गुन्द्रीमा बसेर वडा चलाउने झापाली अध्यक्षका ‘ग्रीन’ कार्यक्रमहरू – Nepal Press

गुन्द्रीमा बसेर वडा चलाउने झापाली अध्यक्षका ‘ग्रीन’ कार्यक्रमहरू

इटहरी । भारतसँग सीमा जोडिएको झापाको मेचीनगर नगरपालिका- ४ का वडा अध्यक्षको कार्यकक्षको एक कुनामा एउटा बोर्ड ठडिएको छ । विश्व वातावरण दिवस २०७९ को उक्त बोर्डको शीर्ष भागमा लेखिएको छ, ‘वातावरण सुरक्षा- मानव जातिको श्रेष्ठ कर्तव्य’ । वडा कार्यालय छिर्नासाथ पालिकाका रैथाने ठूलो बगरबट्टाई नामक चराका तस्बिरदेखी स्थानीय सांस्कृतिक स्केचहरुसम्म भित्ताभरि देखिन्छ ।

यो वातावरण दिवसको नारामात्रै हैन । मेचीनगर नगरपालिका- ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको कार्यशैली नै हो । उनी वातावरणको मुद्दामा संवेदनशील छन् । बाहुनडाँगीमा हात्ती मास्ने अभियान चल्दा उनी हात्ती जोगाउने लाइनमा लागे । २०६५ सालदेखि उनले विभिन्न संस्थाहरुमा रहेर हात्ती मराउने हैन चराउने कार्यक्रम ल्याए । त्यो मुद्दा हात्ती पीडित स्थानीयले खासै मन पराएनन् । वातावरण क्षेत्रमा काम गर्नेहरुले भने ज्यादै मन पराए ।

त्यही लिगेसीकै कारण अहिले अध्यक्ष कार्की इसिमोडदेखि विभिन्न वातावरण संघसंस्थासम्मका कार्यक्रमहरुमा निम्तो पाइरहने नेपालका थोरै वडा अध्यक्षमा एक हुन् । प्रकृति संरक्षण समाजदेखि ग्रीन जेनेरेसन जस्ता संस्था तथा अभियानहरुसम्ममा जोडिएका कार्की अबको पुस्ता ग्रीन पुस्ता हुनुपर्ने तर्क गछ्र्रन् । भन्छन्, ‘वातावरण र मानवलाई जीत-जीत हुने कार्यक्रम ल्याउँदा सबैलाई फाइदा छ ।’

वातावरण मुद्दामा संवेदनशील अध्यक्ष कार्कीको वडा अरुभन्दा पृथक छ । वडा अध्यक्ष कार्यकक्षमा उनी कुर्सीमा बस्दैनन् । स्थानीयले बनाएको गुन्द्रीमा बस्छन् । उनको नाम लेखिएको नेम प्लेटदेखि सजावटका सामग्रीसम्म बाँसका छन् । आगन्तुक र सेवाग्राहीहरु आउँदा बस्न मुढा र पिराहरु छन् ।

बाहुनडाँगीमा आफ्नो कार्यकालभरि एक लाख विरुवा रोप्ने उनको लक्ष्य छ । ‘आधा लाख आकर्षक फूल र आधा लाख यहाँका रैथाने प्रजातिका मासिएका विरुवा लगाउने योजना छ’, कार्की भन्छन्, ‘दश प्रतिशत जति सफलता पाइएको छ ।’

अध्यक्षको अगुवाइकै वृक्षारोपणले नेपाल भारत सीमा क्षेत्रलाई फूलले भरिभराउ बनाउने उनको योजना छ । सन् २०१५ मा विश्व बैंकले सहयोग गरेर बनाइएको विद्युतीय तारदेखि नेपाल सरकारको जनता तटबन्ध कार्यक्रमका अतिरिक्त सीमा क्षेत्रसम्मलाई आकर्षक बनाउन थप स्थानीय योजना छन् अध्यक्ष कार्कीका । त्यसमा फूल रोप्ने र आकर्षक पिकनिक क्षेत्र बनाउने उनको योजना छ ।

‘जनता तटबन्धले हात्ती उक्लिन सक्दैन । विद्युतीय बारले पनि केही छेक्छ’, उनी भन्छन्, ‘यत्ति हुँदा सीमा क्षेत्रमा आएर हात्ती चरेको हेर्न सकिन्छ । हामीले नेपालको सीमा क्षेत्रका दुई सय बिगाहा क्षेत्रमा विशाल पोखरी बनाएर अतिरिक्त सुन्दरता र आम्दानीका योजनासमेत बनाइरहेका छौं ।’

अहिले उनी तीन क्विन्टल तोरीको बीउ बाँड्दैछन् । तोरीको बीउ बाँड्नुमा उनका तीन तर्क छन् । एक, यो नेपालीहरुलाई बच्चादेखि नै पैतालादेखि तालुसम्म लगाइने सांस्कृतिक पदार्थ हो । दुई, तोरीलाई चरा देखि हात्ती कसैले नास गर्दैनन् । तीन, त्यत्ति तोरीको बीउले वडा तोरीमा आत्मनिर्भर हुन्छ । आयातित तेल किन्नुपर्दैन ।

तेह्रथुमबाट साढे चार सय झँगरुका लौरो ल्याएर पाकाहरुलाई बाँडेका उनले बच्चाहरुलाई चरा मार्न निरुत्साहित गर्ने अर्को आकर्षक योजना ल्याएका छन् । चरा मार्न प्रयोग भएको एक ग्याटिस ल्याउँदा उनी दश थान कापी दिन्छन् । ग्याटिससँग कापी साट्ने कार्यक्रममा थुप्रै बालबालिका सहभागी छन् ।

कार्यक्रमको पृष्ठभूमि भन्दै अध्यक्ष कार्की भन्छन्, ‘लकडाउनमा बालबालिका चरा मार्न सक्रिय भएको पाइयो । त्यही वेलाबाट चरा जोगाउन र मार्न निरुत्साहित गर्न मैले यो योजना ल्याएको हुँ । सफल भएको छ ।’

बाहुनडाँगी र सीमावर्ती भारतीय क्षेत्रका गाउँहरुमा पुग्न पुल नभएको भन्दै कार्कीले पुल बनाउन नेपाल र भारतबीच कूटनीतिक तहको छलफल भएको बताउँछन् । ‘दैनिक हजार बढी मान्छे नेपालमा मजदुरी गर्न आउने र नेपालबाट हाट भर्ने मेची तरेर जान्छन् । जहाँ भेलबाढीमा समस्या हुन्छ’, कार्की भन्छन्, ‘यो समस्या समाधान गर्न नेपाल भारत इको ब्रिज बनाउन आवश्यक छ । वातावरणमैत्री झोलुङ्गे पुल यहाँदेखि भारतको ताराबारीसम्म बनाउनु सुन्दर विकल्प हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर