स्वास्थ्यको अतिरिक्त सचिव हुन २१ जना प्रतिस्पर्धामा – Nepal Press

स्वास्थ्यको अतिरिक्त सचिव हुन २१ जना प्रतिस्पर्धामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तहको अतिरिक्त स्वास्थ्य सचिव हुन १२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । मन्त्रालयमा २ जना अतिरिक्त स्वास्थ्य सचिवको दरबन्दी रिक्त भएपछि मन्त्रालयले बढुवा प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालय स्रोतका अनुसार रिक्त दुई दरबन्दीमा प्रतिस्पर्धा गर्न योग्यता पुगेका २१ जनाले व्यक्तिगत विवरण बुझाएका छन् । १२औं तहका अतिरिक्त स्वास्थ्य सचिव डा.श्यामसुन्दर यादव र डा.गुणराज लोहनीले अनिवार्य अवकाश पाएपछि दुई पद रिक्त भएको थियो ।

मन्त्रालयको बढुवा समितिले गएको कात्तिक ३० गते एक सूचना जारी गर्दै अतिरिक्त स्वास्थ्य सचिवका लागि योग्यता पुगेका व्यक्तिलाई १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको थियो ।

व्यक्तिगत विवरण बुझाउनेमा प्रदेश अस्पताल भद्रपुरका डा.टंक बराकोटी, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.विकास देवकोटा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा.सुधा देवकोटा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.बासुदेव उपाध्याय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा र गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा.विनोदविन्दु शर्माले विवरण बुझाएका छन् ।

यस्तै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला, नारायण ढकाल, डा. सञ्जय ठाकुर, कान्ति बाल अस्पतालका डा.अजित रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा.विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी डा.मनिषा रावल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा.सरोज शर्मा, परोपकार प्रशूति अस्पतालका डा.आमिरबाबु श्रेष्ठले पनि व्यक्तिगत विवरण बुझाएका छन् ।

भेरी अस्पतालका डा.राजन पाण्डे, राष्ट्रिय ट्रमा सेन्टरका डा.रुद्र मरासिनी, भेरी अस्पतालका दुर्गालक्ष्मी श्रेष्ठ, कर्णाली प्रदेश अस्पतालका डा.केशरबहादुर ढकालले पनि बढुवाका लागि व्यक्तिगत विवरण बुझाएका छन् । निर्धारित समयमा विवरण बुझाउने २१ मध्ये बढुवा समितिले ४ जनाको नाम मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । बैठकले तीन जनामध्येबाट दुईलाई अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकन र अन्य ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम तथा शैक्षिक योग्यता र तालिमबापत कर्मचारीले प्राप्त गरेको अंकका आधारमा योग्यता क्रममा सबैभन्दा बढी अंक प्राप्त व्यक्तिलाई मन्त्रिपरिषद्ले १२ औं तहमा बढुवा गर्नेछ ।

१२औं तहको अतिरिक्त स्वास्थ्य सचिवमा बढुवामार्फत मात्र पदपूर्ति हुने व्यवस्था छ । ११औं तहमा कम्तीमा ५ वर्ष सेवा गरेका विशेषज्ञ १२औं तहमा बढुवाका लागि योग्य हुन्छन् । बढुवा कार्यक्षमता मूल्यांकनका आधारमा हुने व्यवस्था छ ।

कार्य सम्पादन मूल्यांकनको आधारमा बाह्रौं तहमा डा.टंकप्रसाद बाराकोटी र डा.विकास देवकोटा बढुवा हुने सम्भावना बढी छ । कार्य सम्पादन मूल्यांकनमा अरुभन्दा यी दुवै जनाको नम्बर बढी छ । डा.बाराकोटी यसअघि नै पहिलो नम्बरमा सिफारिस भएका थिए । तर, उनलाई रोकेर डा.संगीता कौशल मिश्राको बढुवा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *