अवैध पोस्ता दानाको आयात खुलाउन चलखेल, ४ करोड डलर बाहिरिने – Nepal Press

अवैध पोस्ता दानाको आयात खुलाउन चलखेल, ४ करोड डलर बाहिरिने

सुपारीको कोटा पनि हट्दै

काठमाडौं । सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै विभिन्न वस्तुको आयातमा बन्देज लगाएको छ । तर, आर्थिक चलखेलमा देशभित्र प्रयोग नै नहुने पोस्ता दानाको कोटा खुलाउने तयारी गरिएको छ ।

पोस्ता दानाको आयात खुलाउन उद्योगमन्त्री दिलेन्द्र बडु, वाणिज्य सचिव तोयम राय तथा वाणिज्य विभागका महानिर्देशक महेश भट्टराई लागिपरेको स्रोतले बतायो । प्रधानमन्त्री पत्नी आरज राणाको निर्देशनमा पोस्ता दाना आयातको कोटा र सुपारीको कोटा हटाएर चाहिए जति ल्याउने व्यवस्था मिलाउन उद्योगमन्त्री भिडेका हुन् ।

सुपारीको कोटा सिस्टम हटाउन पहिलेदेखि नै बिचौलियाले बालुवाटारदेखि उद्योग मन्त्रीसम्मलाई दबाब दिँदै आएका थिए । तेस्रो देशबाट नेपालमा सुपारी आयात गरी भारतीय व्यापारीसँग मिलेर भारतमा नै निर्यात हुने गरेको छ । नेपालबाट सामान निर्यात गर्दा भन्सार नलाग्ने भएकाले नेपालको बाटो भएर भारत सुपारी लैजान सस्तो हुन्छ । सुपारीमा राम्रो कमिसन आउने भएकाले व्यापारी, बिचौलिया, मन्त्रीदेखि बालुवाटारसमेतले चासो दिने गरेका छन् ।

अहिले नेपालमा औद्योगिक प्रयोजन खुलाएर मात्रै सुपारी आयात गर्न पाइने व्यवस्था रहेको छ । कोटा प्रणाली हट्नासाथ तेस्रो देशबाट सुपारी आयात भएर भारत निर्यात हुनेछ ।

उद्योग मन्त्रालय स्रोतका अनुसार सरकारले १० हजार मेट्रिक टन पोस्ता दाना आयात खुल्ला गर्न गृहकार्य गरिरहेको छ ।

स्रोतले भन्यो, ‘अब नयाँ सरकार बन्नुभन्दा पहिले नै पोस्ता दानाको कोटा खोल्ने र सुपारीको कोटा सिस्टम हटाउने तयारी भइरहेको छ । अब केही दिनमा नै पोस्ता दानाको आयातका लागि कोटा सिस्टम लागू हुन्छ होला ।’

सरकारले आयात खुलाउन लागेको १० हजार मेट्रिक टन पोस्ता दानाको मूल्य ४ करोड अमेरिकी डलर (प्रति मेट्रिक टन ४ हजार डलर) पर्छ । यति ठूलो विदेशी मुद्रा नेपालबाट बाहिरिँदा आयातमूखी अर्थतन्त्रमा थप चाप पर्ने निश्चित छ ।

मिठाईमा कच्चा पदार्थको रूपमा प्रयोग गर्ने भनेर विदेशबाट ल्याइए पनि भारतमा तस्करी हुने गरेको मन्त्रालय स्रोत बताउँछ । तस्करी भएर भारत गएको पोस्ता दानाको पैसा पनि बैंकिङ प्रणालीमा पनि आउँदैन । राजस्व अनुसन्धानले पोस्ता दानालाई लागूऔषध भन्दै सरकारलाई केही समयअघि पत्रसमेत पठाएको थियो ।

नेपालमा अहिले १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ विदेशी मुद्रा संचिती रहको छ । यो रकम करिब ८ महिनाका लागि मात्रै बस्तु आयात गर्ने पुग्ने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

वाणिज्य सचिव तोयम रायलाई पोस्ता दानाको कोटा खुलाउने र सुपारीको कोटा सिस्टम हटाउन लागेको हो भनेर नेपा प्रेसले प्रश्न गर्दा उनले अहिले त्यस्तो केही नभएको दाबी गरे ।

उनले थपे, ‘प्रतिबन्ध भएका बाहेकको वस्तु र स्वास्थ्यमा असर गर्ने बाहेकका वस्तुको आयात खुलाउँदा केही फरक पर्दैन ।’

वाणिज्य विभागका महानिर्देशक महेश भट्टराईले भने अहिलेसम्म आफूले पनि हल्ला मात्रै सुनेको बताए ।

उनले भने, ‘हामीले कुनै पनि वस्तुको कोटा खोल्ने वा आयात प्रतिबन्ध लगाउने होइन । मन्त्रालय वा मन्त्रिपरिषद्बाट निर्णय भएर आएमा काम सुरु गर्ने हो । तर, पोस्ता दानाको कोटा खुलेको अवस्थामा विभागले प्रष्टरुपमा निर्देशिका बनाएर नै काम गर्ने छ ।’


प्रतिक्रिया

One thought on “अवैध पोस्ता दानाको आयात खुलाउन चलखेल, ४ करोड डलर बाहिरिने

  1. यो ठगबन्धन भनेको कमिशन पाए देशै पनि बेच्न तयार हुने दलालहरूको झुण्ड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *