरिदिनुभएको भए एकाउन्न प्रतिशत हुनेमा म परिहाल्थ्येँ ।’ उहाँले सविस्तार गणित र प्रतिशतका सरल हिसाब सुनाउनु भयो । मनमनै उहाँलाई हान्न भनेर नाङ्गो हत्केलामा मुठ्याएर लगेको झर्राउदो आगोको कोइला तत्कालै भुइँमा खसालिदिएँ’, उनले फेसबुकमा लेखेका छन् ।


प्रतिक्रिया

One thought on “समानुपातिकमा छुटाइएका अजम्बरलाई प्रचण्डको ढाडस- सानो मन नगर्नु होला

  1. कार्यकर्ता उता मन ठूलो पार्ने यता म नेता समानुपातिकमा आफन्तलाई हाल्दै जने ।यस्तो काम सधै भए पछि ती कार्यकर्ता चाहिँ ती नेताकै पछि चाहिँ किन लाग्नुपर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर