एमालेको काँधमा एकनाथ ! समानुपातिक सांसद बन्ने लगभग निश्चित, पार्टीभित्र असन्तुष्टि – Nepal Press

एमालेको काँधमा एकनाथ ! समानुपातिक सांसद बन्ने लगभग निश्चित, पार्टीभित्र असन्तुष्टि

काठमाडौं । विवादास्पद छविका इसाई धर्म प्रचारक एकनाथ ढकालले तेस्रो पटक देशको संघीय संसदमा प्रवेश पाउने भएका छन् । यसअघि दुई पटक नेपाल परिवार दलबाट संविधानसभाको सदस्य बनेका उनी यसपालि भने देशको दोस्रो ठूलो दल एमालेको बुई चढेर माननीय बन्न लागेका हुन् ।

एमालेले निर्वाचन आयोगलाई पठाएको बन्दसूचीमा ढकालको नाम खस-आर्य क्लस्टरको दोस्रो नम्बरमा छ । पहिलो नम्बरमा रघुजी पन्त छन् । समानुपातिकतर्फका ११० मध्ये एमालेले सबैभन्दा बढी ३४ सीट जितेको छ । समावेशिताको सूत्रका आधारमा एमालेले खस-आर्यबाट मात्रै ११ जनालाई सांसद बनाउन सक्छ ।

सामान्यतया बन्दसूचीको प्राथमिकतामा रहेकाहरूलाई नै सांसद बनाउनुपर्ने भएकाले ढकालको निश्चितजस्तै देखिएको हो । यदि उनलाई पन्छाउने हो भने एमालेले खस-आर्यबाट एक जनामात्रै पुरुष (रघुजी पन्त) पठाएर बाँकी ९ जना महिला पठाउनुपर्ने हुन्छ । तर, एमाले नेतृत्वले उनलाई जसरी पनि सांसद बनाउने सोचका साथ सूचीमा राखेको हुँदा यस्तो सम्भावना न्यून रहेको नेताहरू बताउँछन् ।

स्मरणीय यो छ कि एकनाथ अहिले पनि नेपाल परिवार दलका अध्यक्ष छन् । सो पार्टीको गत वर्ष भएको तेस्रो महाधिवेशनबाट उनी अध्यक्षमा तेस्रो पटक निर्विरोध निर्वाचित भएका थिए । परिवार दलले यसपालि समानुपातिकको बन्दसूची पठाएको छैन । बरु पार्टीका अध्यक्ष नै अर्को पार्टीको बन्दसूचीमा घुसेका छन् । यसरी एउटा पार्टीको अध्यक्षलाई अर्को पार्टीले समानुपातिकको बन्द सूचीमा राख्नु नै अराजनीतिक र अनैतिक अभ्यास हो ।

एकनाथलाई बन्दसूचीमा प्राथमिकतासाथ राखिएको विषयमा पार्टीभित्र तीव्र असन्तुष्टि छ । तर, सर्वशक्तिमान् अध्यक्ष केपी ओलीकै रुचिमा यो निर्णय लिइएको हुँदा कसैले पनि खुलेर विरोध गरेका छैनन् । तल्लो पंक्तिका कार्यकर्ताहरूले भने सामाजिक सञ्जालमा यसको आलोचना गरिरहेका छन् ।

नाम नखोल्ने सर्तमा एमालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘लामो समयदेखि पार्टीमा सक्रिय रहेर योगदान दिएकाहरूलाई उपेक्षा गर्दै एउटा विवादित धर्मभिरुलाई सांसद बनाउनु लाजमर्दो हो । पार्टीको छवि जोगाउन यो निर्णयलाई जसरी पनि सच्याउनु आवश्यक छ ।’

एमाले समानुपातिकको बन्दसूचीमा ढकालमात्र नभएर अरू पनि थुप्रै आयातितहरूलाई प्राथमिकता दिइएको छ । सांसद बन्न पार्टी नै बदलेकाहरूप्रति एमाले नेतृत्वले अनावश्यक उदारता देखाएकोमा पनि नेता-कार्यकर्ता रुष्ट छन् । तर, सबैभन्दा चर्को असन्तुष्टि चाहिँ ढकालकै नाममा छ । यिनै ढकालले चार वर्षअघि ‘होली वाइन’ काण्ड मच्चाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत विवादमा पारेका थिए ।

सन् २०१८ मा एसिया प्यासिफिक समिटको नाममा काठमाडौंमा धार्मिक सम्मेलन आयोजना भएको थियो, जसको आयोजक थियो ढकालले स्थापना गरेको युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) । उक्त सम्मेलन सफल पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष रूपमा सक्रिय थिए । ढकालले सम्मेलन आयोजक समितिको संयोजक नै नेपाललाई बनाएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीसमेत सम्मेलनमा प्रयोग भएका थिए ।

ओली नेतृत्वको सरकारले ‘होली वाइन सम्मेलन’ मा राज्य कोषबाट चार करोड रुपैयाँ खर्चेको थियो । सोही सम्मेलनका क्रममा विदेशबाट आएका विशिष्ट अतिथिहरूलाई स्वागत र भेटवार्ताका लागि भन्दै ओलीले कूटनीतिक मर्यादा विपरीत हायात होटलमै चार दिन अड्डा जमाएको विषयले पनि विशेष चर्चा पाएको थियो । सोही सम्मेलनका लागि आएकी दक्षिण कोरियाली धर्मगुरु हाक जा हान मुन, जसले आफूलाई जिसस क्राइसकी छोरी भनेर स्वघोषणा गरेकी छन्, ले प्रधानमन्त्री ओलीलाई एक लाख डलर राशिको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेकी थिइन् ।

यसरी ढकालले सिंगै राज्य शक्ति प्रयोग गरेर आयोजना गरेको धर्म सम्मेलनलाई लिएर मिडियामा निकै आलोचना भयो । सम्मेलनमा अतिथिहरूलाई पिलाइएको ‘होली वाइन’ ले बबन्डर नै मच्चियो । कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीदेखि देशभरका स्थानीय तहका जनप्रतिनिधिलाई जोडीसहित निम्त्याइएको थियो । सहभागी जोडीहरूलाई ‘माता मुन’ को हातबाट ‘ब्लेसिङ’ दिइनुका साथै एक-अर्कालाई कथित होली वाइन (पवित्र रक्सी) पिलाइएको थियो । केही अन्तर्राष्ट्रिय पोर्टलले यस्तो ‘होली वाइन’मा युनिफिकेसन चर्चका संस्थापक सन म्योङ मुनको ‘वीर्य’ मिसाइएको हुने उल्लेख गरेका छन् । मुनको भने केही वर्षअघि निधन भइसकेको छ ।

पहिल्यै विवादित बनेकाले प्रधानमन्त्री ओली होली वाइन सेरेमोनीमा सहभागी भएनन् । साथै अधिकांश उच्चपदस्थहरूले उक्त समारोह बहिष्कार गरेपछि एकनाथ केही खिन्न भएका थिए । तर, सम्मेलनपछि कोरियामा पुगेर भाषण गर्दै उनले सिंगो नेपालले हाक जा हान मुनलाई जिससकी छोरीका रूपमा स्वीकार गरेको दाबी गरे ।

को हुन् एकनाथ ढकाल ?

गोर्खाको बुर्लाङमा मध्यम वर्गीय परिवारमा जन्मेका एकनाथ अहिले विश्वका थुप्रै देशमा सञ्जाल भएको युनिफिकेसन चर्चका अगुवामध्ये पर्छन् । नेपालमा यस संस्थालाई स्थापित गराउने प्रमुख पात्र एकनाथ हुन् । अहिले उनी चर्चको हेडक्वार्टरकै शक्तिशाली व्यक्तिमा गनिन्छन् ।

नेपालका थुप्रै चर्चित र शक्तिशाली नेतासँग एकनाथको निकट सम्बन्ध छ । उनी पूर्वप्रधानमन्त्री माधव नेपालका विश्वासपात्र हुन् । एमाले अध्यक्ष केपी ओलीसँग हिमचिम बढाउन उनलाई गुड गभर्नेन्स अवार्ड दिलाए । ओलीभन्दा अगाडि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुरेशराज शर्मालाई पनि ढकालले गुड गभर्नेन्स अवार्ड दिलाएका थिए । नेपालका सयौं नेताहरूलाई ढकालले आफ्नो संस्थाको ‘पिस एम्बेसडर’ बनाएर प्रभावमा राखेका छन् । थुप्रैलाई विदेश सयर गराएका छन् ।

२०६४ सालमा भएको पहिलो संविधानसभा चुनावअघि नेपाल परिवार दलको नाममा पार्टी खोलेर एकनाथ राजनीतिमा प्रवेश गरे । उक्त चुनावमा पैसाको खोलो बगाउँदै उनी समानुपातिकमा एक सीट जित्न सफल भए । अनि आफैं सभासद बने । सभासदमात्र होइन, उनी मन्त्रीसमेत बने । त्यसपछि त ढकालको तुजुक खपिसक्नै भएन । उनले युनिफिकेसन चर्चभित्र आफू भविष्यमा नेपालको प्रधानमन्त्री नै बन्ने चर्चा चलाए । ढकाल नेपालका प्रधानमन्त्री बनून् भन्ने कामनालाई उक्त चर्चका सदस्यहरू अहिले पनि आफ्नो नियमित प्रार्थनामा समावेश गर्ने गर्छन् ।

दोस्रो संविधानसभामा एकनाथको परिवार दलले दोब्बर सफलता पायो । समानुपातिकमा दुई सीट जितेपछि ढकालले आफूसहित मिलन राजवंशीलाई सभासद बनाए । अनि, २०७२ सालमा दोस्रो पटक मन्त्री पड्काए जतिवेला केपी ओली प्रधानमन्त्री थिए । ओलीले ढकाललाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी सुम्पेका थिए । तर, त्यो सरकार ९ महिनामात्रै टिक्यो ।

त्यसयता पनि ढकाललाई एमालेले निरन्तर राजनीतिक टेवा दिइरहेको छ । अघिल्लो वर्ष पनि एमालेको समानुपातिक बन्दसूचीमा उनको नाम समावेश थियो । तर, पाँचौं नम्बरमा नाम भएकाले उनी सांसद बन्ने अवसरबाट चुके । लैंगिक सन्तुलन मिलाउन समानुपातिकमा धेरैभन्दा धेरै महिला पठाउनुपर्ने भएकाले एकनाथको पालो आएन । यसपालि भने समानुपातिक सांसद बन्ने सुनिश्चिततासहित एमालेले उनलाई सूचीमा राखेको छ ।

हालै सम्पन्न स्थानीय चुनावमा एमालेले नेपाल परिवार दलसँग तालमेल गरेको थियो । तर, परिवार दलले कतै पनि चुनाव जित्न सकेन । अबको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि कुनै सीट जित्न सक्ने सम्भावना नदेखेपछि ढकाल एमालेको शरणमा परेका हुन् । के परिबन्दले हो, एमाले पनि उनलाई संरक्षण दिन तयार भएको छ । यसमा ‘शुभ-लाभ’ को खेल हुन सक्ने आशंका एमालेकै कार्यकर्ताहरू गर्छन् । पैसाको बलमा शक्तिशाली व्यक्तिहरूलाई हातमा लिएर आफ्नो स्वार्थसिद्ध गर्न ढकाल पहिल्यैदेखि माहिर छन् ।


प्रतिक्रिया

One thought on “एमालेको काँधमा एकनाथ ! समानुपातिक सांसद बन्ने लगभग निश्चित, पार्टीभित्र असन्तुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर