सूर्यबहादुरको व्यक्ति वृत्तान्त: महेन्द्र चतुर-वीरेन्द्र अबुझ, बीपीभन्दा सुवर्ण अध्ययनशील – Nepal Press

सूर्यबहादुरको व्यक्ति वृत्तान्त: महेन्द्र चतुर-वीरेन्द्र अबुझ, बीपीभन्दा सुवर्ण अध्ययनशील

इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसका लेक्चरर गणेश पौडेलले २०६५ देखि २०७१ सम्म किस्ताकिस्तामा सूर्यबहादुर थापाको जीवनका कथाहरु रेकर्ड गरे । तीन सय घन्टाभन्दा धेरै समयको रेकर्डलाई हरिबहादुर थापाको सम्पादकत्वमा छोट्याएर अहिले ३८६ पृष्ठको पुस्तक तयार भएको छ । पुस्तक रेकर्ड सकिएको अर्को वर्ष २०७२ वैशाख २ गते थापाको निधन भयो । थापाको निधन भएको सात वर्षपछि बल्ल पुस्तकले आकार लिएर बजारमा आएको छ । ‘मेरा नौ दशकः पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’ नाममा पुस्तक बजारमा आएको छ ।

बुकहिलले प्रकाशन गरेको पुस्तक मूलतः सूर्यबहादुरको जीवनी हो । त्यसमा उनको आँखाले हेरेको राणा, पञ्चायत, बहुदलदेखि गणतन्त्रात्मक अवस्थासम्मका घटनाक्रमहरुको चित्रण छ । पुस्तकमा थापाले विभिन्न व्यक्तिहरुलाई गरेको टिप्पणीहरु ठाउँ-ठाउँमा आएका छन् । यो सामग्रीमा पञ्चायतदेखि बहुदलसम्म प्रधानमन्त्रीको अनुभव भएका सूर्यबहादुरको आँखाबाट विभिन्न व्यक्तिहरुलाई गरिएको टिप्पणी प्रस्तुत गरिएको छ ।

त्रिभुवन: शासनमा भन्दा अरु विषयमा रुचि

थापाले राजा त्रिभुवनलाई शासनमा भन्दा अरु विषयमा रुचि भएका सरल र सहज शैलीमा अघि बढ्ने राजा भनेका छन् । त्रिभुवनले अरुको भनाइमा विश्वास राख्नेसमेत थापाको तर्क छ । २०११ असोज १५ मा उपचार गर्न स्वीट्जरल्याण्ड जानु अगाडि त्रिभुवनले सबै मन्त्रीहरुलाई बोलाएर ‘यस्तो अवस्थामा पनि मिलेर काम गरेनौ भने यो देश खत्तम भएर जान्छ’ भनेको थापाले भनेका छन् ।

महेन्द्र: झुक्याउन नसक्ने चतुर राजा

थापाले राजा महेन्द्र चतुर भएको भन्दै उनलाई झुक्याएर कुनै काम गर्न नसकिने भनेका छन् । आफैं निर्णय लिन सक्ने, अरुलाई कुरा सुनाउनेभन्दा अरुको कुरा सुन्ने, मनपेट नखोल्ने, बहसमा नउत्रने, राजदरबारका आफन्त र परिवारलाई सत्तामा हावी हुन नदिने, हावी हुन खोजे ठेगान लाउने स्वभाव महेन्द्रमा भएको थापाले भनेका छन् ।

महेन्द्रलाई घुलमिल गर्ने र नजिक हुने स्वभाव नभएको राजाको रुपमा थापाले चित्रित गरेका छन् । एकपटक खडेरीग्रस्त विराटनगरको जग्गाको मालपोत तिर्ने रकम नहुँदा राजा महेन्द्रसँग पाँच हजार सापटी मागेर समयमै नतिर्दा दरबारको पत्र आएर तिर्नुपरेको रोचक कुरा थापाले खुलाएका छन् ।

महेन्द्रले विकल्पहरु तयार गर्ने क्रममा डाक्टर तुलसी गिरीको विकल्पमा आफू र आफ्नो विकल्पमा कीर्तिनिधि विष्ट तयार गरेको थापाले भनेका छन् । २०२४ चैतमा हृदयघात भएपछि महेन्द्रले सन्न्यास चाहना राखेको र त्यसपछिका उनका कविताहरुको तौरतरिकासमेत फेरिएको थापाले भनेका छन् ।

वीरेन्द्र: महेन्द्र भन्दा कमजोर

देशविदेश पढेर आएका, महेन्द्रले सत्ताको जानकारी दिन मन्त्रिपरिषद् बैठकमा अध्ययन गर्न पठाएका राजा वीरेन्द्र महेन्द्र जत्तिको नभएको थापाले लेखेका छन् । वीरेन्द्रकै पालमा रानी र राजाका ज्वाइँहरु हाबी हुन थालेको तर्क गरेका छन् । २०२९ साउन २९ देखि २०३० असोज १७ सम्म पञ्चायतविरोधी भाषण गरेकोमा थापा जेल पर्दा वीरेन्द्र नै राजा थिए । शाही भाषादेखि भारतसँगको सम्बन्धसम्ममा समेत वीरेन्द्र कमजोर भएको थापाले भनेका छन् ।

मातृकाप्रसाद कोइराला: अरुलाई नगन्ने, छद्म नाममा लेख लेख्ने

जनताको छोरोको रुपमा नेपालमा पहिलो प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइरालालाई थापाले नेतृत्व क्षमता र सांगठनिक पकड भएको तर अरुलाई नगन्ने स्वभाव भएको भनेका छन् । बीपी कोइराला सरकारमा हुँदा रमन्ते नामबाट धेरै सरकारविरोधी आलेखहरु मातृकाले लेखेको थापाले भनेका छन् ।

थापाले भनेका छन्, ‘खासगरी सूर्यप्रसाद उपाध्याय र सुवर्णजीको व्यक्तित्वको उनले उचित सम्मान गरेनन् ।’ मातृकालाई नेहरु र त्रिभुवनदेखि महेन्द्रसम्मले गुडबुकमा राखेको थापाको तर्क छ ।

बीपी कोइराला : योग्य, महत्वाकांक्षी तर सूर्यप्रसादमाथि अनावश्यक आरोप

बीपी कोइरालालाई थापाले बौद्धिक तर महत्वाकांक्षी नेता भनेका छन् । सूर्यप्रसाद उपाध्यायले पञ्चायतबाट जेल छुटाउन जोखिम लिएर धेरै पहल गरेको तर बीपीले नबुझेको थापाले भनेका छन् । सल्लाह लिँदा सूर्यप्रसादसँग लिने तर शंका गर्ने बीपीको खराब बानी भएको भन्दै थापाले भनेका छन्, ‘आफ्नो प्रतिस्पर्धी हुन सक्ने व्यक्तित्वलाई पनि चेक गरिरहने, माथि उठ्न नदिने रणनीति विश्वेश्वरमा थियो । त्यसैले विश्वेश्वरले आफ्नो आत्मवृतान्तमा सूर्यप्रसादप्रति न्याय गरेका छैनन् । अपमान हुने गरी लेखेका छन् । विश्वेश्वरका कुराकानी निराधार छन् ।’

बीपीलाई तर्क गर्ने, संगठन निर्माण गर्नेदेखि अरुलाई सम्झाउनसम्म सिपालु नेताको रुपमा थापाले चित्रित गरेका छन् । बीपीको महत्वाकांक्षाकै कारण कांग्रेसमा दुई गुट भएको भन्दै थापाले उल्लेख गरेका छन्, ‘बीपीकै महत्वाकांक्षाको कारण कांग्रेसमा मातृका पक्ष र बीपी पक्ष भन्ने दुई धार निर्माण भयो ।’

गणेशमान सिंह: त्यागी

थापाले गणेशमान सिंहलाई बहुदल आएपछिको मुखैको प्रधानमन्त्री पद त्यागेको भन्दै त्यागी भनेका छन् । गणेशमान सिंहसँग बीपी पनि डराउने भन्दै थापाले भनेका छन्, ‘गणेशमान सिंह प्रजातन्त्रप्रति एकदमै निष्ठावान र कर्तव्यपरायण व्यक्ति थिए । कुनै विषयमा एउटा धारणा बनाएपछि अन्त्यसम्म त्यसमा अविचलित भइरहन्थे । त्यसकारण उनलाई लौहपुरुष भनिएको हो । अत्यन्त इमानदार, त्यागी र आत्मविश्वास भएका व्यक्ति हुन् उनी ।’

सुवर्णशमशेर: बीपीभन्दा बौद्धिक

थापाले बीपीभन्दा सुवर्णशमशेरलाई धेरै बौद्धिक मानेका छन् । थापाले भनेका छन्, ‘सुवर्णशमशेर झट्ट बोलिनहाल्ने गम्भीर स्वभावका थिए । यही स्वभावका कारण सुवर्णशमशेरको विचार त्यति बाहिर आउँदैनथ्यो । तर, उनी पनि पढैया थिए । उनको पढाइको तुलनामा विश्वेश्वर एक छेउ पनि थिएनन् ।’

कृष्णप्रसाद भट्टराई: बीपीले च्यापेका ओभर रेटेट व्यक्तित्व

कृष्णप्रसाद भट्टराईलाई अनावश्यक ठूलो व्यक्तित्व मानिएको थापाको तर्क छ । बीपी कोइरालाले सूर्यप्रसाद उपाध्यायलाई चेक गर्न कृष्णप्रसाद भट्टराईलाई अनावश्यक च्यापेको उनको तर्क छ । २०१७ पुसमा पक्राउ परेका कृष्णप्रसाद भट्टराईले आफू दलको नभएर सभामुख भएकाले पक्राउ गर्न नमिल्ने भन्दै अचम्मको तर्क गरेको थापाले भनेका छन् । पक्राउ परेर छोडेपछि पनि आफ्नो तलबभत्ता सबै दिनुपर्ने तर्क भट्टराईले गरेको थापाले भनेका छन् ।

डिल्लीरमण रेग्मी: पदलोलुप

थापाले नेपाली राष्ट्रिय कांग्रेसका नेता डिल्लीरमण रेग्मीलाई पदलोलुप भनेका छन् । बीपी कोइराला जेल पर्दा पाएको कार्यबाहक सभापति बीपी जेलबाट मुक्त हुँदा पनि नछोडेको भन्दै थापाले उनलाई केदारमान व्यथितहरुले सम्झाउन खोज्दा पनि नटेरेको उल्लेख गरेका छन् ।

रेग्मीकै कारण राष्ट्रिय कांग्रेस दुई भागमा बाँडिएको भन्दै भनेका छन्, ‘विश्वेश्वरतिर बालचन्द्र शर्मा, गणेशमान सिंहहरु लागे । उनीहरुलाई भारतीय समाजवादी पार्टीले साथ दियो । डिल्लीरमण रेग्मीतिर पुष्पलाल, तेजबहादुर कंसाकार, भारतीय कम्युनिष्टहरु लागे ।’

२०१५ सालको चुनावमा सरकार बनाउन नामहरु दिन राजाले माग्दा रेग्मीले आफ्नो दलमा आफूभन्दा अरु कुनै योग्य नभएको भनेको कुरा जोड्दै थापाले मन्त्री भएपछि पनि रेग्मीले सचिवहरुसँग ‘मारामार’ गरेको भनेका छन् ।

विजयशमशेर: भाषण र कूटनीतिमा अब्बल

राप्रपा नेता पशुपति शमशेरका पिता विजयशमशेरको थापाले तारिफ गरेका थिए । पूर्वभारतीय राजदूत तथा नेपालको राणाकालीन परराष्ट्र विभागका डाइरेक्टर विजयशमशेरले नै भारतमा २००३ सालमा भएको ‘एसियन रिलेसन्स कन्फ्रेन्स’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । उनले नेहरुसँग कन्फ्रेन्सकै क्रममा राम्रो सम्बन्ध बनाएको भन्दै थापाले भनेका छन्, ‘सम्मेलनमा उनले दिएको भाषणको निकै चर्चा पनि भयो ।’

थापाले नेहरुले विजयशमशेरलाई भारतको राजदूत हुँदै नेपालको भावी प्रधानमन्त्रीको रुपमा देख्न थालेको बताएका छन् । तर, दुःखद कुरा राजदूत भएकै अवस्थामा विजयशमशेरको भारतमा मृत्यु भएको थियो ।

रणधीर सुब्बाः दार्जिलिङका विद्वान, राणाका बफादार

नेपाली राजनीतिमा २००७ पुस २० मा गठन भएको ‘गोरखा दल’ निकै चर्चित छ । राणाहरुको सक्रियतामा गठन भएको गोरखा दललाई नेतृत्व गरेका थिए रणधीर सुब्बाले । भरतशमशेर महासचिव भएको गोरखा दलको अध्यक्षमा दार्जिलिङका सुब्बालाई राखिएको थियो । राणाको अध्यक्षता हुँदा असहज भएकाले त्यसो गरिएको थापाले भनेका छन् । सुब्बालाई उनले विद्वान व्यक्ति भनेका छन् ।

कांग्रेसविरुद्ध प्रचार गरेको र सत्ता कब्जाको तयारी गरेको भन्दै गोरखा दलका भरतशमशेर र रणधीर सुब्बा दुवैलाई २००७ चैत २९ मा पक्राउ गरिएको थियो । चैत ३० मा उनीहरुको समूहले खुकुरी नचाएर सेन्ट्रल जेल तोडेर भरतशमशेरलाई मुक्त गरेको थियो । बीपीको हत्या प्रयास त्यही समयमा भएको थियो ।

विश्वबन्धु थापा: पञ्चायतका इन्जिनियर तर अस्थिर

विश्वबन्धु थापालाई पञ्चायतका इन्जिनियर भन्दै थापाले उनको चरित्र भने अस्थिर भएको तर्क गरेका छन् । पञ्चायतको राजनीतिक जग विश्वबन्धु थापाले नै राखे पनि उनमा स्थिरता नभएकाले अन्तिममा पञ्चायतबाट अलग भएको भन्दै थापाले भनेका छन्, ‘विश्वबन्धु थापामा अस्थिर चरित्र हावी थियो । उनको कमजोरी त्यही हो । उनी नयाँनयाँ विषय सोधिरहने चिन्तनशील भएकाले पनि आफूलाई स्थिर राख्न सकेनन् ।’

पञ्चायत अगाडि विश्वबन्धु थापाले विभिन्न लेखहरु लेख्ने गरेको भन्दै थापाले पञ्चायतबाट बाहिरिएपछि विश्वबन्धुलाई पञ्चायतको विरोध गरेकोमा आफू प्रधानमन्त्री हुँदा पक्राउ गरेको भनेका छन् ।

डा. तुलसी गिरी: प्रधानमन्त्री हुँदा पनि पढ्ने, कांग्रेसलाई प्रतिबन्ध गर्न जोडबल

बीपी क्याबिनेटका सदस्य डा. तुलसी गिरी पञ्चायतका प्रथम प्रधानमन्त्री हुन् । उनलाई थापाले पढालु बौद्धिक भनेका छन् । राजासँग शास्त्रार्थ गर्न सक्ने गिरीले नेपाली कांग्रेसलाई थप प्रतिबन्ध लाउनुपर्ने पक्ष लिएको थापाको भनाइ छ । सुवर्णशमशेरसँग डर भएकाले उनलाई देश आउन नदिन गिरीले धेरै मेहेनत गरेको थापाले भनेका छन् ।

प्रधानमन्त्री हुँदा पनि कार्यालयमा गिरीले धेरै समय पढ्नमै खर्च गर्ने थापाले भनेका छन् । बीपी जेलमै भएको समयमा पञ्चायतकालमा भारतीय समाजवादी नेता जयप्रकाश नारायणको नेपाल भ्रमणको चाँजोपाँजो पनि गिरीले नै गरेको थापाले भनेका छन् । तर्कशक्तिमा गिरी अगाडि भएको भन्दै थापाले कालोलाई गोरो र गोरोलाई कालो बनाउने शक्ति गिरीसँग भएको भनेका छन् ।

भारतको हिन्दू अतिवादी समूह राष्ट्रिय स्वयंसेवक संघको राजनीतिमा गिरी जोडिए पनि पछि बीपीलाई मानेर समाजवादी लाइनमा आएको थापाको तर्क छ । पञ्चायतको विरोध गरेकोमा आफू प्रधानमन्त्री हुँदा गिरीलाई महोत्तरी जेलमा तीन महिना थुनेकोसमेत थापाले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर