टुटफुटले कमजोर बन्दै वामशक्ति : ०६४ पछि पहिलोपटक संसदमा गुम्यो बहुमत – Nepal Press

टुटफुटले कमजोर बन्दै वामशक्ति : ०६४ पछि पहिलोपटक संसदमा गुम्यो बहुमत

काठमाडौं । ०६४ को निर्वाचनपछि पहिलोपटक नेपालको संसदमा वामपन्थी शक्तिहरू अल्पमतमा परेका छन् । कम्युनिष्ट पार्टीहरू आन्तरिक किचलोमा परेर छिन्नभिन्न भएकै कारणले प्रतिनिधिसभामा पहिलोपटक बहुमत गुमाएका हुन् ।

मंसिर ४ मा भएको निर्वाचनमा कुनै दलले पनि एकल बहुमत ल्याउन सकेनन् । कम्युनिष्ट मात्रै नभएर अधिकांश दलहरू अहिले खुम्चिएका छन् भने नयाँ दलहरुको उदय भएको छ । एकले अर्कालाई सिध्याउने अभियानमा लाग्दा अहिले कम्युनिष्टहरूमाथि कांग्रेस र स्वतन्त्रहरू दाबी भएका छन् ।

२७५ जना सांसद रहेको प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्छ । तर एमाले, माओवादी, नेकपा एससहित दलहरू एकजुट भए पनि सरकार बनाउन पुग्ने हिसाब छैन । निर्वाचन आयोगको तथ्यांकअनुसार निर्वाचनमा कम्युनिष्ट पार्टीका उम्मेदवारले ४५ प्रतिशतभन्दा बढी मत पाएको देखिन्छ । तर ३२ प्रतिशत मत ल्याएको कांग्रेस ठूलो दल बनेको छ ।

प्रतिनिधिसभामा कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपा १४, जसपाले १२, जनमत पार्टीले ६ सीट ल्याएको छ । तर, माधव नेपाल नेतृत्वको नेकपा एसले प्रत्यक्षमा १० सीट जितेपनि राष्ट्रिय दल बनेन । लोसपाले ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १÷१ सीट जितेका छन् भने ५ स्वतन्त्र सांसद बनेका छन् । तर, यही तथ्यांकलाई हिसाब गर्दा कम्युनिष्टहरूले बहुमत ल्याउन सकेका छैनन् । एमाले, माओवादी र नेकपा एसको १२० सीट मात्रै पुगेको छ ।

०६४ मा माओवादीको वर्चश्व

०६४ मा प्रतिनिधि सभामा ६०१ सांसद रहने व्यवस्था थियो । त्यो निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो दल बन्यो । माओवादीले प्रत्यक्षमा १२०, समानुपातिकमा १०० र मनोनित ९ गरेर २२९ सीट जितेको थियो ।

दोस्रो दल बनेको कांग्रेसले ११५, एमालेले १०८, तत्कालीन मधेशी जनअधिकार फोरम ५४, तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीले २१ सीट जितेका थिए । यस्तै, नेकपा माले ९, नेकपा संयुक्त ५, नेमकिपा १, जनमोर्चा ४, नेकपा एकीकृत २, जनमोर्चा नेपाल ७ सीटमा विजयी भएका थिए ।

जनमोर्चा नेपाल २०५९ सालमा नेकपा (एकता केन्द्र–मसाल) को जनवर्गीय संगठन र चुनावी मोर्चाको रूपमा स्थापना भएको थियो । यो निर्वाचनमा दश वर्षे जनयुद्धबाट आएको माओवादी हावी हुँदा एमाले तेस्रो शक्ति बनेको थियो । तर, कम्युनिष्ट सरकार गठनका लागि सुविधाजनक बहुमत पुगेको थियो ।

०७० मा कांग्रेस पहिलो तर कम्युनिष्टकै बहुमत

०६४ सालमा पहिलो पार्टी बनेको माओवादी २०७० को निर्वाचन आइपुग्दा तेस्रोमा खुम्चिन पुुगेको थियो । त्यसबेला २०६ सीट जितेर कांग्रेस सबैभन्दा ठुलो दल बनेको थियो ।

एमालेले १८४ सीट जित्दा माओेवादीले ८३, नेकपा मालेले ५, जनमोर्चाले ३, नेककिपाले ४, राप्रपाले १३, मधेशी जनअधिकार फोरम नेपालले १०, तराई-मधेश लोकतान्त्रिक पार्टीले ११ सीट जितेका थिए । तर, एमाले र माओवादीसहित साना कम्युनिष्ट दल मिल्दा सरकार गठनको लागि बहुमत पुगेको थियो ।

०७४ मा वाम गठबन्धन हावी

०७४ सालमा ओली र प्रचण्डले एमाले र माओवादी केन्द्रबीच एकता गरेर फरक अभ्यास गरे । तर, त्यो सफल हुन सकेन । साविकको नेकपा अहिले चार टुक्रा भएको छ । ओली, प्रचण्ड, माधव नेपाल र वामदेव गौतम अहिले आफू नेतृत्वको दल चलाइरहेका छन् ।

०७२ मा संविधान जारी भएपछि प्रतिनिधि सभामा ६०१ सांसद घटाएर २७५ कायम गरिएको थियो । जसमध्ये १६५ प्रत्यक्ष निर्वाचित भएर आउने र ११० समानुपातिकबाट ल्याउने व्यवस्था छ । एमाले र माओवादी गठबन्धन गरेर जाँदा एमालेले १२१, माओवादीले ६३, कांग्रेसले ५३, नेमकिपा र जनमोर्चाले १÷१ सीट जितेका थिए । मधेश केन्द्रित दलमा साविक राष्ट्रिय जनता पार्टीले १७ र संघीय समाजवादी फोरमले १६ सीट जितेका थिए ।

वाम गठबन्धनले दुई तिहाइ नजिक बहुमत ल्याउँदा समेत सत्ता स्वार्थको कारणले मिल्न सकेनन् । पार्टीभित्र प्रचण्ड–माधवको मोर्चावादीले ओली कमजोर भएपछि दुई पटक प्रतिनिधि सभा विघटन गरे । त्यही विवादले अहिले साविकको नेकपा चार टुक्रा भएको छ ।

के भन्छन् नेताहरु ?

माओवादी कम्युनिष्ट एकताको पक्षमा भए पनि काम र सिद्धान्त फरक परेपछि समस्या आएको महासचिव देव गुरूङ तर्क गर्छन् ।

उनी भन्छन्, ‘कम्युनिष्टहरू एकजुट भएर जान सकेको भए अहिलेको अवस्था आउँदैथ्यो । तर, कम्युनिष्ट अब नाम मात्रैको कम्युनिष्ट र वामपन्थीको रूपमा देखा परे । त्यसले गर्दा समस्या भएको हो । काम र सिद्धान्तको आधारमा हुनुपर्छ ।’

आफूहरूले कम्युनिष्ट आन्दोलनको रक्षाकै लागि एमालेसँग सहकार्य गरेर ०७४ को निर्वाचनमा गए पनि परिणाम दिनका लागि असफल भएको उनको भनाइ छ । आफूहरूले अग्रगामी धारमा जान पहल गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगामी बाटोमा हिँडेको आरोप उनले लगाए । अहिले पनि आफूहरू विचार मिल्ने शक्तिहरूसँग एकजुट भएर अघि बढ्ने प्रयास गरिरहेको गुरुङको जिकिर छ ।

कम्युनिष्ट पार्टीहरू स्वार्थकै कारणले अलग भएकाले अहिलेको परिस्थिती आएको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बताउँछिन् ।

उनी भन्छिन्, ‘कम्युनिष्ट स्वार्थ र आन्दोलनलाई नै बिर्सेका कारणले अहिलेको अवस्था आएको हो । प्रचण्ड कमरेडले झन् त्यत्रो जनयुद्ध गर्नुभयो । अहिले उहाँले सबै कुरा बिर्सिएकै कारणले अफ्ठ्यारो स्थितिमा हुनुहुन्छ । उहाँले मात्रै नभएर अन्य नेताहरूले पनि बाटो बिराएका छन् ।’

अहिले कम्युनिष्ट नेताहरू नीति र सिद्धान्त बिर्सिएर पद, स्वार्थ र भागबण्डाको राजनीतिमा केन्द्रित भएको उनको बुझाइ छ ।

‘कम्युनिष्टहरूको नीति र सिद्धान्त एउटै छ । तर, आन्तरिक स्वार्थको लागि सबै अलग अलग–बाटोमा छन् । यस्तो ढंगबाट हामी अगाडि बढेर समाजवादमा पुग्न सक्दैनौँ,’ उनले भनिन्, ‘अहिले सबैको साझा स्वार्थ नै समाजवाद हुनुपर्छ । सबैको चिन्ता त्यही हुनुपर्छ ।’

अहिले नेताहरू देश र जनताभन्दा पनि परिवार नातावादमा दौडिएको उनको बुझाइ छ ।

‘कम्युनिष्ट कम्युनिष्ट रहेनन्’

कम्युनिष्ट नेताहरू ‘कम्युनिष्ट’ नरहेको कारणले पछिल्लो समय उनीहरुप्रतिको आकर्षण घट्दै गएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् । कम्युनिष्टहरू नै पूँजीपति हुन थालेपछि जनतामा तिव्र असन्तुुष्टि बढेको उनको बुझाइ छ ।

उनी भन्छन्, ‘कम्युनिष्टहरू विश्वभर नै असफल भएको देखिन्छ । नेपालमा कांग्रेसको असफलताको कारणले केही स्पेस पाएका मात्रै हुन् । धेरै बर्षसम्म चल्नेवाला जस्तो थिएन । त्यो अहिले देखियो ।’

कम्युनिष्टहरू वैचारिक दृष्टिले कमजोर हुनुका साथै अन्तराष्ट्रिय दबाब पनि उत्तिकै भएको उनले दाबी गरे ।

विश्लेषक आचार्यले भने, ‘नेपालमा आर्थिक असमानता छ । धनी र गरिबको बीचमा ग्याप छ । त्यसले कम्युनिष्टहरूको नारा कमजोर बनिरह्यो । कम्युनिष्ट नेताहरूको जीवनचर्या र दैनिकी कसैमा कम्युनिष्ट नरहेपछि झनै वितृष्णा बढेको छ ।’

कम्युनिस्ट भोटर र कम्युनिस्ट नेता बीचको ग्यापले नै नेपालमा कम्युनिष्टलाई कमजोर पार्ने अवस्था बनेको उनको बुझाइ छ ।

विश्लेषक आचार्यको बुझाइमा कम्युनिष्टहरू कमजोर हुनुका तीन कारण

पहिलोः कम्युनिष्ट पार्टीमा आएको विभाजनले जनतामा निराशा बढेको छ । आन्तरिक स्वार्थमा रमाउँदा अहिले कम्युनिष्टप्रति जनताको आकर्षण तिव्र घटेको छ । अहिले सम्पूर्ण कम्युनिष्टहरू जोड्दा पनि मुस्किलले ४० प्रतिशत पुग्न मुस्किल छ । जबकी हिजो ६० प्रतिशत थियो । त्यसबाट नै जनतामा नैराश्यता आएको प्रष्ट हुन्छ ।

दोस्रोः कम्युनिष्टको धेरै उग्र नारा भयो । तत्काललाई असम्भव हुने एजेन्डाहरूलाई कम्युनिष्टहरूले अगाडि सारेका छन् । त्यो झूट हो भन्ने जनताले बुझिसकेका छन् । घर-घरमा ग्यासपाइप, रेल र पानीजहाजका अनेक हावादारी गफ धेरै फैलाए । त्यही भएर कम्युनिस्ट भनेको झूटको खेती गर्ने भएकाले धेरै बोक्न सकिँदैन भन्ने जनताले बुझिसकेका छन् ।

तेस्रोः अहिलेका नयाँ मतदाताहरू कम्युनिष्टसँग टाढिएका छन् । गाउँघरमा युवाहरू करिब खालि भइसके । यस्तो बेलामा राष्ट्रवादको नाराको अर्थ छैन । धनी र गरिब बीचको उग्र असमानता हाम्रो बीचमा देखिएको छ । अहिले शहरीया मध्यमवर्गीय युवाहरूमा कम्युनिष्टप्रति वितृष्णा नै छ । त्यो अहिलेको चुनावमा प्रष्ट देख्न सकिन्छ ।

गाउँघरमा युवाहरू मलेशिया, अष्ट्रेलिया पुगेपछि कम्युनिष्टहरू भोटका लागि मात्रै रहेछन्, कामको लागि होइन रहेछ भन्ने बुझिसके । त्यसैले काठमाडौं, विराटनगर, चितवनसहित मुल शहरमा कम्युनिष्टहरूको पत्तासाफ भयो । कांग्रेसले प्राप्त गरेको मत बढेको नभएर कम्युनिष्टप्रतिको वितृष्णाको कारणले मात्रै पाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *