बहुदलपछि तीन चुनावमा जित, तीनमा हार- अहिले समानुपातिकबाट इन्ट्री – Nepal Press

बहुदलपछि तीन चुनावमा जित, तीनमा हार- अहिले समानुपातिकबाट इन्ट्री

सिन्धुपाल्चोक । पञ्चायतकालदेखि नै चुनावी मैदानमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमसेर राणा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षबाट उम्मेदवार भएनन् । राणालाई सिन्धुपाल्चोकबाट राप्रपाले दुवै क्षेत्रबाट प्रत्यक्षमा सिफारिस गरेपनि राणा समानुपातिकमा पहिलो नम्बरमा सिफारिसमा परे ।

राप्रपाले निर्वाचन आयोगमा पठाएको समानुपातिक उम्मेदवारहरुको खस आर्यमा राणा १ नम्बरमा भएकाले पनि उनी सासंद हुने निश्चित जस्तै छ । राणा समानुपतिकबाट सासंद छनोट हुने निश्चित भएसँगै संसदमा उनी सबैभन्दा जेष्ठ सदस्य पनि हुनेछन् ।

पशुपति शम्शेर जबराको जन्म १९९८ बैशाख २५ गते भएको थियो । उनी अहिले ८१ वर्षको भए । ससंदमा उनको उमेर समूहका सम्भवत उनी एक्ला सदस्य हुन् । प्रतिनिधि सभामा सभामुख चयन नहुदाँसम्म राणाले नै जेष्ठ सदस्यको हैसियतमा ससंद चलाउने अवसर समेत पाउने निश्चित छ ।

बहुदलपछि जित र हार बराबर

२०३८ सालदेखि २०७४ को निर्वाचनसम्म उनी सिन्धुपाल्चोकबाट उम्मेदवार भएका थिए । २०३८ देखि एक छत्र जनताका प्रतिनिधि बनेका राणाले पहिलोपटक २०६४ को निर्वाचनमा हार ब्यहोरे । त्यसपछिका सबै संघीय चुनावमा उनले हारको ‘ह्याट्रिक’ गरे ।

जिल्लामा विकासप्रेमी नेताको छवि बनाएका उनी पहिलो संविधानसभा निर्वाचनमा तेस्रो भए । त्यतिबेला माओवादीका दावा तामाङ विजयी भए । २०७० को संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङले राणालाई हराए । उनलाई बाम गठबन्धनबाट उम्मेदवार बनेका तामाङले हराएका थिए । पछिल्लो चुनावमा कांग्रेसको साथ पाएर पनि राणा चुके ।

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसको साथमा चुनावी प्रतिष्पर्धामा थिए । तर एमाले उम्मेदवार शेरबहादुर तामाङसँग फराकिलो मतान्तरमा पराजित भएका थिए । तामाङले ३८ हजार ४०१ मत पाउँदा राणाले त्यतिबेला ३० हजार ३६९ मात्रै मत ल्याएका थिए ।

राणा ०३८ सालदेखि चुनावी मैदानमा ओर्लिएका हुन् । उनले यो चुनावमा ३६ हजार ८ सय ४५ मतसहित विजयी बनेका थिए । ०४३ र ४८ को चुनावमा पनि उनै राणा विजयी बने । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार ०५१ सालको निर्वाचनमा क्षेत्र नं. ३ बाट ११ हजार ७ सय ४४ मत ल्याएर कांग्रेसका कान्छा लामालाई हराउँदै सांसदमा निर्वाचित भएका थिए ।

०५६ सालको चुनावमा १४ हजार ५ सय १२ मत ल्याएर विजयी भए । यो नै उनको अन्तिम विजय थियो । त्यसयताका सबै निर्वाचनमा उनले हार व्यहोरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर