प्रतिनिधिसभामा समानुपातिकबाट ७६ जना महिला आउने, कसले कतिजना पठाउनुपर्छ ? – Nepal Press

प्रतिनिधिसभामा समानुपातिकबाट ७६ जना महिला आउने, कसले कतिजना पठाउनुपर्छ ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । यससँगै संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य पुर्‍याउनुपर्ने कानूनी व्यवस्था कार्यान्वयनमा अघि बढेको छ । संघीय संसदमा राष्ट्रियसभा पनि पर्छ । त्यसैले राष्ट्रियसभा र प्रतिनिधिसभामा महिला के कति छन् भन्ने विषयमा सबैको चासो बढेको छ ।

संघीय संसद सचिवालयका अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा २० जना महिला छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट ९ जनामात्रै महिला निर्वाचित भएका छन् । यसअनुसार अब संघीय संसदमा महिलाको संख्या २७ पुग्नेछ । यो भनेको ८ प्रतिशत मात्रै महिलाको संख्या हो । संघीय संसदमा ३३ प्रतिशत ८२ जना महिला पुर्‍याउन करिब २५ प्रतिशत महिलाको अभाव देखिएको छ ।

राष्ट्रियसभामा ५९ र प्रतिनिधिसभामा २७५ गरी संघीय संसद ३३४ सदस्यीय हो । यो संख्याको ३३ प्रतिशत महिला भनेको १११ जना हो । अहिले राष्ट्रियसभामा २० जना र प्रतिनिधिसभाका ९ जना गरी २९ जना (८ प्रतिशत) मात्रै महिला छन् । यस आधारमा संघीय संसदमा नपुग ७६ जना महिला प्रतिनिधिसभाको समानुपातिकतर्फ आउनुपर्छ । समानुपातिकतर्फको थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेका सात पार्टीले यो संख्या पूर्ति गर्नुपर्नेछ ।

कुन दलले कति जना पठाउनुपर्छ महिला ?

कांग्रेसबाट २९ महिला आउनेछन्

नेपाली कांग्रेसले ३३ प्रतिशत महिला पुर्‍याउन अब समानुपातिकबाट २९ जना पठाउनुपर्नेछ । यसअनुसार कांग्रेसको भागमा परेको ३२ सीटबाट बाँकी ३ जनामा मात्रै पुरुषले मौका पाउनेछन् ।

कांग्रेसबाट संघीय संसदअन्तर्गत राष्ट्रियसभामा ११ जना छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट ५७ जितेको छ । अब समानुपातिकबाट ३२ थपेर सांसद संख्या ८९ जना पुग्नेछन् । दुवै सदनमा कांग्रेसबाट १०० जनाको प्रतिनिधित्व भएको छ । १०० जनामा ३३ प्रतिशत महिला अनिवार्य गर्दा ३३ जना नै महिला पुर्‍याउनुपर्छ ।

हाल कांग्रेसबाट राष्ट्रियसभामा ४ र प्रतिनिधिसभामा १ जना महिला पुगेका छन् । अब बाँकी २८ जना महिला प्रतिनिधिसभाको समानुपातिकबाट पठाउनुपर्ने भएको हो ।

एमालेले १९ जना महिला पठाउनुपर्ने

नेकपा एमालेबाट संघीय संसदअन्तर्गत राष्ट्रियसभामा १७ जना रहेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरेर ७८ जना पुग्दैछन् । दुवै सदनमा एमालेबाट ९५ जनाको प्रतिनिधित्व हुनेछ । ९५ जनाको ३३ प्रतिशत भनेको ३२ जना महिला हो ।

अहिले राष्ट्रियसभामा ९ र प्रतिनिधिसभामा ४ गरेर एमालेका ११ जना महिला छन् । बाँकी  १९ जना महिला प्रतिनिधिसभाको समानुपाकितर्फबाट पूर्ति गर्नुपर्नेछ । यसअनुसार बाँकी १५ जना पुरुषलाई मात्र समानुपातिकबाट संसदमा प्रवेश पाउने मौका मिल्नेछ ।

माओवादी केन्द्रबाट १२ जना आउने

नेकपा माओवादी केन्द्रबाट संघीय संसदअन्तर्गत राष्ट्रियसभामा १५ जना रहेका छन् । प्रतिनिधिसभामा ३२ जना पुग्दैछन् । दुवै सदनमा माओवादीबाट ४७ जनाको प्रतिनिधित्व हुँदैछ । ४७ जनाको ३३ प्रतिशत १६ हो । राष्ट्रियसभामा माओवादीका ३ जना महिला छन् । प्रतिनिधिसभाको प्रत्यक्षबाट १ जनामात्रै निर्वाचित भएका छन् ।

यसअनुसार माओवादीले समानुपातिकबाट प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ । माओवादीले समानुपातिकतर्फ १४ सीटमात्रै पाएको छ । जसअनुसार अब बाँकी २ सीटमा मात्रै पुरुषले ठाउँ पानेछन् ।

रास्वपाबाट ५ जना महिला अनिवार्य

राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियसभामा प्रतिनिधित्व छैन । उसको प्रतिनिधिसभामा मात्रै २० जनाको प्रतिनिधित्व हुने भएको छ । २० जनाको ३३ प्रतिशत अनिवार्य महिला पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार ७ जना महिलाको भाग पर्नेछ । रास्वपाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ जना महिला निर्वाचित भइसकेका छन् । त्यसैले ५ जनामात्रै समानुपातिकबाट पूर्ति गरे पुग्छ ।

समानुपातिकतर्फ रास्वपाले १३ सीट पाएको छ । जसअनुसार बाँकी ८ सीटमा पुरुषले मौका पाउनेछन् ।

राप्रपाको भाग पनि ५ जना महिला

राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि राष्ट्रियसभामा प्रतिनिधित्व छैन । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राप्रपाले ७ सीट जितेको छ । समानुपातिकतर्फ उसले ७ सीट पाउने भएको छ । यसअनुसार संघीय संसदमा १४ जनाको प्रतिनिधित्व हुँदैछ । १४ जनाको ३३ प्रतिशत भनेको ५ हो ।

यसअनुसार राप्रपाले समानुपातिकबाट ५ जना महिलालाई अनिवार्य संघीय संसदमा पठाउनुपर्नेछ । बाँकी २ सीटमा मात्रै राप्रपाले पुरुषलाई मौका दिने पाउनेछ ।

जसपाबाट ४ जना महिला आउने

जनता समाजवादी पार्टीबाट संघीय संसदअन्तर्गत राष्ट्रियसभामा ३ जना रहेका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ जना निर्वाचित भए । उसले समानुपातिकतर्फ ५ सीटको भाग पाउनेछ । यसअनुसार दुवै सदनमा जसपाबाट १५ जनाको सहभागिता हुँदैछ । १५ जनामा ३३ प्रतिशत महिला पुर्‍याउन उसले ४ जना महिला अनिवार्य रुपमा समानुपातिक कोटाबाट पूर्ति गर्नुपर्छ । जसपाबाट एकजना महिलाको राष्ट्रिय सभामा प्रतिनिधित्व छ ।

जनमतबाट २ जना महिला आउने

पहिलोपटक आम निर्वाचनमा भाग लिएको जनमत पार्टीको पनि राष्ट्रियसभामा प्रतिनिधित्व छैन । उसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सीट जितेको छ । समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाएको जनमतले ५ सीट पाउनेछ । यसअनुसार संघीय संसदमा जनमत पार्टीबाट ६ जनाको उपस्थिति रहेनछ ।

६ जनाको ३३ प्रतिशत २ हो । यसअनुसार समानुपातिकबाट जनमतले २ जना महिलालाई संसदमा पठाउनुपर्नेछ । बाँकी ३ सीटमा मात्रै जनमतले पुरुष पठाउन पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर