शीर्ष नेतृत्वलाई कांग्रेस नेता शाहीको प्रश्न- महागठबन्धनभन्दा एमाले किन बलियो भयो ? – Nepal Press

शीर्ष नेतृत्वलाई कांग्रेस नेता शाहीको प्रश्न- महागठबन्धनभन्दा एमाले किन बलियो भयो ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले एमालेलाई परास्त गर्ने भनेर ५ दलको महागठबन्धन गर्दा पनि एमाले नै सशक्त देखिएको भन्दै गम्भीर भएर सोच्न आह्वान गरेका छन् ।

कांग्रेसमा समानता र न्यायको अभियानको संयोजनसमेत गरिरहेका नेता शाहीले पद होइन पार्टीको चिन्ता गरौं भन्दै कांग्रेसमा १० बुँदे प्रस्ताव र प्रश्न उठाएका छन् । शाहीले समानुपातिकमा कांग्रेसको मत घट्नु र एमाले पहिलो हुनुको जिम्मेवारी पदाधिकारीले लिनु पर्ने कि नपर्ने भन्ने प्रश्न उठाएका छन् ।

कांग्रेसको कर्णाली प्रदेश सभापतिमा पराजित भएपछि औपचारिक जिम्मेवारी नपाएका शाही यसपटक टिकटबाट समेत बन्चित भएका थिए । उनले चुनावअघि शेखर गगन समूहबाट दबाब अभियान चलाएका थिए ।

शाहीले तत्काल नति महाधिवेशन र महासमितिको बैठक आयोजना हुनुपर्ने मागसमेत गरेका छन् । उनले दुई तिहाई बहुमत ल्याउने भनेको गठबन्धन बहुमत ल्याउन समेत असफल हुनुको कारण खोज्न समेत आग्रह गरेका छन् ।

यस्तो छ शाहीको १० बुँदे प्रश्न र प्रस्ताव

पद होइन पार्टीको चिन्ता गरौं

१) सर्वप्रथम निर्वाचनमा पार्टीले सोचेको जस्तो परिणाम न किआएन ? यसको तत्काल समीक्षा गरौं।

२) को व्यक्ति मन्त्री, को मुख्यमन्त्री, को प्रधानमन्त्री बन्ने भन्दा पनि पार्टीलाई कसरी शुद्धीकरण र सुदृढीकरण गर्ने बहसको थालनी गरौं ।

३) व्यक्ति बलियो बनाउने भन्दा संस्था कसरी बलियो बनाउने छलफल केन्द्रित गरौं । तत्काल  नीति महाधिवेशन र महासमितिको बैठकको आयोजना गरेर पार्टी निर्माण तथा देश निर्माणमा नीतिगत र वैचारिक बहसको  व्यापक थालनी गरौं ।

४) गठबन्धन किन असफल भयो ? दुईतिहाइ बहुमत ल्याउने भनेको गठबन्धन बहुमत ल्याउन पनि किन असफल भयो ?

५) एमालेलाई परास्त गर्ने भनेर ५ दलको महागठबन्धन गर्दा पनि एमाले  सशक्त नै देखियो । यस विषयमा गम्भीर ढंगले सोचौं।

६) समानुपातिकमा काङ्ग्रेसको निकैनै मत घट्यो, यसको जिम्मा पदाधिकारी ले लिनु पर्ने कि नपर्ने ? कि कार्यकर्ताले लिनु पर्ने हो ?

७) टिकट वितरणमा गरिएको अन्याय, अत्याचार र मनपरीका विरुदद्ध उतिबेला कोही नबोल्ने । पार्टीमा योगदान गरेका, दु:ख गरेका, आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका नेता कार्यकर्ताहरूको राजनीति समाप्त पार्ने अनि आज पन्छाएर किनारामा पारिएकाहरुको विषयमा केही बोल्न पर्ने कि नपर्ने ? खाली केही  मुठ्ठीभर मान्छेको रजाइँमात्र चल्ने हो त ?

८) देशैभरि युवाको लहर आएको बेला काङ्ग्रेसमा युवालाई टिकटै नदिएर पन्छाउने अनि अहिले यसको जिम्मेवारि नलियएर पदाधिकारीहरु पानीमाथिको ओभानो बन्न मिल्छ र ?

९) पार्टीबाट भएका कमीकमजोरीहरूको नेत्तृत्वले जिम्मा लिनुपर्छ तर कुनै पनि गलत निर्णयमा कसैले असहमति गरेको पाइएन हरेक निर्णय सहमति मै गरेको देखिन्छ त्यसैले टिकट वितरणमा बस्नु भएका अरु नेताहरु जिम्मेवारीबाट भाग्न मिल्छ कि मिल्दैन ?

१०) पार्टी महाधिवेशनबाट अब  कांग्रेस युवामय होला भनेको त झन् युवाले टिकट पाएनन, नेविसंघ र तरुण दललाई कोमामा राखियो, युवाको आवाज झन् बन्द गर्ने काम भयो । अब यसको जिम्मेवारी कसले लिने ? यसको उत्तर कसैले दिन पर्ने कि नपर्ने ? जय नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर