लुम्बिनी राजधानी देउखुरीमा चहलपहल- गाउँपालिकाद्वारा भाडादर तय, सहयोग गर्ने दलहरूको प्रतिबद्धता – Nepal Press

लुम्बिनी राजधानी देउखुरीमा चहलपहल- गाउँपालिकाद्वारा भाडादर तय, सहयोग गर्ने दलहरूको प्रतिबद्धता

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको देउखुरी उपत्यकामा संरचना निर्माण तथा मुख्यमन्त्री कार्यालय पुगेपछि चहलपहल बढेको छ ।

सोमबार राति बुटवलबाट सो क्षेत्रमा मुख्यमन्त्री कार्यालयको सबै सामान लगेपछि राप्ती टेक्निकल क्षेत्र वरपर चहलपहल बढेको हो । लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. छविलाल पोखरेलले संरचना निर्माण भइरहेको र केही तयारी भइसकेको बताइ ।

‘मुख्यमन्त्री कार्यालयको सबै निर्माण सकिएको छ, अरु पनि केही तयारी भइरहेका छन्, ६ वटा राप्ती टेक्निकल परिसरभित्र नै व्यवस्थापन हुने र बाँकी बाहिर रहेका सरकारी कार्यालयमा व्यवस्थापन हुनेगरी तयारी भइरहेको छ’, उनले नेपाल प्रेससँग भने ।

अहिले अधिकांश मन्त्रालय रहने दाङको राप्ती गाउँपालिकाले राजधानी क्षेत्र वरपरको बसाइ व्यवस्थित गर्न सो क्षेत्रमा कोठभाडाको मूल्य तोकेको छ । कार्यपालिका बैठकमार्फत कोठा भाडा निर्धारण गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

राजधानी क्षेत्रमा आउने प्रदेशसभा सदस्य तथा कर्मचारीहरूले कोठा भाडामा लिनुपरे सहुलियत मूल्यमा दिनेगरी निर्णय गरेको छ । अटेचसहितको राम्रो कोठा भाडामा करबाहेक मासिक ३ हजार, मध्यमलाई २ हजार ८ सय र सामान्य कोठालाई २ हजार २ सय मूल्य तोकेको हो । यो भन्दा बढी मूल्यमा कोठा भाडामा नलगाउन अनुरोध गरेको छ ।

राजधानी कार्यान्वयनसँगै राजधानी क्षेत्रको सडक सौन्दर्यता बढाउन पनि गाउँपालिकाले अपील गरेको छ । सरसफाइ तथा सौन्दर्यकरण अभियानसमेत चलाइएको छ । प्रमुख राजमार्ग, सहायक राजमार्गहरुको दायाँबायाँ दुवैतर्फ सरसफाइ तथा सौन्दर्यकरण गर्न सबै राजनीतिक दल, भ्रातृ संगठन, सामाजिक संघसंस्था तथा आम राजधानीबासीलाई अपील गरिएको छ ।

‘राजधानीमा आउने पाहुनाको स्वागत सत्कारका लागि मित्रवत् व्यवहार अपरिहार्य छ’, अध्यक्ष विष्टले भने, ‘उद्योगी, व्यवसायी, होटल व्यवसायीलगायत आमसर्वसाधारण यस महान अभियानमा सहभागी हुन हार्दिक अपील गर्दछौं ।’

राजधानी क्षेत्र परिसरभित्र मुख्यमन्त्री कुलप्रसाद केसीले व्यवस्थापनको नेतृत्व सम्हालेका छन् । सो क्षेत्रमा विभिन्न क्षेत्रबाट प्रतिनिधि तोकेर राजधानी व्यवस्थापन समिति नै बनाएर काम थालिएको छ ।

यसैबीच दाङमा रहेका विभिन्न राजनीतिक दलहरूले स्थायी राजधानीमा प्रदेशका मन्त्रालय सुरू भएकोमा स्वागत गरेका छन् ।

कांग्रेस दाङ सभापति शंकरप्रसाद डाँगी, माओवादी केन्द्रका संयोजक तुल्सीराम पुन, नेकपा एसका अध्यक्ष शुरामणि बेल्वासे, राष्ट्रिय जनमोर्चा अध्यक्ष गणेश आचार्यले बुधबार एक विज्ञप्ति निकाल्दै राजधानी कार्यान्वयनको विषयमा पहल गर्ने मुख्यमन्त्री, सबै मन्त्री तथा कर्मचारीलाई धन्यवाद दिँदै व्यवस्थापनका क्षेत्रमा पूर्णरूपले साथ दिने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *