इरानको एन्टीहिजाब प्रदर्शनले तरंगित विश्व समुदाय, यस्तो छ घटनाको नालीबेली – Nepal Press

इरानको एन्टीहिजाब प्रदर्शनले तरंगित विश्व समुदाय, यस्तो छ घटनाको नालीबेली

काठमाडौं । इरानमा जारी एन्टीहिजाब प्रदर्शनका कारण ज्यान गुमाउनेको संख्या २०० भन्दा बढी पुगेको छ । महिला पोशाकसँग जोडिएको र मानव अधिकारमाथि नै गम्भीर प्रश्न खडा गरिरहेको यो प्रदर्शनले हाल विश्व समुदाय नै तंरगित भएको छ ।

विश्व समुदायकै ध्यानाकर्षण गराईरहेको यस एन्टीहिजाब प्रदर्शनको सुरुवाती कडी गत सेप्टेम्बर १३ मा घटेको एक घटनामा आधारित छ । अन्तर्राष्टिय संचार माध्यमहरुका अनुसार सेप्टेम्बर १३ मा मासा अमिनी नाम गरेकी एक २२ वर्षीय युवती आफ्नो परिवारसहित इरानको कुर्दिस्तानबाट राजधानी तेहेरान तर्फको यात्रा गरिरहेकी हुन्छिन् ।

यात्राको क्रममा उनको सवारी साधनलाई इरानको ‘मोरालिटी पुलिस’ ले रोक्छ । इरानको यो मोरालिटी पुलिस एउटा यस्तो संयन्त्र हो जसले महिलाहरुले लगाएको पोशाकलाई नियमन गर्ने कार्य गर्छ ।

इरानको कानूनमा महिलाहरुले के कस्ता पोशाक लगाउन पाउने ? कसरी लगाउने लगायतका कुराहरु उल्लेख गरिएको छ जसमा सार्वजनिक स्थानहरुमा जाँदा हरेक महिलाहरुले हिजाब अनिवार्य लगाउन पर्ने नियम पनि समावेश छ । महिलाहरुले कानूनअनुसारको ड्रेसकोड ‘फलो’ गरेका छन् वा छैनन् भन्ने कुरालाई नियमन गर्नु नै मोरालिटी पुलिसको मुख्य जिम्मेवारी हो ।

सोही मोरालिटी पुलिसद्वारा मासा अमिनीको सवारी साधन रोकिँदा उनले सही ढंगबाट हिजाब नलगाएको बताइएको छ । इरान वाइरमा प्रकाशित एक लेखका अनुसार सही ढंगबाट हिजाब नलगाएको भन्दै मासालाई जबरजस्ती पक्राउ गरिएको उनको परिवारको दाबी छ ।

लेखका अनुसार मासालाई एक घण्टाको ‘क्लास’ मा सहभागी गराएर रिहा गरिदिने मोरालिटी पुलिसको दाबी थियो । उनका भाई कियाराश पनि सँग–सँगै प्रहरी कार्यालय पुग्छन्, इरानका संचार माध्यमहरुका अनुसार कियाराश मासा अमिनीको प्रतिक्षामा प्रहरी कार्यलयमा रहँदा उनले प्रहरी हिरासत भित्रबाट मासाको पिडादायी आवाज पटक पटक सुनेका थिए ।

यिनै घटनाक्रमको बीचमा प्रहरीले अमिनीलाई एम्बुलेन्समा हालेर काश्रा नामक अस्पातल पुर्याउँछ । प्रहरीका अनुसार अमिनीलाई हृदयघात भएको कारण अस्पातल पुर्याइएको थियो । पक्राउ परेको चौथो दिन अमिनीको निधन हुन्छ । परिवारका सदस्यहरुले अमिनीको निधन प्रहरी ज्यादतीको कारणले गर्दा भएको दाबी गरिरहेका छन् ।

परिवारको दाबीलाई नकार्दै इरान सरकारले अमिनीको मृत्‍यु मारपिटको कारणले नभई उनको अरु कुनै स्वास्थ्य समस्याले गर्दा भएको घोषणा गर्छ । यो घटनासँगै इरान सरकारको पक्ष र विपक्षमा बहस सुरु हुन थाल्छ सँगै सरकार विरोधी प्रदर्शन पनि सुरु हुन्छ । सुरुवाती चरणमा रहेको प्रदर्शनले व्यापकता तब पाउँछ जब ‘इथिकल ह्याकर’ हरुको एउटा समूहले अमिनीको मेडिकल रिपोर्ट सार्वजनिक गरिदिन्छ ।

ह्याकरद्वारा सार्वजनिक गरिएको उक्त रिपोर्टमा मासाको टाउकोमा गम्भीर चोट लागेको खुलासा हुन्छ । इरान वाइरले उक्त रिपोर्ट सार्वजनिक गरेपछि अस्पातल स्रोतले इरान वाइरलाई अस्पताल ल्याउन अघि आमिनीको टाउकोमा धेरै पटक प्रहार गरिएको खुलासा गरिदिन्छन् । अस्पताल स्रोत्तले वाइरलाई दिएको बयानलाई समर्थन हुने गरी एक चिकित्सकले अमिनीको उपचारको क्रमको तस्बिर सार्वजनिक गर्दै सम्बन्धित निकायलाई सत्यताको साथ दिन अपिल समेत गर्छन् ।

घटनाका यी अनेकन प्लटहरु उजागर भएसँगै इरानमा प्रदर्शनले थप व्यापकता प्राप्त गर्छ भने इरान सरकारले प्रदर्शनलाई दबाउनका निमित्त ज्यादतीको बाटो अपनाउँदै जान्छ । मासा अमिनीको हत्याको कारण प्रदर्शन सुरु भएको यथार्थलाई नकार्न नसकिए तापनि ‘मोरालिटी पुलिस’ को ज्यादतीमा परेका विभिन्न अन्य महिलाहरुका लागि यो घटना ‘आउटब्रस्ट पोइन्ट’ बनेको कारण प्रदर्शन तीव्र हुँदै गएको मानव अधिकारकर्मीहरु बताँछन् ।

एन्टीहिजाब प्रदर्शन नयाँ होइन

हाल इरानमा जारी रहेको एन्टीहिजाब प्रदर्शन अन्तर्राष्टिय चासोको रुपमा विकास भएको कुरा जगजायर छ । मानव अधिकार क्षेत्रमा काम गर्दै आएको एमनेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरुले हाल इरानको हिजाबसँग सम्बन्धित नियमको विरोध गर्दै घटना निष्पक्ष अनुसन्धानको माग गरिरहेका छन् ।

यद्यपी इरानमा एन्टीहिजाब प्रदर्शन भएको यो पहिलो घटना भने होइन नत इरानमा कोही महिला प्रहरी ज्यादतीमा परेको यो पहिलो घटना हो । प्रदर्शनको क्रममा सार्वजनिक भएका विभिन्न पूराना भिडिओ क्लिपहरुले इरानमा धेरै पहिलादेखि मोरालिटी पुलिसले महिलाहरुमाथि ज्यादती गरिरहेको खुलासा हुन जान्छ ।

१९७९ को इस्लामिक विद्रोहपछि इरानमा महिलाहरुको लागि हिजाब अनिवार्य गराइएको थियो । त्यसपछि इरानमा बेला बेलामा इरानमा एन्टीहिजाब प्रदर्शन हुने गरेको छ । सन २००६ को हस्ताक्षर संकलन, २०१४ को ‘माई स्टेल्दी फ्रिडम’ नामक अनलाइन आन्दोलन, व्हाइट वेन्स्डे लगायतका आन्दोलन यसका उदाहरण हुन् ।

गत जुलाई ५ मा मात्र इरानका वर्तमान राष्ट्रपति इबराइम राइसीले हिजाब कानूनलाई थप कडा बनाएका थिए । हाल इरानमा महिलाहरुलाई हाइ हिल र स्टकिङ लगाउन पनि प्रतिबन्ध गरिएको छ । घटनाको अन्तर्राष्टियकरण र तीव्र प्रदर्शनको कारण चार दिनअघि मात्र इरानले मोरालिटी पुलिस हटाएको घोषणा गरेको छ तर हिजाबसँग सम्बन्धित विभेदकारी नियमलाई इरानले कहिले अन्त्य गर्छ र जारी प्रदर्शनले थप कुन रुप लिन्छ भन्ने प्रश्न भने अनुत्तरित छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर