गठबन्धनले लुम्बिनीमा एमाले र माओवादीलाई घाटा, कांग्रेसलाई १० प्लस – Nepal Press

गठबन्धनले लुम्बिनीमा एमाले र माओवादीलाई घाटा, कांग्रेसलाई १० प्लस

को को दोहोरिए लुम्बिनी प्रदेश सभाका माननीयहरु ?

रुपन्देही । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षबाट दोहोरिएर आउने सांसदको संख्या १८ पुगेको छ जसमध्ये सबैभन्दा धेरै दोहोरिनेमा नेकपा एमालेबाट परेका छन् । ८७ सदस्यीय प्रदेश सभामा ५२ जना प्रत्यक्षबाट र ३५ जना समानुपातिकबाट निर्वाचित हुन्छन् । एमालेबाट नौ जना दोहोरिँदा कांग्रेसबाट पाँच, माओवादीबाट तीन र लोसपाबाट एक जना माननीय दोहोरिएर निर्वाचित भएका हुन् ।

को को दोहोरिए एमालेबाट ?

एमालेबाट धेरै जना दोहोरिने रुपन्देहीबाट परेका छन् । यसअघि मन्त्री बनेका रुपन्देहीका लिला गिरी, भोजप्रसाद श्रेष्ठसहित भूमिश्वर ढकाल, तुलसीप्रसाद चौधरी पुनः निर्वाचित भएका हुन् ।

रुपन्देही २(१)बाट लिला गिरीले सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका दीर्घबहादुर केसीलाई पराजित गरेका हुन् । गिरीले १७ हजार ६३७ मत प्राप्त गरी विजयी हुँदा केसीले १४ हजार ९१० मत पाएका थिए । रुपन्देही २(२) मा भोजप्रसाद श्रेष्ठले सत्ता गठबन्धनबाट उम्मेदवार माओवादीका बामदेव क्षेत्रीलाई पराजित गरेका हुन् ।

श्रेष्ठले १६ हजार ३५१ मत ल्याउँदा माओवादीका क्षेत्रीले नौ हजार ४३१ मत प्राप्त गरेका छन् । रुपन्देही ५ (१) बाट भूमिश्वर ढकाल दोहोरिएका छन् । पहिलो कार्यकालमा एमालेबाट प्रमुख सचेतक बनेका ढकालले सत्ता गठबन्धनका तर्फबाट माओवादीका विनोद पहाडीलाई पराजित गरेका हुन् ।

ढकालले १९ हजार ७८ मत प्राप्त गरी विजयी हुँदा माओवादीका पहाडीले ११ हजार ३६८ मत ल्याए । रुपन्देही ३ (२) बाट तुलसीप्रसाद चौधरी दोहोरिएका छन् । चौधरीले १६ हजार ३९४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र ढकालले १६ हजार १९३ मत ल्याएका थिए । रुपन्देहीबाट दोहोरिएर उम्मेदार बनेका दधिराम न्यौपाने भने पराजित भएका छन् । उनी यसअघि माओवादीबाट निर्वाचित भएपनि नेकपापछि एमालेमा रहेकाले सांसद पद गुमाएका थिए ।

कपिलवस्तु १ (१) बाट विष्णु पन्थी दोस्रो कार्यकालका लागि दोहोरिए । उनले नेपाली कांग्रेसका डोलकराम घिमिरेलाई पराजित गरे । पन्थीले २० हजार २४७ मत प्राप्त गर्दा घिमिरेले १५ हजार ७९७ मत प्राप्त गरे ।

कपिलवस्तु ३ (१) बाट अर्जुनकुमार केसी दोहोरिए । उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रविदत्त मिश्रालाई ६ मतले पराजित गरे । केसीले ११ हजार ७४३ मत प्राप्त गर्दा मिश्राले ११ हजार ७३७ मत प्राप्त गरेका थिए ।

अर्घाखाँची १ (१)बाट चेतनारायण आचार्य र अर्घाखाँची १ (२) बाट रामजीप्रसाद घिमिरे दोस्रो कार्यकालका लागि प्रदेश सभामा आएका छन् । आचार्यले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई पराजित गरेका हुन् । आचार्यले २० हजार ५२५ मत प्राप्त गर्दा क्षेत्रीले १९ हजार ७९० मत प्राप्त गरेका छन् ।

घिमिरेले नेपाली कांग्रेसका कमलप्रसाद भुसाललाई पराजित गरे । घिमिरेले २२ हजार ७८९ मत प्राप्त गर्दा भुसालले २१ हजार ९८३ मत प्राप्त गरे । गुल्मी २(२) बाट दिनेश पन्थी दोहोरिएका छन् । ०७४ सालको निर्वाचनसम्म माओवादीमा रहेका उनी नेकपा विभाजनपछि एमाले रोजेका कारण सांसद पद गुमाएका थिए ।

पन्थीले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका बुद्धिबहादुर घर्तीलाई पराजित गरे । पन्थीले १३ हजार ९२९ मत प्राप्त गरी विजयी हुँदा घर्तीले १३ हजार ८१९ मत ल्याए ।

कांग्रेसबाट ५ जना दोहोरिए

कांग्रेसबाट २०७४ सालमा प्रत्यक्ष र समानुपातिकबाट प्रदेश सभा सदस्य भएकामध्ये नौ जना यसपटक चुनावी मैदानमा गएकामा ५ जना निर्वाचित भएका छन् ।

रुपन्देही ४ (२) बाट वसिउद्दिन खाँ दोहोरिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री रहेका खाँले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मोहनलाल यादवलाई पराजित गरेका हुन् । खाँ ले ११ हजार ३०५ मत प्राप्त गर्दा यादवले आठ हजार २६५ मत प्राप्त गरेका छन् ।

दाङ ३ (१) बाट डिल्लीबहादुर चौधरी दोहोरिएका छन् । पर्यटन, ग्रामिण तथा शहरी विकासमन्त्री रहेका चौधरीले एमालेका घनश्याम पाण्डेलाई पराजित गरेका हुन् । चौधरीले १९ हजार ८६७ मत प्राप्त गर्दा एमालेका पाण्डेले १४ हजार ४६९ मत प्राप्त गरेका छन् ।

पाल्पा २ (१) बाट वीरबहादुर राना दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी समालेका रानाले एमालेका परशुराम भट्टराईलाई पराजित गरेका हुन् । रानाले १६ हजार ३९ मत प्राप्त गर्दा भट्टराईले १३ हजार ९६४ मत प्राप्त गरेका छन् ।
नवलपरासी २ (२) बाट बैजनाथ कलवार जैसवाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले ११ हजार ७८२ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नगेन्द्र अग्रहरीले नौ हजार ८५२ मत प्राप्त गरेका छन् । बर्दिया १ (१) बाट भुवनेश्वर चौधरी दोस्रो कार्यकालका आएका छन् ।

उनले एमालेका शालिकराम अधिकारीलाई पराजित गरेका हुन् । चौधरीले १७ हजार २६ मत प्राप्त गर्दा एमालेका अधिकारीले १६ हजार ९०७ मत प्राप्त गरेका छन् ।

माओवादीबाट को को आए दोस्रोपटक ?

माओवादीबाट तीन जना मात्रै यो पटक दोहोरिएका छन् । दाङ १ (१) बाट इन्द्रजित थारु दोहोरिएका छन् । उनले एमालेका गंगाराम भट्टराईलाई पराजित गरे । स्वास्थ्य मन्त्री रहेका थारुले १३ हजार ५०७ मत प्राप्त गर्दा एमालेका भट्टराईले ११ हजार ७२८ मत प्राप्त गरे ।
पाल्पा २ (२) बाट तुलाराम घर्ती दोस्रो पटक निर्वाचित भएका छन् ।

यसअघिको माओवादीका प्रमुख सचेतक भएका घर्तीले एमालेका ओमबहादुर घर्ती मगरलाई पराजित गरेका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका घर्तीले १३ हजार ९१२ मत प्राप्त गर्दा एमालेका ओमबहादुर घर्ती मगरले १३ हजार ५१ मत प्राप्त गरे ।

बाँके १ (१) बाट कृष्णा केसी दोस्रो पटक निर्वाचित भएकी छन् । उनी लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष चुनाव जित्ने एक्ली महिला सांसद हुन् । उनले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि दोहोरिएकी हुन् । केसीले नौ हजार १०३ मत प्राप्त गर्दा चौधरीले सात हजार ९६६ मत प्राप्त गरे ।

लोसपाका पाण्डेय आए दोस्रो कार्यकालका लागि

रुपन्देही ३ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डेय पनि प्रदेश सभामा दोहोरिएका छन् । यसअघि जसपाबाट निर्वाचित भएका उनी पार्टी निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा गएकाले सांसद पद गुमाएका थिए ।

पाण्डेयले जनता समाजवादी पार्टी नेपालका महेन्द्र यादवलाई पराजित गरेका हुन् । पाण्डेयले १४ हजार ९२८ मत प्राप्त गर्दा यादवले १० हजार ७९८ मत प्राप्त गरे ।

गठबन्धनले एमाले र माओवादीलाई घाटा, कांग्रेसलाई १० प्लस

२०७४ को निर्वाचनमा २७ सीट जितेको एमालेले यसपटक प्रदेश सभामा नौ सीट गुमाएको छ भने माओवादीले यसअघि १४ सीट जितेकोमा अहिले ५ सीटमा खुम्चेको छ । ०७४ मा सात सीट मात्रै जितेको कांग्रेसले सत्ता गठबन्धनको बलमा १७ सीट जितेको छ ।

प्रदेश सभामा प्रत्यक्षतर्फ १८ सीट जितेर एमाले पहिलो दल बनेको हो । कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २/२ सिट, जनमत पार्टीले एक सीट जितेका छन् ।

माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सीट जितेका छन् । प्रत्यक्षमा एकीकृत समाजवादी र जनमोर्चा लुम्बिनी प्रदेशमा शून्य भएपनि समानुपातिकमा १/१ सीट ल्याएका छन् । समानुपातिकको ३५ सीटमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपाले २, नागरिक उन्मुक्ति २, जनमत २, जसपा र लोसपा १/१, तथा जनमोर्चा र नेकपा एसले १/१ सीट सुरक्षित गरेका छन् ।

३२ दल सहभागी भएकोमा प्रत्यक्षमा ८ र समानुपातिकमा थप २ गरी १० दलले लुम्बिनी प्रदेशसभामा सहभागिता जनाउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर