किराँत समुदायले यसरी मनाए उँधौली (तस्बिरहरु/भिडिओ) – Nepal Press

किराँत समुदायले यसरी मनाए उँधौली (तस्बिरहरु/भिडिओ)

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबार पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उँधौली पर्व मनाएका छन् ।

किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउने गर्दछन् । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् ।

बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । उपत्यकामा ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ ।

किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा किराँत चाड विशेषरुपमा मनाइन्छ । किरात राई यायोख्याका केन्द्रिय अध्यक्ष जीवन हाताचो राईले आफूले लगाएको अन्नबाली पाकेपछि प्रकृतिलाई धन्यवाद प्रकट गर्दै पितृ, भूमि र प्रकृतिलाई पूजा गरी नयाँ अन्न चढाएर यो पर्व मनाइएको जानकारी दिए ।

उधौलीका अवसरमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरी एक आपसमा शुभकामना आदान प्रदान गरी मनाइएको उनले बताए ।

पूजापछि आआफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्यरुपमा मनाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *