प्रश्नहरूले पछ्याएको परिवर्तनका पक्षहरू – Nepal Press

प्रश्नहरूले पछ्याएको परिवर्तनका पक्षहरू

आदि कालदेखि नै अल्पसंख्यक शासक र शोषकको विरुद्ध बहुसंख्यक शासित र शोषित मानिसहरूले मुक्तिको लडाइँ र विद्रोह लड्दै आएका हुन् । त्यही लडाइँ र विद्रोह अझै पनि जारी छ । फरक यत्ति हो कि हरेक चरणका लडाइँहरू विभिन्न रूपहरूमा रूपान्तरित हुँदै आएका छन् । हाम्रो जीवन कालमा पनि फरक समयमा फरक किसिमका लडाइँ र विद्रोह गरेका छौं । लडाइँ जारी छ र अब हुने लडाइँ पनि फरक किसिमको हुँदै जानु स्वाभाविकै हो । सबै लडाइँ परिवर्तनका लागि नै हो ।

समाजशास्त्रले भन्छ, जबदेखि राज्यको जन्म भयो त्यहीबाट सत्ता, शासक र शासितमा मानिसहरूलाई विभाजन गरियो, त्यहीदेखि शोषण पनि सुरु भयो । राज्य सञ्चालन र जनताको सुरक्षाको लागि राज्यलाई सम्पन्न र बलियो बनाउने नाममा उत्पादन क्षेत्रका श्रमिक जनतामाथि आर्थिक र सामाजिक शोषणको पनि थालनी भएको मानिन्छ । जसले गर्दा काम नगर्ने मालिकहरू शासक र काम गर्ने श्रमिक जनता दासमा विभाजन गरियो ।

अर्थात राज्यको जन्मले मानिसले मानिसलाई दास बनायो । यो प्रथाको अवधिलाई समाजशास्त्रले दास युग भनेको छ । त्यसलाई टिकाउन विभिन्न शासन विधि र नीतिशास्त्र बनाइयो । ती नीतिशास्त्रहरूलाई आधार बनाएर शासक र मालिकहरूले दास तथा अरू श्रमिकहरूलाई शासकको दासत्व स्वीकार गराउँदै लगियो । संसारका सबै शासकहरूले यस विधिलाई दिगो बनाउन धर्मलाई आधार बनाएको पुष्टि हुन्छ । मालिकहरूको सेवा गर्ने दासहरू अर्काे जुनीमा मालिक भएर जन्म लिने भ्रमलाई संसारमै प्रत्येक समाजमा स्थापित गरियो । जसको कारण हजारौंहजार वर्षसम्म दास युग टिक्न सफल भयो । त्यसैको प्रभाव हो आज पनि हाम्रो समाजका अधिकांश मानिसहरू भगवानको दासी हुँ भन्न रुचाउँछन् । अनि, राज्य शासन चलाउने नेताहरू पनि अधिकांशले आफूलाई शासक हुँ भन्ने ठानिरहेका हुन्छन् ।

नागरिक स्वतन्त्रताको विपरीतार्थ दासता नै हो । हजारौं वर्षदेखिको शासन श्रृङ्खलाको मनोवैज्ञानिक प्रभावका कारण अहिले पनि अधिकांश देशका सरकारहरू जनप्रतिनिधिको नाममा नागरिकहरूलाई घुमाइफिराइ दासको रूपमा राख्ने प्रयास गरिरहेको पाइन्छ । लोकतान्त्रिक नीतिबाट नचलेको शासन सत्तामा नागरिक स्वतन्त्रता गौण हुन्छ । सुशासन अपनाउन नचाहने नेतृत्वको मनोविज्ञान शासक हुन्छ । जसले मानसिक रूपमा आफूलाई नागरिकको मालिक हुँ भन्ने ठानेका हुन्छन् । त्यस्ता नेतृत्व प्रवृत्तिका नेताहरूले आफ्ना राजनीतिक संगठनहरूमा पनि यही प्रभाव पार्न चाहिरहेका हुन्छन् । यो परिवेशमा यति वेला हामी चाहिँ कहाँ छौं ?

ईश्वरले कसैलाई शासक वा मालिक र कसैलाई शासित वा दास बनाएको होइन यो त शासन गर्ने षड्यन्त्र हो भन्ने चेतनाको विकास हुन थाल्यो । जसको कारण जमिन मालिक र कारखाना मालिकको दासताबाट मुक्त हुन श्रमजीवी जनताबाट विद्रोहको संस्थागत विकास भयो ।

अपवादबाहेक संसारमा शासक मनोविज्ञानका नेताहरूले आफू पनि ईश्वरको इच्छा र अनुकम्पाले चलेको बताउँदै आएका हुन्छन् । अवतार त्यसको रहस्य रहेको मान्न लगाइएको पाइन्छ । सत्ता स्वार्थको लागि ईश्वरप्रतिको भक्ति एकाधबाहेक अधिकांश मानिसमा दसौं हजार वर्षसम्म स्थापित गराउन शासकहरू सफल भएका हुन् । भू-दासहरूले हजारौं वर्ष संसारमा धेरै संघर्ष गरे । सबैभन्दा ठूलो दास विद्रोह रोमको स्पार्टाकसको विद्रोहलाई मानिन्छ ।

संसारभरि भएको विद्रोहको प्रभावका कारण सामन्तवादको उदय भयो । सामन्तवाद पनि शोषणमै अडिएको हुनाले जनताको संघर्ष सामन्तहरूको विरुद्धमा रूपान्तरण हुनु स्वाभाविकै थियो । समाज विकासको गतिमा औद्योगिक विकासले मजदुर वर्गको संख्यामा वृद्धि हुन थाल्यो । उत्पादनको सम्बन्ध जमिनबाट उद्योगमा बढी हुन थाल्यो । जसले गर्दा वर्गीय संघर्ष पूँजीपति र मजदुरबीचमा रूपान्तरित हुन पुग्यो ।

जे होस्, सबै श्रृंखलाका विद्रोह वा निरन्तर संघर्षहरू पनि ईश्वरको भरोसामा गरिएको हुँदा १६औं शताब्दीपछि आएको औद्योगिक विकासले सचेत श्रमिकहरूको पनि विकास हुन थाल्यो । जसको कारण ईश्वरीय भरोसाको सोचमा पनि परिवर्तन आयो । ईश्वरले कसैलाई शासक वा मालिक र कसैलाई शासित वा दास बनाएको होइन यो त शासन गर्ने षड्यन्त्र हो भन्ने चेतनाको विकास हुन थाल्यो । जसको कारण जमिन मालिक र कारखाना मालिकको दासताबाट मुक्त हुन श्रमजीवी जनताबाट विद्रोहको संस्थागत विकास भयो ।

यसको सुरुवात फ्रान्सेली राज्य क्रान्तिबाट भएको मानिन्छ । यो सन्दर्भ बेलायती विद्वान जर्ज बनार्ड शाले भनेका कुरा सान्दर्भिक हुन्छ । उनका अनुसार राज्यको उत्पत्तिदेखि नै राज्यहरूका सरकारहरूले नागरिकहरूमाथि दासता थुपार्दै आएका छन् । त्यसलाई उहिल्यैदेखि नागरिकको स्वतन्त्रता भन्दै पनि आएका छन् । तर, सरकारले सबै युगका मालिक(दास मालिक, भूमि मालिक, कारखाना मालिक) हरूको लालचलाई इन्कार गर्न सक्दैन । तैपनि सीमित सीमाभित्र राख्न चाहेको देखाउँछन् ।

दासहरूले मालिकका विरुद्ध, गरिब किसान र भू-दासहरूले सामन्त जमिनदारको विरुद्ध, मजदुरले पूँजीपतिहरूको आर्थिक तथा सामाजिक शोषणविरुद्ध संघर्षमा मानिसहरू हजारौं वर्षदेखि ज्यानको बाजी लगाएर होमिँदै आएका छन् । सामाजिक आर्थिक मुक्तिका लागि अहिलेसम्मका हजारौं संघर्षहरूमा लाखौंलाखको संख्यामा क्रान्तिकारीहरूले बलिदान दिए । फेरि पनि आजसम्म उही आर्थिक सामाजिक शोषण र विभेदकै विरुद्धमा संघर्ष जारी छ । फरक यति हो कि उत्पादनको साधन र सम्बन्धमा परिवर्तन हुँदै आएको हुँदा श्रम र संघर्षको रूपमा पनि फरक हुँदै आएको हो ।

अहिले पनि उत्कृष्ट लोकतन्त्रको नाममा शासक बन्ने प्रयास भइरहेका पाइन्छन् । जुन हामीले पनि भोगिरहेका छौं । थाहा यही छ कि हामी अधिकांश श्रमजीवी जनता कुनै न कुनै रूपले दासताको दुष्चक्रमा परिरहेका छौं । शासकहरूले हामीमाथि आर्थिक शोषण पालैपालो गरिरहेका छन् ।

१६औं शताब्दीदेखि श्रमिकहरूको मुक्तिको आन्दोलनको मुख्य आधार लोकतन्त्रलाई लिइएको थियो । त्यसयताका शासकहरूले आफ्नो शासन व्यवस्थालाई लोकतन्त्रको नाममा सञ्चालन गर्दै आए । १८औं शताब्दीपछिबाट मजदुरहरूकै अग्रसरतामा समाजवादी शासन भनी संसारका केही देशहरूमा चलाइयो । तर, त्यो पनि लामो समय टिकेन । अहिले पनि उत्कृष्ट लोकतन्त्रको नाममा शासक बन्ने प्रयास भइरहेका पाइन्छन् । जुन हामीले पनि भोगिरहेका छौं । थाहा यही छ कि हामी अधिकांश श्रमजीवी जनता कुनै न कुनै रूपले दासताको दुष्चक्रमा परिरहेका छौं । शासकहरूले हामीमाथि आर्थिक शोषण पालैपालो गरिरहेका छन् । लोकतन्त्रको भ्रममार्फत आज पनि सुशासन अभाव देखिनु हामीमाथि लादिएको दासताको नयाँ रूप हो भने कर छली र राष्ट्र कोषमाथिको चरम भ्रष्टाचार हामीमाथिको चरम आर्थिक शोषण हो । किनकि राज्यको सम्पूर्ण कोष हाम्रा पसिनाले बनेको हुन्छ ।

विद्रोह शोषणले जन्माउने हो । मानव शास्त्रीय इतिहासबाट यही थाहा हुन्छ । यसको अर्थ शोषणको रूपान्तरणले संघर्षलाई पनि रूपान्तरण गराएको हुन्छ । १८औं शताब्दी पछिबाट युरोपमा बढेको औद्योगिक विकासले औद्योगिक देशहरू धेरै शक्तिशाली बने र अरू देशमा आफ्ना उत्पादन बेच्न कमजोर राष्ट्रहरूलाई उपनिवेश बनाउने होडबाजी चल्यो । स्वतन्त्र राष्ट्रका जनता देशभित्रको शोषणबाट मात्र नभई विदेशका पूँजीवादी शासकहरूबाट समेत शोषणमा पर्न थाले । १८ शताब्दीको अन्ततिर संसारका अधिकांश औद्योगिक विकास भएका देशहरूमा पूँजीपतिहरूको सरकार बन्दै गयो । उसै पनि जनताले आदिकालदेखि संघर्ष गर्दै १८औं शताब्दीसम्ममा पुग्दा सामन्तवादी शोषणको प्रायः अन्त्य त गरे ।

तर, आफू मुक्त हुन नसकिरहेको अवस्थामा फेरि साम्राज्यवादीहरूको समेत थप शोषण खेप्न पर्‍यो । पूँजीवादी देशका उपनिवेशमा परेका अधिकांश देशका शासकका खलकहरू नै साम्राज्यवादीका कठपुतली सरकारमा रूपान्तरित भए । जसको कारण जनताले नयाँ शक्तिको विकास गरेर आ–आफ्ना देशलाई साम्राज्यबाट मुक्त त गराए । तर, ती अधिकांश देशका जनता फेरि पनि आजसम्म सामाजिक आर्थिक न्यायबाट वञ्चित हुन पुगेका छन् । किन यस्तो भएको छ ? यसका धेरै कारणहरू होलान् । तर, सार पक्षबाट बुझ्दा उत्पादनका चरित्रमा परिवर्तन नभएको हुँदा शासन र शोषणका पुराना अवशेषहरू नयाँ किसिमका शोषण स्वरूपमा रूपान्तरण भएकाले नै हो ।

सामन्ती शोषणबाट मुक्त भएका जनता देशी र विदेशी पूँजीपतिहरूको शोषणको जालभित्र पुनः फसे । क्रमशः ठूला सामन्तहरू उद्योगपतिमा र किसान, हली, खेताला, गोठाला आदि मजदुरमा रूपान्तरण भए । दास युगको प्रायः अन्त्य भए पनि सामन्तवादी शासकहरूले जनतामाथि शोषण गर्न बनाएको धार्मिक शास्त्रीय नीतिहरूका माध्यहरूलाई पूँजीपतिहरूले पनि निरन्तर अपनाए एकातिर भने अर्कोतिर पूँजीपतिहरूले राज्यको नीति बनाएर नै संगठित र औपचारिक रूपमा मजदुरहरूमाथि गरिने शोषणलाई निरन्तरता दिए । हामी अहिलेसम्म पनि प्रत्यक्ष वा परोक्ष रूपमा त्यसैको शिकार भइरहेका छौं । कहाँ र कसरी कुन कुन ठाउँबाट भएका छौं त ? कसरी खोजी गर्ने ?

आजसम्म पनि संसारका श्रमजीवी जनता आर्थिक र सामाजिक न्यायका लागि लडिरहेका छन् । उत्पादनको साधन र उत्पादकको चरित्रमा आएको परिवर्तनसँगै श्रम नीतिमा ल्याइएका हरेक नयाँ परिवर्तनहरूमा शोषण गर्ने रूपको पनि परिवर्तन गरिँदै आएको र त्यसलाई यतिवेला अन्तर्राष्ट्रिय सञ्जालसमेत बनाइएको छ ।

आजसम्म पनि संसारका श्रमजीवी जनता आर्थिक र सामाजिक न्यायका लागि लडिरहेका छन् । उत्पादनको साधन र उत्पादकको चरित्रमा आएको परिवर्तनसँगै श्रम नीतिमा ल्याइएका हरेक नयाँ परिवर्तनहरूमा शोषण गर्ने रूपको पनि परिवर्तन गरिँदै आएको र त्यसलाई यतिवेला अन्तर्राष्ट्रिय सञ्जालसमेत बनाइएको छ । आज खाडी मुलुकहरूमा काम गर्न जाने मजदुरहरूले यसको राम्रो अनुभव गरेका हुन्छन् । नेपालको सन्दर्भमा त नयाँ र परम्परागत शोषण चरित्र दुबै किसिमको छ । पुराना शोषण चरित्र अनौपचारिक श्रम क्षेत्रमा व्यापक छ र औपचारिक श्रम क्षेत्रमा समेत बाधा मजदुरका रूपमा काम गरिरहेका लाखौंको संख्यामा मजदुरहरू छन् । विगतको तुलनामा केही सामाजिक सुरक्षामा सुधार भए पनि राज्यले यसमा पूर्ण जवाफदेही भएर प्रभावकारी काम गर्न पटक्कै सकेको छैन ।

नेपालमा राजतन्त्र समाप्तिसँगै सामन्तवादको अन्त्य हुन्छ र पुराना शोषण सम्बन्ध र चरित्रको पनि अन्त्य हुने निकै ठूलो राजनीतिक भ्रम थियो । राजतन्त्र गयो । तर, सामन्तवादी शोषण र त्यसलाई टिकाउने सांस्कृतिक मान्यताहरू भने जस्ताको तस्तै रह्यो । किनकि नेपालमा पनि अरू मुलुकमा जस्तै सामन्तवादीहरू नै क्रमशः पूँजीवादीमा रूपान्तरण भएको हुनाले यस्तो भएको हो भन्न सकिन्छ । ती शोषण चरित्रका पूँजीपतिहरू देश र श्रमिक जनताको शोषण गरेर द्रुत गतिमा धनी हुन चाहन्छन् । यो परिवेशमा हाम्रो गरिबी र निरीह मनोदशा कहिलेसम्म साँचेर राख्ने ? अनौपचारिक क्षेत्रका श्रमिकहरूले सामाजिक र आर्थिक न्याय कसरी पाउने ? हामीलाई यी सवालहरूले सधैं पछ्याइरहन किन सकेको छैन ?

शक्ति दृश्य र अदृश्य दुवै हुन्छन् । अदृश्य शक्ति समाजभित्र जीवित र सुषुप्त रूपमा शक्तिशाली भएर रहेको हुन्छ । हाम्रो समाजमा पनि छ । असंगठित र अनौपचारिक श्रम क्षेत्रमा सामन्तवादी मनोदशा पूँजीपतिहरूमा पनि यसैगरी सुषुप्त रूपमा रहेको छ र कृषि तथा अन्य औद्योगिक क्षेत्रका श्रमिकहरूमा पनि त्यसका मान्यताहरूले प्रभाव पारिरहेको छ । यसको अन्त गर्न श्रमिकहरू संगठित हुनुपर्छ भने जनप्रतिनिधि भनिएका सत्ता र राज्यका अङ्गहरूले सम्मानित श्रम र बहुआयामिक पूँजीको विकास गर्ने नीति ल्याएर प्रभावकारी ढङ्गले लागू गर्न आवश्यक छ । तर, त्यो किन प्रभावकारी भएको छैन ? किनकि राज्यको जनप्रतिनिधिमूलक सबै तहका सरकारका प्रतिनिधिहरू सङ्क्रमित मनोदशाबाट ग्रस्त छन् ।

उनीहरूमध्ये अधिकांश सामन्तवादी संस्कृतिभित्र हुर्किएका छन्, सीट (पद) सुरक्षित राख्न खराब पूँजीवादीहरू (ठूला बिचौलिया र माफियाहरू) र जनता दुवैतिर समानान्तर सम्बन्ध राख्न परेको हुन्छ । जस्तैः चुनाव जित्न जनआधार पनि चाहिएको छ । अनि चुनावको लागि करोडौंको धनराशि पनि चाहिएको छ, छिटो धनी हुन मिलेसम्म राज्यको कोषमा दोहन गर्न पनि परेको छ । असंगठित श्रम क्षेत्र जति समयसम्म रहन्छ, त्यति नै राज्यको कोषमा दोहन भइरहन्छ, श्रमशोषण रहिरहन्छ र त्यसलाई टिकाउने उनीहरूका जनप्रतिनिधिहरूलाई संरक्षण पनि तिनीहरूले नै गरिरहेका हुन्छन् । यसको जरोसम्म पुगेर कसरी अध्ययन गर्ने र अन्त्य गर्ने हाम्रो योजना र क्षमता कस्तो हुनुपर्छ ?

विनाशोषण संसारमै न सामन्तवाद टिक्यो न पूँजीवाद नै टिक्नेवाला छ । तैपनि हामीले पहिला धेरै शोषणकारी चरित्रको सामन्तवादका सम्पूर्ण सम्बन्धहरूलाई अन्त्य गर्नुपर्नेछ । यो आफैं अन्त्य हुँदैन । पूँजीको विकासले मात्रै पनि सम्भव हुँदैन ।

विनाशोषण संसारमै न सामन्तवाद टिक्यो न पूँजीवाद नै टिक्नेवाला छ । तैपनि हामीले पहिला धेरै शोषणकारी चरित्रको सामन्तवादका सम्पूर्ण सम्बन्धहरूलाई अन्त्य गर्नुपर्नेछ । यो आफैं अन्त्य हुँदैन । पूँजीको विकासले मात्रै पनि सम्भव हुँदैन । किनकि हाम्रो देशका अधिकांश पूँजीवादी प्रतिनिधिहरू सामन्तवादी संस्कारले प्रभावित छन् र अरू धेरै क्षेत्रका श्रम क्षेत्रमा पनि यसको प्रभाव राम्रै छ । यो हाम्रो लागि मुख्य चुनौती हो । हाम्रा अधिकांश जनप्रतिनिधिहरू यो चुनौतीको प्रत्यक्ष रूपमा शोषित जनताकै प्रतिनिधि भएर सामना गर्ने पक्षमा देखिँदैनन् ।

किनकि उनीहरू अधिकांश राष्ट्रिय र अन्तर्राष्ट्रिय पूँजीपतिहरूको सञ्जालबाट पनि नियन्त्रित छन् । त्यसलाई ध्यानमा राखेर हामी के गर्न सक्छौं ? किनकि वास्तवमा यो समस्या देशको र हाम्रोमात्रै हो । हो, सामन्तवाद रातारातको क्रान्तिले समाप्त हुँदैन । यो क्रमशः साँघुरोबाट फराकिलो हुँदै तलबाट माथि जाने हो । त्यसैले नयाँ शिराबाट यस कामको थालनी गर्नपर्ने देखिन्छ । श्रम क्षेत्रबाट नै पुरानालाई विस्थापित गर्न सक्ने नयाँ नेतृत्वको विकास गर्न आवश्यक देखिन्छ । तर, कसरी गर्ने ? चुनौतीहरूको थुप्रोमा हामी छौं ।

हाम्रो देशको सन्दर्भमा त सामाजिक आर्थिक परिवर्तन गर्न हामीले धेरै संघर्ष गर्न बाँकी देखिन्छ र त्यसको लागि पहिला राजनीतिक सहभागिता र चरित्रमा परिवर्तन गर्नुपर्ने देखिन्छ । अनि, हामीले गर्ने परिवर्तनलाई मानवीय संसाधन विकाससँग जोडेर नै गर्नुपर्ने हुनाले हाम्रो क्षमता पुराना शक्ति (नेतृत्व)को भन्दा अब्बल हुन आवश्यक छ । त्यसैले फेरि पनि त्यही सवाल आउँछ कि त्यो कसरी सम्भव छ ? त्यसकारण हामीले चाहेको परिवर्तन सहज छैन । तर, गर्नै पर्नेछ । जनताको प्रतिनिधि भनिएका राज्य सञ्चालकहरूले बनाएका अहिलेका नीति तथा कार्यक्रमहरूले आर्थिक न्याय र सामाजिक सुरक्षामा प्रभावकारी टेवा दिनेवाला छैन । त्यसका धेरै उदाहरणहरू छन् । जसमध्ये एउटा मुख्य उदाहरण हेर्नुस्, राष्ट्रिय योजना आयोगको पञ्चवर्षीय योजना । कर्मकाण्डी सोचभन्दा माथि छैन । यस्तो अवस्था हुनुमा राज्य सञ्चालनमा उही खराब पूँजीवादीहरूको राम्रो प्रभाव हुनु हो र पूँजीवादीहरूको अन्तर्राष्ट्रिय सञ्जालको पनि राम्रै प्रभाव देखिन्छ ।

द्वन्द्वको नियममा एउटाको शक्ति कमजोर नभई अर्काे पक्ष बलियो हुन सक्दैन । त्यसकारण अहिलेको परिवर्तनकारी वैकल्पिक शक्ति भोलिको पहिलो र बलियो शक्ति भएमात्रै अहिलेको शोषणकारी सञ्जाल कमजोर हुन्छ । यसको पहिलो खुड्किलो भनेको व्यापक जनदबाब र जनपैरवी हो । त्यसको लागि दीर्घकालीन वैचारिक दिशासहितको सूचीबद्ध रणनीतिक योजना कसरी बनाउने ? हाम्रा अग्रजहरूले व्यवस्था बदले अब देशको अवस्था बदल्न चाहने श्रम क्षेत्रका मानिसले मात्रै हो । किनकि पूँजीवादी घरानियाँ र तिनका सञ्जाल सदस्य नेतृत्वले यो काम गर्न सक्दैन र गर्दैनन् । यसका लागि परिवर्तन पक्षीय विचारहरूको सङ्कलन, संयोजन र त्यसको दीर्घकालीन लक्ष्यसहित सैद्धान्तिक दिशा निर्धारण गर्न अग्रसर शक्ति तयार पार्न सहज छैन । तर, जरुरी छ । समय आइसकेको छ ।


प्रतिक्रिया

One thought on “प्रश्नहरूले पछ्याएको परिवर्तनका पक्षहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *