सन्तोषजनक नतिजा नआएपछि माओवादीका युवा नेताहरु छलफलमा – Nepal Press

सन्तोषजनक नतिजा नआएपछि माओवादीका युवा नेताहरु छलफलमा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले सन्तोषजनक नतिजा ल्याउन नसकेपछि नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् ।

पार्टी निरन्तर ओरालो यात्रामा लागेपछि माओवादीका युवा नेताहरुले पार्टीको आगामी यात्राबारे छलफल थालेका हुन् ।

आरआर क्याम्पसमा भएको नेताहरुको छलफलमा पार्टीको संगठन निर्माणको विषयमा छलफल भएको नेता रामप्रसाद सापकोटा दीपशिखाले बताए । उनले कुनै कमिटी र गुटगत नभई पार्टी र नेतृत्वलाई सुझाव संकलन गरेको बताए ।

छलफलमा नेता सापकोटासहित युवा नेताहरु लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामदीप आचार्यलगायत सहभागी थिए । गठबन्धनबाट ६४ सीटमा उम्मेदवारी दिएको माओवादीले १८ सीटमात्रै जितेको छ ।

निर्वाचनमा कमजोर नतिजा ल्याए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै सरकारको दाबी गरिरहेका छन् ।

तर, युवा नेताहरुले पार्टी नेतृत्वलाई सरकारमा नगई पाँच वर्ष सरकार बाहिर बसेर संगठन निर्माणमा लाग्न दबाब दिइरहेका छन् । सके आफ्नै नेतृत्वको सरकार गठन गर्ने नसके सत्ता बाहिर बस्नुपर्ने उनीहरुको सुझाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर