विश्वकप फुटबल : जन्मभूमि स्पेनलाई हराएर मोरोक्कोलाई पहिलोपटक क्वाटरफाइनल पुर्‍याउने हाकिमी – Nepal Press

विश्वकप फुटबल : जन्मभूमि स्पेनलाई हराएर मोरोक्कोलाई पहिलोपटक क्वाटरफाइनल पुर्‍याउने हाकिमी

दोहा । मोरोक्को फुटबलको वर्तमान टोलीमा सबैभन्दा ठूलो नाम हुन् डिफेन्डर अस्रफ हाकिमी । फ्रान्समा लियोनल मेस्सी, केलियन एमबाप्पे, नेमारसहितको टोली पीएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका उनै हाकिमीले गोल गरेपछि मोरोक्कोले कतारमा जारी विश्वकपमा क्वाटरफाइनलमा स्थान बनाएको छ ।

मोरोक्को यसअघि प्रि-क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको थिएन । त्यसमा पनि सन् १९८६ को संस्करणमा मात्र पहिलो चरण पार गरेको थियो । मोरोक्को पछिल्लो सफलताले विश्वकप इतिहासमा क्वाटरफाइनल पुग्ने केवल चौथो अफ्रिकी राष्ट्र बनेको छ ।

यसअघि सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र २०१० मा घानामात्र क्वाटरफाइनल पुगेका थिए । अब क्वाटरफाइनलमा पोर्चुगललाई हराउन सके मोरोक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बन्नेछ ।

मंगलबार राति स्पेन र मोरोक्कोबीचको खेल निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । खेलको निर्णय लिन भएको टाइब्रेकरमा चौथो प्रहारमा गोल गर्दै हाकिमीले मोरोक्कोलाई ऐतिहासिक यात्रा तय गराए । स्पेनका सुरुका तीनवटै प्रहार विफल भएपछि हाकिमीले गोल गर्दै मोरोक्कोलाई अगाडि बढाएका हुन् ।

संयोग नै मान्नुपर्छ, हाकिमी आफ्नो जन्मभूमि स्पेनलाई हराएर यो सफलता हात पार्न सफल भए । सन् १९९८ मा म्याड्रिडमा जन्मिएका हाकिमी रियल म्याड्रिडको एकेडेमीका उत्पादन हुन् । जहाँ उनी ८ वर्षको उमेरमा भर्ना भएर १० वर्ष बसेका थिए । पछि रियल म्याड्रिडका लागि तीन वर्ष खेलेका उनी सन् २०२१ देखि पीएसजीमा छन् ।

मोरोक्कोको यू-१७ र यू-२० राष्ट्रिय टोली हुँदै उनले सन् २०१६ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

स्पेनविरुद्ध निर्णायक प्रदर्शन गरेका गोलरक्षक यासिन बौनु पनि मोरोक्कोमा जन्मिएका होइनन् । क्यानडामा जन्मिएका ३१ वर्षीय बौनुले स्पेनविरुद्ध भएको पेनाल्टी सुटआउटमा विपक्षीलाई एक गोल पनि गर्न दिएनन् ।

बौनु पनि मोरोक्को फुटबलमा परिचित नाम हो । उनी स्पेनिस क्लब सेभियाका पहिलो रोजाइका गोलरक्षक हुन् । बौनु सन् २०१४ देखि ला लिगा खेलिरहेका छन् । त्यसअघि उनी एट्लेटिको म्याड्रिडको बी डिभिजन टोलीका लागि खेल्ने गर्थे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर