लुम्बिनीबाट प्रतिनिधिसभामा १३ जनाको डेब्यू, १६ निवर्तमान सांसद पराजित – Nepal Press

लुम्बिनीबाट प्रतिनिधिसभामा १३ जनाको डेब्यू, १६ निवर्तमान सांसद पराजित

रुपन्देही । लुम्बिनी प्रदेशबाट यसपटक प्रतिनिधिसभामा १३ जना नयाँ अनुहार आएका छन् । २६ क्षेत्रमा उम्मेदवार बनेका २३ निवर्तमान सांसदमध्ये १६ जना पराजित भए । तीनमा ६ जना निवर्तमान सांसदबीच नै प्रतिस्पर्धा भएको थियो ।

निवर्तमान सांसदमध्ये विष्णु पौडेल रुपन्देही २, छविलाल विश्वकर्मा रुपन्देही १, गोकर्ण विष्ट गुल्मी २, टोपबहादुर रायमाझी अर्घाखाँची, मेटमणि चौधरी दाङ १, वर्षमान पुन रोल्पा, सन्जय गौतम बर्दिया १ गरी ७ जनामात्रै निर्वाचित भएका हुन् । यिनीहरुमध्ये छविलाल विश्वकर्माले रुपन्देही १ मा निवर्तमान सांसद घनश्याम भुसाल, गोकर्ण विष्टले गुल्मी २ मा निवर्तमान सांसद रामकुमारी झाँक्री र टोपबहादुर रायमाझीले अर्घाखाँचीमा निवर्तमान सांसद पुष्पा भुसाललाई पराजित गरे

कहाँ कहाँ आए नयाँ अनुहार ?

कपिलवस्तुको क्षेत्र नम्बर १ मा निवर्तमान सांसद तथा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल ‘बलदेव’ लाई पराजित गरी एमालेका बलराम अधिकारी निर्वाचित भए । क्षेत्र नम्बर २ मा ५६ देखि चारपटक लगातार चुनाव जित्दै आएका एमालेका नेता तथा निवर्तमान सांसद वृजेश गुप्तालाई पराजित गरी कांग्रेसका सुरेन्द्र आचार्य निर्वाचित भए । क्षेत्र नम्बर ३ मा कांग्रेस नेता तथा निवर्तमान सांसदका अभिषेकप्रताप साहको किल्ला भत्काउँदै एमालेका मंगलप्रसाद गुप्ता विजयी भए ।

पश्चिमनवलपरासीको क्षेत्र नम्बर १ मा ०४८ सालदेखि निर्वाचन लड्दै आएका निवर्तमान सांसद तथा जनता प्रगतिशीलका पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई हराउँदै कांग्रेस केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले पराजित गरेका छन् । क्षेत्र नम्बर २ मा पनि ०४८ सालदेखि निरन्तर उम्मेदार बनेका निवर्तमान सांसद देवेन्द्रराज कँडेललाई पराजित गर्दै राप्रपाका ध्रुवबहादुर प्रधान विजयी बनेका छन् ।

रूपन्देही- ५ मा ०५१ देखि चुनाव लड्दै आएका कांग्रेस नेता निवर्तमान सांसद भरतकुमार शाहलाई पराजित गरी एमालेका वासुदेव घिमिरेले चुनाव जितेका छन् । पाल्पाका २ मा २०५१ सालदेखि चुनाव जित्दै आएका नेकपा एसका नेता निवर्तमान सांसद सोमप्रसाद पाण्डे पराजित गर्दै ठाकुर गैरे निर्वाचित भए ।

पाल्पा-१ मा कांग्रेसका ज्ञानबहादुर गाहालाई पराजित गर्दै एमालेका नारायणप्रसाद आचार्य विजयी भएका छन् । बाँके क्षेत्र नम्बर १ बाट माओवादीका नेता एवं युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई पराजित गर्दै एमालेका सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का नेता तथा निवर्तमान सांसद मोहम्मद इस्तियाक राईलाई पराजित गर्दै राप्रपाका डा. धवल शमशेर राणा विजयी भएका छन् ।

बाँके ३ बाट कांग्रेसका किशोरसिंह राठोर निर्वाचित भएका छन् । राठोरले एमालेका किस्मतकुमार कक्षपतिलाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन् ।

प्युठानमा राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष तथा निवर्तमान सांसद दुर्गा पौडेललाई पराजित गर्दै एमालेकासूर्य थापा विजयी भएका छन् । बर्दिया-२ मा यो पटक स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् । माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्तलाई पराजित गरी स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका हुन् । उनी रेशम चौधरीका बुबा हुन् । रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले उनलाई समर्थन गरेको थियो ।

दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् । त्यस्तै रुकुम पूर्वमा एमालेका कैलाशकुमार मल्ललाई पराजित गरी माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् ।

निवर्तमान सांसद हराउनेहरू

नवलपरासी १ मा विनोद चौधरीले हराए हृदयेस त्रिपाठीलाई
नवलपरासी २ मा ध्रुवबहादुर प्रधानले हराए देवेन्द्रराज कंडेललाई
रुपन्देही ३ मा दीपक बोहराले हराए बालकृष्ण खाणलाई
रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्लले हराए प्रमोद यादवलाई
रुपन्देही ५ मा वासुदेव घिमिरेले हराए भरत शाहलाई
पाल्पा २ मा ठाकुर गैरेले हराए सोमप्रसाद पाण्डेलाई
गुल्मी १ मा चन्द्र भण्डारीले हराए प्रदीप ज्ञवालीलाई
कपिलवस्तु १ मा बलराम अधिकारीले हराए चन्द्रप्रकाश खनाललाई
कपिलवस्तु २ मा सुरेन्द्रराज आचार्यले हराए बृजेश गुप्तालाई
कपिलवस्तु ३ मा मंगल गुप्ताले हराए अभिषेकप्रताप शालाई
बाँके १ मा सूर्य ढकालले हराए महेश्वर गहतराजलाई
बाँके २ मा धवलशमशेर राणाले हराए इस्तियाक राईलाई
प्यूठानमा सूर्य थापाले हराए दुर्गा पौडेललाई

३ सांसदले हराए ३ सांसदलाई

रुपन्देही १ मा छविलालले हराए नि. सांसद घनश्याम भुसाललाई
अर्घाखाँचीमा टोपबहादुर रायमाझीले हराए नि. सांसद पुष्पा भुसाललाई
गुल्मी २ मा गोकर्ण विष्टले हराए नि. सांसद रामकुमारी झाँक्रीलाई

कुन सांसदले पाए निरन्तरता

विष्णु पौडेल रुपन्देही २
छविलाल विश्वकर्मा रुपन्देही १
गोकर्ण विष्ट गुल्मी २
टोपबहादुर रायमाझी अर्घाखाँची
मेटमणि चौधरी दाङ १
वर्षमान पुन रोल्पा
सन्जय गौतम बर्दिया १

नयाँले नयाँ कसलाई पराजित गरे

धनीराम चौधरीले सुरेश पन्त बर्दिया २
पूर्णबहादुर घर्तीले कैलाश मल्ल रुकुमपूर्व
नारायण आचार्यले ज्ञानबहादुर गाहा पाल्पा १
रेखा शर्माले शंकर पोखरेललाई दाङ २
दीपक गिरीले कोमल वलीलाई दाङ ३
किशोरसिंह राठोरले किस्मत कक्षपतिलाई बाँके ३

(तस्बिर- नयाँ अनुहारसहित निवर्तमान सांसदलाई पराजित गर्नेहरू)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर