पहिचानवादीका दु:ख : सडकमा चर्का नारा, चुनावमा लज्जास्पद हार – Nepal Press
प्रदेश १

पहिचानवादीका दु:ख : सडकमा चर्का नारा, चुनावमा लज्जास्पद हार

विराटनगर । जातीय पहिचानका एजेण्डा उठाएर राजनीति गर्ने यो चुनावबाट अझ कमजोर देखिएका छन् ।

एकल जातीय पहिचानको विषयमा वकालत गरिरहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेश्नल अर्गनाइजेशन र राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार उठाएपनि कसैले पनि जित हात पार्न सकेनन् । ती सबै दल जमानत जोगाउन पनि असफल भए । समानुपातिकमा पनि यी दल सशक्त देखिएनन् ।

प्रदेश १ को नाम लिम्बूवान हुनुपर्ने मागसहित यसअघि सडक र सदनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चर्को विरोध गरेको थियो । संसदको कार्यकाल सकिन लाग्दा संसद भवन घेराउमा हजारौं कार्यकर्ता उतारेको मञ्चले निर्वाचनमा उम्मेदवार जित्नेगरीको मत पाएन । मञ्चले प्रदेश १ का सबै प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा उम्मेदवार खडा गरेको थियो ।

२०७४ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ मा थ्रेसहोल्ड कटाएर एक सीट पाएको थियो । समानुपातिकतर्फका सांसद विष्णु तुम्बाहाम्फे हाल प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री छन् ।

यस पटकको निर्वाचनमा भने मञ्चले प्रदेशको थ्रेस होल्ड कटाउन सकेन । उसले समानुपातिकमा प्रतिनिधिसभातर्फ १७ हजार ८०५ र प्रदेशसभामा २६ हजार ५३१ मत पाएको छ ।

अरुणपूर्वका नौ जिल्ला लिम्बूवान हुनुपर्ने भन्दै मञ्चले आन्दोलन गर्दै आएको छ ।

जातीय पहिचानकै एजेण्डा बोकेको मंगोल नेश्नल अर्गनाइजेशनले पनि यस पटकको निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याएन । मंगोल नेश्नलले प्रतिनिधिसभातर्फ समानुपातिकमा ४९ हजार मत पाएको छ । प्रदेश १ मा बढी क्रियाशिल यो पार्टीले प्रदेशसभामा २५ हजार ३८७ मत ल्याएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीले भने प्रतिनीधिसभातर्फ समानुपातिकमा २३ हजार ९३४ र प्रदेश १ मा ५ हजार ९७३ मत ल्याएको छ ।

घट्दै लिम्बूवानको महत्व

लिम्बूवान आन्दोलन चलिरहँदा मञ्चले पाँचथरलाई राजधानी घोषणा गर्‍यो । पाँचथरमै चुनाव लडेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर याङ्हाङ्गले १ हजार ११ मत पाए ।

प्रदेशतर्फ भने पाँचथर प्रदेशसभा (१) मा उम्मेदवार बनेका सागर केरुङ्गले १६५६ मत पाए । प्रदेशसभा २ का दीपेन्द्र चेम्जोङ्गले भने ११२६ मत पाए ।

आधारभूमि दाबी गरिरहेको ताप्लेजुङमा पनि मञ्चको लज्जास्पद भोट आएको छ । प्रतिनिधिसभा उम्मेदवार होमप्रसाद तुम्बाहाम्फेले यहाँ ९४१ मतमात्रै पाएका छन् । ताप्लेजुङबाट स्वतन्त्र उम्मेदवार बनेका लिम्बूवानका नेता सञ्जुहाङ्ग पालुङ्वाले त मात्र १९२ मत पाएका छन् ।

 

प्रदेशसभा १ तर्फ मञ्चका उम्मेदवार भूपेन्द्र मावे लिम्बूले १२५६ मत ल्याए । ताप्लेजुङ प्रदेशसभा (२) मा मञ्चका उम्मेदवार मुक्साम लावुङ्ग लिम्बूले ५७० भोट ल्याए ।

भोट नआउनुमा निर्वाचन प्रचारप्रसार र परिचालनमा कमजोरी स्वीकार्छन् मञ्चका महासचिव अशोक चेम्जोङ्ग ।

‘मञ्चका महासचिव अशोक चेम्जोङ्गले भने, ‘एजेण्डा सही हुँदाहुँदै पनि माहोल क्रिएट गर्न सकेनौं । अब पार्टी नयाँ सिराबाट अगाडि बढ्छ आन्तरिक छलफलमा लागेका छौं ।’

७४ को निर्वाचनपछि राज्यमन्त्री यसपालि शून्य

अरूणपूर्वका भूमिलाई ‘लिम्बूवान राज्य’ को माग गर्दै सुरू भएको आन्दोलन अढाई सय वर्षदेखिको हो । विक्रम सम्वत् १८३१ साउन २२ मा तत्कालीन लिम्बूवान र गोर्खाबीच लालमोहर (सन्धि) भएपछि लिम्बूवान गोर्खा राज्य मातहतमा गएको मानिन्छ ।

लिम्बूवान राज्यको उठानसहित अहिले पनि आन्दोलन जारी छ । यो आन्दोलन कहिले उचाइमा पुग्छ त कहिले सुसुप्त बन्छ । सडकमा चर्को आन्दोलन भएपनि मत परिणाम भने लिम्बूवानको दिनदिनै घट्दै गएको देखिन्छ ।

पहिलो संविधानसभाको निर्वाचनपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई दुईजना सभासद संविधानसभामा पठाउने गरी जनमत प्राप्त भयो । त्यसबेला ७१ हजार ९५८ मत समानुपातिकतर्फ आएको थियो भने प्रत्यक्षमा ३६ हजार ६० मत आएको थियो ।

पहिलो संविधानसभामा मञ्चले लिम्बूवानसँगै थारुहट सम्मको मुद्दा बोक्ने दलहरूसँग गठबन्धन गरेको थियो । गठबन्धनबाट राजकुमार नाब्लो र रुक्मणी थरुनी सभासभ भए ।
दोस्रो संविधानसभा निर्वाचन २०७० मा भने लिम्बूवानको तर्फबाट एकजना पनि सभासद भएनन् ।

तीन लिम्बूवान पक्षधर राजनीतिक शक्तिहरू संघीय लिम्बुवान राज्य परिषद्, लिम्बूवान मुक्ति मोर्चा र लिम्बूवान मुक्ति मोर्चा नेपाललाई चार हजार २०२ मत प्राप्त प्राप्त भयो समानुपातिकतर्फ भने १३ हजार ६५५ मत आयो ।

पहिलो संविधानसभा निर्वाचनमा सहभागी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दोस्रो संविधानसभामा सहभागी भएन ।

सो पार्टीले २०७४ सालमा भएको तीनवटै तहको निर्वाचनमा भने सहभागिता जनायो । समानुपातिकमा प्रतिनिधिसभामा मञ्चले १७ हजार १७ मतमात्रै पायो ।

प्रदेशसभामा २२ हजार ४९३ मत प्राप्त गरेको देखिन्छ । जबकि पहिलो संविधानसभा निर्वाचनमा ३६ हजार ६० मत थियो । यो बीचमा जनमत झण्डै आधा घटेको भोटले देखाएको छ । ७४ को स्थानीय तहको निर्वाचनमा भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले इलामको चुलाचुली गाँउपालिका वडा नम्बर-१ मा अध्यक्ष जितेको थियो ।

ताप्लेजुङको सिरिजंगा गाउँपालिका-४ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकै आइतराज लिम्बू वडा सदस्यमा विजयी भएका थिए । सोही गाउँपालिका-६ नम्बरमा दुर्गाप्रसाद लिम्बू वडा सदस्य विजयी भएका थिए ।

पाँचथरमा समेत लिम्बूवानका उम्मेदवारको विजयी शून्यमै सीमित छ । कुम्याक गाउँपालिका-१ मा लिम्बुवानका नेता देवेन्द्र लावती वडाअध्यक्ष विजयी भए । यद्यपि उनी स्वतन्त्र रूपमा चुनाव लडेका थिए ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा भने संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चले २ वटा वडाअध्यक्ष सहित ७ जना वडा सदस्य जितेको छ ।

इलामको चुलाचुली गाँउपालिका-१ मा वडाअध्यक्ष पूर्ण लावतीसहित मञ्चले प्यानलै जितेको छ ।

सिदीङ्वा गाँउपालिका वडा नम्बर ४ मा पूर्णकुमार लिम्बू विजयी भएका छन् । सो गाँउपालिकाको २ मा पूर्णबहादुर लिम्बूले वडा सदस्य जितेका छन् । पाँचथरको याङवरक ५ मा सुकरानी नेम्वाङ् र झापाको कन्काई नगरपालिका वडा नम्बर ७ निर्मला आङथुपो लिम्बू महिला सदस्यमा निर्वाचित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर