मैदानबाट बेञ्चमा पुगेका रोनाल्डो, रामोसको ह्याट्रिकले संकट चुलियो – Nepal Press

मैदानबाट बेञ्चमा पुगेका रोनाल्डो, रामोसको ह्याट्रिकले संकट चुलियो

दोहा । म्यानचेस्टर युनाइटेडले पहिलो रोजाइमा स्थान दिन छाडेपछि आक्रामक अन्तर्वार्ता दिएर सम्झौता नै टुंग्याउने अवस्थामा पुगेका क्रिस्टियानो रोनाल्डोको दुर्दशा राष्ट्रिय टोलीमा पनि देखिन थालेको छ ।

समूहगत चरणका तीनवटा खेलमा पहिलो रोजाइमा परे पनि पूरा समय खेल्न नपाएका रोनाल्डो मंगलबार राति स्वीट्जरल्यान्डविरुद्ध सुरुवाती ११ मा परेनन् । उनको स्थानमा पहिलो रोजाइमा परेका गोन्कालो रामोसले ह्याट्रिक गरे ।

रामोसको यो प्रदर्शनले आगामी खेलमा पनि रोनाल्डो सुरुवाती ११ मा पर्न नसक्ने सम्भावना बढेको छ ।

प्रशिक्षक रोबर्टो सान्तोसले रोनाल्डोको स्थानमा रामोसलाई स्वीट्जरल्यान्डविरुद्ध अवसर दिएका थिए । जारी विश्वकपमा रामोसले सुरुवातदेखि खेल्न पाएको यो पहिलो खेल थियो । यसअघि अघिल्ला तीनमध्ये दुई खेलमा रोनाल्डोलाई वैकल्पिक खेलाडीका रुपमा रामोसले नै विस्थापित गरेका थिए ।

पहिलो खेलमा घानाविरुद्ध रामोस ८८औं मिनेटमा रोनाल्डोको स्थानमा मैदान छिरेका थिए । दोस्रो खेलमा उरुग्वेविरुद्ध उनले ८२औं मिनेटमा रोनाल्डोलाई विस्थापित गरेका थिए । तेस्रो खेलमा दक्षिण कोरियाविरुद्ध रोनाल्डो ६५औं मिनेटमा विस्थापित भएका थिए ।
आन्द्रे सिल्भाले उनको स्थान लिएका थिए ।

पछिल्लो समय प्रशिक्षक सान्तोस र रोनाल्डोबीचको सम्बन्ध असहज बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अघिल्लो खेलमा आफूलाई निकालेपछि रोनाल्डोले आक्रोश व्यक्त गरेका थिए । स्वीट्जरल्यान्डविरुद्ध रोनाल्डोले ७४औं मिनेटमा मैदान उत्रने अवसर पाएका थिए । त्यही समयमा रिकार्डो होर्ताले रामोसको स्थान लिएका थिए ।

पाँचपटकका फिफा वर्ष खेलाडी तथा अन्तर्राष्ट्रिय फुटबल र च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डो म्यान युनाइटेडसँगको सम्झौता टुंगिएपछि अहिले क्लबविहीन अवस्थामा छन् । पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुग्ने क्रममा रोनाल्डो पहिलोपटक विश्व च्याम्पियन बन्ने सम्भावना कायमै देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर