सेयर लगानीकर्ताले गुमाए १७ खर्ब, बजारले कहिलेसम्म लिन्छ लगानीकर्ताको धैर्यताको परीक्षा ? – Nepal Press

सेयर लगानीकर्ताले गुमाए १७ खर्ब, बजारले कहिलेसम्म लिन्छ लगानीकर्ताको धैर्यताको परीक्षा ?

विज्ञ भन्छन्- अब नयाँ सरकार र अर्थमन्त्रीको मात्र आस बाँकी भयो

काठमाडौं । नेपालको पुँजी बजारको ओरालो यात्रा विगत डेढ वर्षदेखि निरन्तर छ । कहिले सरकार त कहिले अर्थमन्त्री र कहिले देशको अर्थतन्त्रलाई देखाउँदै साइडलाइनमा गएको बजार अझै बाउन्स ब्याक हुन सकेको छैन । अधिकांश विज्ञहरूले पुँजीबजार प्रतिनिधिसभाको चुनाव पश्चात् बढ्ने आंकलन गरेका थिए । तर आक्कलझुक्कल हरियाली देखिए पनि लामो समयदेखि सेयर बजारमा गिरावट छ ।

अर्थतन्त्रको ऐना मानिएको पुँजीबजार विगत करिब डेढ वर्षदेखि उकालो चढ्न नसक्दा लगानीकर्ता हतोत्साहित देखिएका छन् । बजारले लामो समयदेखि लगानीकर्ताको धैर्यताको परीक्षा लिइरहेको छ ।

२०७८ भदौ ३ गते नेपालको इतिहासमै सेयर बजारले उच्चतम विन्दु छोएसँगै लगानीकर्ताको मनोबललाई समेत उचाइमा पुर्‍याएको थियो । ३२ सय बिन्दुसम्म पुगेको बजार बन्द हुने बेला ३१ सय ९९ विन्दुमा आएको थियो । तर त्यस यता बजार बिस्तारै घट्ने क्रम सुरु भएको तथ्यांक नेपाल स्टक एक्सचेन्जसँग छ । यो बिचमा १८ सय सम्मको विन्दुमा बजार पुग्यो ।

बजार अहिले १९ सय विन्दु वरिपरि नै रुमल्लिएको छ । यस बिचमा झण्डै १४ सय अंकको गिरावट आइसकेको छ । बजार उच्चतम विन्दुमा हुँदा बजार पुँजीकरण साढे ४४ खर्ब पुगेको थियो । यो साताको अन्तिम कारोबार दिन मंसिर २२ (२०७९) गतेसम्म बजार पुँजीकरण २७ खर्ब ६१ अर्ब रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस आधारमा बजारको उच्चतम पुँजीकरण देखि हालसम्म लगानीकर्ताले १७ खर्ब रुपैयाँ भन्दा बढी गुमाइसकेका छन् ।

नयाँ सरकारको आस

बजार फर्कने एउटा मात्र आस चुनाव थियो तर चुनाव पछि पनि बजार सोचे जसरी फर्किएन । पुँजी बजारका विज्ञ डा. केशव श्रेष्ठ बजार बढ्ने कुनै पनि आधार फेला नपर्दा सेयर बजारमा अन्यौलता देखिएको बताउँछन् ।

श्रेष्ठ भन्छन्, ‘चुनाव पछि बजारमा पैसा आउने आंकलन थियो । अपेक्षित पैसा आएन भने बैंकको ब्याजदर पनि सर्पोटिभ भएन । अब एउटै आस नयाँ सरकार र अर्थमन्त्रीको मात्र छ ।’ यद्यपि, गठबन्धनको सरकारमा अर्थमन्त्री जनार्दन शर्मा नै दोहोरिए भने सेयर बजार सुध्रने आस गर्न नसकिने उनको तर्क छ । निर्वाचनको अन्तिम परिणाम आएको एक महिनाभित्र सरकार गठन गरिसक्नुपर्ने प्रावधान छ । यस आधारमा पनि समानुपातिकको टुङगो नलागिसकेकाले अझै सरकार गठनमा १ महिना लाग्न सक्ने देखिन्छ ।

गठबन्धन कै सरकार बन्ने चर्चा चले पनि सत्ता समीकरण बदलिने सम्भावना नकार्न सक्ने अवस्था पनि छैन । यस आधारमा पनि आगामी बन्ने सरकार र सरकारले लिने नीतिले बजार कता जान्छ भन्ने प्रारम्भिक आंकलन आउँला । अर्थतन्त्रका सूचकहरू निकै कमजोर रहेको यस समयमा लगानीकर्ताको मनोविज्ञानसमेत कमजोर अवस्थामा देखिएको छ ।

मूल्य नबढे पनि लाभांशमा चित्त बुझाउनुपर्छ

बजार तत्काल नबढे पनि लगानीकर्ताहरू आत्तिनुपर्ने अवस्था नभएको डा. श्रेष्ठको भनाइ छ । अहिले नेप्सेमा सूचीकृत भएका कम्पनीहरूले धमाधम लाभांश समेत घोषणा गरिरहेका छन् ।

सेयरको मूल्य नबढे पनि त्यसबाट प्राप्त लाभांशमा सन्तुष्ट मान्नुपर्ने डा. श्रेष्ठको भनाइ छ । अहिले कम्पनीहरूले लाभांश दिइरहेकाले सोही लाभांशमा चित बुझाउनुपर्ने अवस्था देखिन्छ ।

अर्थतन्त्रको बाह्य क्षेत्रको दबाब घटाउन लिइएको आयात प्रतिबन्धको नीति अब हटिसकेको छ । केही विज्ञहरू अब फेरी अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब पर्ने बताउँदै आएका छन् । राजनीति, सामाजिक, आर्थिक र लगानीकर्ताको मनोविज्ञानको सिधा असर सेयर बजारमा पर्दै आउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर