विश्वकपः पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा – Nepal Press

विश्वकपः पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा

काठमाडौं । पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को कतारमा जारी विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

एजुकेसन सिटी रंगशालमा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोलको नतिजमा पराजित गर्दै मोरक्कोले इतिहासमा पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएकाे हाे।

निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो ।

पहिला पेनाल्टिमार्फत अबदेलहामिद साबिरिले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । त्यसपछि बाडा बेनाउनले पेनाल्टि मिस गर्दा आस्राफ हाकिमी र हाकिम जियाचले गोल गर्दै मोरक्कोकोलाई सानदार जित दिलाए ।

स्पेनका पाब्लो साराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केटको पेनाल्टी मोरक्कोका गोलकिपर बोनोेले उत्कृष्ट बचाउ गरेका थिए ।

समूह चरण अन्तर्गत पहिलो खेलमा क्राएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा विश्व नम्बर १ बेल्जियमलाई २–० गोलको नतिजमा हराएको थियो । अन्तिम खेलमा क्यानाडालाई २–१ को नतिजमा पराजित गर्दे समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो ।

यस्तै, पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलको नतिजमा पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तेस्रो खेलमा जापानसँग पराजित स्पेन समूह उपविजेताका रुपमा नकआउट चरण पुगेको हो ।

मोरक्को र स्पेन विश्वकपमा दोस्रो पटक आमनेसमाने भएका हुन् । सन् २०१८को समूह चरणमा भेट हुँदै दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए ।
सन् २०१० मा विश्वकप जिते यता स्पेन अन्तिम १६ बाट माथि पुगेको छैन । २०१८ विश्वकपको अन्तिम १६मा आयोजक रुससँग पेनाल्टि सुटआउटमा पराजित हुँदै बहिरिएको थियो ।
सन् १९८६ को विश्वकपको अन्तिम १६मा जर्मनीसँग १–० गोलको नतिजमा पराजित हुँदै बाहिरिएपछि मोरक्को पहिलो पटक नकआउट चरणमा पुगेको हो ।

मोरक्कोले सेमिफाइनल प्रवेशका लागि पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *