समानुपातिकको मतगणना सकियो, नेकपा एस बनेन राष्ट्रिय दल – Nepal Press

समानुपातिकको मतगणना सकियो, नेकपा एस बनेन राष्ट्रिय दल

एमाले ३४, काँग्रेस ३२, माओवादी १४ र रास्वपाले १३ सिट पाउने

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएका कुन दलले कति सिट पाउने भन्ने सबले चासोका साथ हेरिरहेका छन् । निर्वाचन आयोग पनि समानुपातिकतर्फको मतगणना सकिए लगत्तै अहिले दलले प्राप्त गर्ने सिट बाँडफाँटमा जुटेको छ।

आज रातिसम्म थ्रेसहोल्ड कटाएका दलले पाउने सिट संख्या निकालेर दललाई पत्र पठाउने आयोगका समानुपातिकतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस कांग्रेस, नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र र जनमत पार्टीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । आयोगको बैठक बसेर दलले पाएको सिट संख्याबारे निर्णय गर्ने तयारीमा आयोग जुटिरहेको प्रवक्ता वाग्लेले बताए ।

कुन दलले कति सिट प्राप्त गर्दैछन् ?

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिव १ करोड ९ लाख मत खसेकोमा १ करोड ०५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा थ्रेस होल्ड कटाउने ७ दलले प्राप्त गरेको ९२ लाख ७१ हजार ७११ मत समनुपातिकतर्फको ११० सिट बाडफाडमा भाग लाग्ने भएको छ भने थ्रेस होल्ड नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात १२ लाख ८८ हजार ३५६ अर्थात १२ प्रतिशत मत खेर गएको छ ।

४० दलमध्ये सबैभन्दा बढी २.८२ प्रतिशत अर्थात २ लाख ९८ हजार ३९१ मत प्राप्त गरेको नेकपा (एकीकृत समाजवादी)को मत खेर गएको छ ।

आयोगको नतिजा अनुसार सबैभन्दा बढी नेकपा (एमाले)ले थ्रेस होल्ड कटाउने ७ दलको मत जोडेर आउने हिसावको ३० प्रतिशत मत प्राप्त गरेर ३४ सिट प्राप्त गरेको छ भने दोस्रोमा नेपाली कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरेर ३२ सिट प्राप्त गर्ने भएको छ । यस्तै तेस्रोमा नेकपा (माओवादी केन्द्र)ले १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि थ्रेस होल्ड कटाउने ७ दलले प्राप्त गरेको मतलाई हिसाव गर्दा १२ प्रतिशत मत नै प्राप्त गरेर १३ सिट प्राप्त गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ प्रतिशत मत प्राप्त गरेर ७ सिट, जनता समाजवादी पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर ५ सिट र जनमत पार्टीले पनि ४ प्रतिशत नै मत प्राप्त गरेर ५ सिट नै प्राप्त गर्नेछ । यद्यपि, निर्वाचन आयोगले अन्तिम हिसाव निकालेपछि एक दुई संख्या तलमाथी पनि पर्न सक्नेछ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ र समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने कानूनी व्यवस्था छ । समानुपातिकमा ३ प्रतिशत मत (थ्रेस होल्ड) कटाएका ७ दलको कुल मत ९२ लाख ७१ हजार ७ सय ९१ लाई आधार मानेर निर्वाचन आयोगले समानुपातिकतर्फको ११० सिट बाँडफाँड गरेको छ । समानुपातिकमा पाएको सिट संख्याका आधारमा बन्दसूचीको समूहबाट निर्वाचित हुने उम्मेदवारको नामावली ३ दिनभित्र पठाउन निर्वाचन आयोगले बुधबार दललाई पत्र पठाउँदै छ ।

दलले महिला, खसआर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय तथा अपांगता भएको व्यक्तिको प्रतिनिधित्व हुने गरी समानुपातिकबाट विजयी हुने उम्मेदवार छनौट गर्नुपर्नेछ । यसमा बन्दसूचीको क्रम तलमाथि गर्न नपाइने कानूनी व्यवस्था छ ।

दलले प्रत्यक्ष र समानुपातिकमा पाएको सिट, राष्ट्रिय सभामा रहेका सदस्यका आधारमा समावेशी प्रतिनिधित्व गराउनुपर्छ । संघीय संसद दलले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गराउनुपर्ने बाध्यकारी व्यवस्था छ । यो व्यवस्था प्रदेशसभाको हकमा पनि लागू हुन्छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रबाट ९ जना मात्रै महिला निर्वाचित भएका छन् । त्यसैले समानुपातिकको बन्द सूचीमा रहेका अधिकांश महिला नै छनौट हुनेछन् ।

१० प्रतिशतभन्दा बढी सिट प्राप्त गर्ने दलले खसआर्य ३१.२, आदिवासी जनजाति २८.७, दलित १३.८, मधेसी १५.३ थारू ६.६, र मुस्लिम ४.४, पिछडिएको क्षेत्रबाट कम्तीमा ४.३ प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने कानूनी व्यवस्था छ । यद्यपी १० प्रतिशतभन्दा कम सिट प्राप्त गर्ने दलले पनि समावेशी प्रतिनिधित्वलाई ख्याल गर्नुपर्नेछ ।


प्रतिक्रिया

2 thoughts on “समानुपातिकको मतगणना सकियो, नेकपा एस बनेन राष्ट्रिय दल

  1. भारतको निर्देशनमा काँग्रेस र माओवादीले भोट हालेर दुईचार सिट प्रत्यक्षमा जितेको हो एसले । यसका पछाडि जनता छैनन भन्ने कुरा प्रष्ट भयो । यसको अवसान अब छिट्टै हुन्छ । माओवादीलाई काँग्रेसले सिध्याउँदैछ र आफू पनि सकिदैछ । एमालेमात्र एक शक्ति हो यो देशको । भारतले टाउको फुटाए पनि केही हुनेवाला छैन ।

  2. एसले समानुपातिकमा ल्याएको यो मत पनि गणना गर्दा अरू पार्टीको भोट उसकोमा जोडिदिएर हो । करिव ७० हजारबाट व्हात्तै १ लाख ९० हजार पुग्यो भोट । ओलिले विज्ञप्ति ननिकालेको भए त ३% कटाउने रहेछ । काँग्रेस र माओवादीको भोट पनि एसकोमा थपिदिएर ३% पुर्याईदिने दाउ थियो भारतको किनकी एमाले कमजोर बनाउन एसलाई बलियो बनाउनैपर्छ भन्ने लाग्यो भारतलाई । तर ओलिको विज्ञप्ति पछि भारतको योजना पनि हावा खायो । ३% पनि पुगेको भए त माधव नेपाल आफैं एमालेका नेता कुट्दै हिड्थे होला । अहिले त दुनियाले थाहा पायो कि भारतले काँग्रेस माओवादीलाई दवाव दिएर एसलाई २ ४ सिट जिताईदेउ भनेको हुनाले १० सिट पुगेको ।एसको आफैमा त अवसान भयो भन्ने प्रमाणित भयो । बोकेको कुकुरले मृगक‍ो सिकार गर्न सक्दैन क्या माधवजि ! तर माधवलाई नै त यो राम्रै विजय हो । उस्तै परे काँग्रेस माओवादीबीच झगडा पारेर भारतले माधवलाई प्रधानमन्त्री बनाईदिन बेर छैन किनकी उनी भारतले १ नम्बरमा राखेको आदेशपालक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर