कार्यालय परिसरको फोहोर ३५ दिनभित्र व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह – Nepal Press

कार्यालय परिसरको फोहोर ३५ दिनभित्र व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोरमैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न आग्रह गरेको छ ।

महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेर थुप्रिएको फोहोर मैला महानगरले ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न आग्रह हो ।

आज एक सूचना जारी गर्दै कार्यालय परिसरलाई नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले त्यस स्थान मात्र नभई सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको उल्लेख गरेको छ ।

जारी सूचनामा भनिएको छ,‘ फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य हो । फोहोर मैला व्यवस्थापन ऐन, २०६८ तथा ऐ। नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर मैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला ।’

कार्यालय परिसरमा सफा नगरे कानून बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नाम समेत सार्वजनिक गरिने महानगरले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर