नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बच्ने सम्भावना कति ? – Nepal Press

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बच्ने सम्भावना कति ?

काठमाडौं । नेपालले २०१८ को मार्चमा चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउँदा नै आशंका गरिएको विषय थियो- नेपालले यसलाई निरन्तरता दिन सक्ला की नसक्ला ? अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको दुई दशकभन्दा बढी समयपछि प्राप्त यो सफलताको महत्व सामान्य थिएन ।

एसोसिएट टोलीका रुपमा माथिल्लोस्तरको क्रिकेटमा निरन्तर सहभागी हुन पाउनु र त्यसबापत सुविधाहरु पनि प्राप्त हुनुले नेपाली क्रिकेटलाई अझ माथि पुर्‍याउन सक्ने र भविष्यमा एकदिवसीय विश्वकप खेल्ने अवस्था सृजना गर्न सक्ने अपेक्षा स्वभाविक थियो ।

एसोसिएट टोलीलाई एकदिवसीय विश्वकपमा सहभागी गराउन र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता उपलब्ध गराउन सन् २०१९ मा आईसिसीले आईसिसी विश्वकप लिग-२ ल्याएपछि नेपाल निरन्तर माथिल्लोस्तरको क्रिकेटमा संलग्न रहने अवस्था बन्यो ।

आईसिसीका शीर्ष ७ एसोसिएट टोली यो प्रतियोगितामा थिए र एउटा टोलीले ३६ खेल खेल्नुपर्ने प्रतियोगिताको संरचना थियो । त्यसअनुसार हरेक टोलीले ९ वटा त्रिकोणात्मक शृंखला र एउटा शृंखलामा दुई टोलीसँग दुई दुई खेल खेल्नुपर्ने थियो। ३६ खेलको समाप्तीमा शीर्ष ५ टोलीको एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता कायम रहने र शीर्ष तीन टोली एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्ने व्यवस्था थियो ।

तालिकाको अन्तिम चार टोली विश्वस्तरको छनोटका लागि प्ले अफ खेल्नुपर्ने भनियो जहाँ च्यालेन्ज कपबाट आउने दुई टोलीसहित ६ टोलीबाट २ टोली विश्वस्तरको छनोटमा पुग्ने नियम थियो ।

नेपालले अहिले विश्वकप लिग-२ अन्तर्गत ६ वटा त्रिकोणात्मक शृंखला खेलिसकेको छ । जसमा २४ खेल खेलेको नेपाल १८ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ । नेपालले अब तीनवटा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला जसअन्तर्गत १२ खेल खेल्न बाँकी छ। तालिकामा २६ खेलबाट २७ अंक भएको यूएई पाचौँ स्थानमा छ भने सबै खेल खेलेर ३५ अंक भएको अमेरिका चौथोमा छ ।

नेपालले अब पपुआ न्युगिनी र यूएई सम्मिलित दुईवटा तथा नामिबिया र स्कटल्यान्डसम्मिलित एउटा त्रिकोणात्मक शृंखला खेल्ने छ । २८ खेल खेलेको पपुआ न्युगिनी ५ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

नेपालले हालसालै मात्र यूएईसँगको तीन खेलको शृंखला जितेको थियो । एकदिवसीय मान्यता जोगाउन अब नेपाल तालिकामा यूएईभन्दा अगाडि आउनुपर्ने छ । विश्वकपको विश्वस्तरको छनोट खेल्ने सम्भावनाबारे अहिले नै भन्न सकिने अवस्था छैन ।

लिग-२ को शीर्ष ३ भित्र नपरेपनि प्ले अफबाट विश्वकप छनोट खेल्ने सम्भावना कायमै रहने छ यद्यपी ६ टोलीबाट २ टोली मात्र जाने भएकाले त्यहाँ गाह्रो हुने छ । विश्वकपको विश्वस्तरको छनोटमा लिग–२ बाट जाने ३ टोली, प्ले अफबाट जाने दुई टोली र पूर्ण सदस्यमध्ये वरियताका ८ देखि १२ औँ स्थानसम्मका टोली रहनेछन् ।

ब्याटिङ कोल्याप्स भएपछि जितविहीन

नेपालले बिहीबार प्रतियोगिताअन्तर्गत नामिबियामा छैटौँ त्रिकोणात्मक शृंखला खेलेको छ। शृंखलामा खेलेका चार खेलमा नेपालले एक खेल पनि जित्न सकेन ।

नामिबियासँगको पहिलो खेल वर्षाका कारण रद्ध भएर अंक बाँड्याे भने त्यसपछि निरन्तर तीन खेलमा हार व्यहोर्यो। स्कटल्यान्डसँग ३ विकेट र ८ विकेटले पराजित भयो भने नामिबियासँगको अर्को खेलमा ८६ रनले पराजित भयो । यी तीनवटै खेलमा नेपालले निकै कमजोर ब्याटिङ गरेको थियो ।

यसअघि स्कटल्यान्डमा गत जुलाईमा यीनै तीन टोली सहभागी रहेको शृंखलामा नेपालले एक जित र तीन हार ब्यहोरेको थियो । गत जुनमा अमेरिकामा सम्पन्न ओमान र नेपालसहितको शृंखलामा नेपालले चार खेलमध्ये दुईवटामा हार र एउटामा जित हात पारेको थियो । एउटा खेल रद्ध भएपछि अंक बाँढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *