लुम्बिनीमा सत्ता गठबन्धन र एमालेको पुगेन बहुमत, कसको नेतृत्वमा बन्ला सरकार ? – Nepal Press

लुम्बिनीमा सत्ता गठबन्धन र एमालेको पुगेन बहुमत, कसको नेतृत्वमा बन्ला सरकार ?

रुपन्देही । लुम्बिनी प्रदेशमा सरकार बनाउन मंसिर ४ गते भएको निर्वाचनबाट कुनै पनि दलको बहुमत आएन । सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनको पनि बहुमत पुगेन । जसले गर्दा लुम्बिनीमा सरकार बनाउन यी दुई गठबन्धन बाहिर रहेका दलहरुको समर्थन आवश्यक देखिएको छ ।

लुम्बिनीमा नेकपा एमालेका प्रत्यक्षबाट १८ र समानुपातिकतर्फ ११ गरी २९ जना सांसद छन् । नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकबाट १० गरी २७ जना पुग्दा नेकपा माओवादी केन्द्रका प्रत्यक्षतर्फ ५ र समानुपातिकबाट ४ गरी ९ जना पुगेका छन् ।

त्यस्तै प्रत्यक्षतर्फ २ र समानुपातिकबाट २ गरी राप्रपाका ४ जना प्रदेश सांसद पुगेका छन् । नागरिक उन्मुक्तिका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट २ गरी ४ जना पुगेका छन् । जनता समाजवादी पार्टीका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट १ गरी ३ जना पुग्दा
लोकतान्त्रिक समाजवादी पार्टीका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट १ गरी ३ जना नै प्रदेश सांसद पुगेका छन् ।

निर्वाचनमा पहिलोपटक होमिएको जनमत पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकबाट २ गरी ३ जना, नेकपा एस र जनमोर्चाले समानुपातिकबाट १-१ सीट पाएका छन् ।

८७ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ । यहाँ प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद निर्वाचित भइसकेका छन् । अहिलेकै सत्ता गठबन्धन कायम भए र लोसपाले सघाएको अवस्थामा उनीहरुको सीट ४१ मात्रै हुन्छ । यहाँ सत्ता गठबन्धनमा कांग्रेसको २७, माओवादीको ९, नेकपा एस र जनमोर्चाको १-१ तथा लोसपा ३ गरी ४१ सीट पुग्नेछ । उसलाई सरकार बनाउन ३ सीट पुग्दैन ।

सत्ता गठबन्धनले स्वतन्त्रबाट जितेका ३ सांसदको समर्थन जुटाउन सके बहुमतको सरकार बनाउन सक्ने सम्भावना छ । जनमत र उन्मुक्तिले समर्थन गरेमा सत्ता गठबन्धनलाई बहुमतको सरकार बनाउन झन धेरै सहज हुनेछ ।

त्यस्तै एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन सत्ता गठबन्धनबाहेकका सबै दलहरुको समर्थन जुटाउनुपर्छ । एमाले चुनावताका तालमेल गरेको राप्रपा र जसपाको मात्रै समर्थनले बहुमतको सरकार बनाउन पुग्दैन । एमाले नेतृत्व गठबन्धनसँग उसको २९, राप्रपाको ४ र जसपाको ३ जोड्दा ३६ मात्रै पुग्छ । त्यसैले बहुमतको सरकार बनाउन यो गठबन्धनले नागरिक उन्मुक्तिका ४, जनमतका ३ र कम्तीमा स्वतन्त्र एकजना सांसदको समर्थन जुटाउनुपर्नेछ ।

यस आधारमा लुम्बिनीमा सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन नागरिक उन्मुक्ति र जनमत तथा स्वतन्त्र सांसदहरु निर्णायक देखिएका छन् ।

२२ वटा दलले कटाउन सकेन थ्रेसहोल्ड

लुम्बिनीमा निर्वाचनमा सहभागी ३२ मध्ये २२ वटा दलको थ्रेसहोल्ड कटाउन सकेन । समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउन प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

प्रदेशको समानुपातिकमा हाम्रो नेपाली पार्टीले २७ हजार ७०४, राष्ट्रिय जनमुक्ति पार्टीले १७ हजार ८६७, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १५ हजार १०९, मंगोल नेशनल अर्गनाइजेसनले ११ हजार ८६७, नेकपा मालेले ६ हजार ४४५, नेपाल जनता पार्टीले ५ हजार २२२, बहुजन शक्ति पार्टीले ४ हजार ४६, राप्रपा नेपालले ३ हजार ३४९, नेपाल सुशासन पार्टीले २ हजार ७९१, नेपाल संघीय समाजवादी पार्टीले १ हजार ९१२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपाल मजदुर किसान पार्टीले १ हजार ६५९, नेपालका लागि नेपाली पार्टीले १ हजार ६०७, नेपाली जनता दलले १ हजार ४१९, नेपाली कांग्रेस बीपीले १ हजार २८८, जनसमाजवादी पार्टीले १ हजार २१४, नेपाल लोकतान्त्रिक पार्टीले १ हजार २०७, नेपाल दलित पार्टीले १ हजार १४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९७३, मौलिक जरोकिलो पार्टीले ९२८, विवेकशील साझा पार्टीले ७९१, नेकपा माओवादी समाजवादीले ४८९ र नेशनलिस्ट पिपुल्स पार्टीले ४५७ मत पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *