दोलखामा राजनीतिक विकृति रोकेर लोकतान्त्रिक मान्यता स्थापित गर्न सफल भयौं : बालकृष्ण शिवाकोटी – Nepal Press

दोलखामा राजनीतिक विकृति रोकेर लोकतान्त्रिक मान्यता स्थापित गर्न सफल भयौं : बालकृष्ण शिवाकोटी

दोलखा । प्रतिनिधिसभा सदस्यमा पराजित एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले आफू पदमा भए पनि नभए पनि दोलखाको विकास र समृद्धिको सपना साकार पार्न लागिपर्ने बताएका छन् ।

माओवादीका गंगा कार्कीसँग पराजित शिवाकोटीले मतदातालाई धन्यवाद दिँदै जिल्लाबासीको विकास, समृद्धिको सपना पूरा गर्न खटिरहने प्रतिबद्धता जनाएका हुन् ।

विज्ञप्ति निकाल्दै शिवाकोटीले भने भने, ‘मेरो राजनीतिक सक्रियता आगामी दिनमा अझ बढी रहनेछ । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।’

राजनीतिक पार्टीहरूका लागि चुनाव आउने जाने स्वाभाविक प्रक्रिया भन्दै शिवाकोटीले चुनावमा सधैँभरि जित र सधैँ पराजय नहुने बताए ।

‘प्राविधिक रूपमा हारेता पनि हामी जनताको मनमस्तिष्कमा बस्न सफल भएका छौँ’, उनको भनाइ छ ।

दोलखामा राजनीतिक विकृतिलाई रोकेर शुद्धीकरणमार्फत लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न सफल भएको एमाले नेता शिवाकोटीले बताए ।

यहाँ मंसिर ४ गते दर्जनौं ठाउँमा सत्तागठबन्धनले बुथ कब्जा गरेको थियो । निर्वाचन आयोगले १० वटा केन्द्रमा १५ गते पुन: मतदान गराएको थियो ।

शिवाकोटीको विज्ञप्ति जस्ताको तस्तै :

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दोलखाबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की ज्यू प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोमा उहाँलाई मेरो हार्दिक बधाई छ ।

यस निर्वाचनमा म दोलखामा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकोमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । अनेक दुःख कष्ट सहेर निर्वाचन प्रचारप्रसारमा अहोरात्र खटेर सहयोग गर्नुहुने नेकपा (एमाले) का नेता तथा कार्यकर्ता र सञ्चारकर्मी साथीहरुप्रति म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु ।

लोकतन्त्रिक शासन पद्धतिका निम्ति निर्वाचन नियमित प्रक्रिया हो। राजनीतिक पार्टीहरूका लागि चुनाव आउँछ, जान्छ । संसदीय निर्वाचनमा हार जितलाई स्वभाविक रुपमा लिनुपर्छ । चुनावमा सधैँभरि जीत सधैँ पराजय हुनसक्दैन ।
प्राबिधिक रुपमा हारेतापनि हामी जनताको मनमस्तिष्कमा बस्न सफल भएका छौँ । चुनाव हारेतापनि अलिकति पनि म बिचलित नभई राजनीतिको लामो र निरन्तरको यात्रामा सक्रिय रहने छु । मेरो राजनीतिक सक्रियता आगामी दिनमा अझ बढी रहनेछ । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।

दोलखामा हामीले राजनीतिक विकृतिलाई रोकेर शुद्धीकरणमार्फत लोकतान्त्रिक मूल्य मान्यता स्थापित गरेका छौँ । यस प्रति म निरन्तर प्रतिबद्ध रहनेछु । म पदमा भए पनि नभए पनि जिल्लाबासीको विकास, समृद्धिको सपना पूरा गर्न खटिरहनेछु र म यहाँहरुकै साथमा रहनेछु ।

यस स्थितिमा पार्टीका आम कार्यकर्तालाई धैर्य, निष्ठा र भरोसाका साथ सक्रिय रहनसमेत हार्दिक आग्रह गर्दछु । धन्यवाद ।

बालकृष्ण शिवाकोटी
प्रतिनिधिसभा सदस्य उम्मेदवार
नेकपा एमाले दोलखा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *