विश्वकप इतिहासमा ३० पेनाल्टी सुटआउट, कतारमा ‘एक्स्ट्रा टाइम’ पनि चाहिएको छैन – Nepal Press

 विश्वकप इतिहासमा ३० पेनाल्टी सुटआउट, कतारमा ‘एक्स्ट्रा टाइम’ पनि चाहिएको छैन

दोहा। नकआउट चरणको रोमान्चकता भनेको निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिए अतिरिक्त समयबापत ३० मिनेट थपिने र त्यसमा पनि बराबरी भए टाइब्रेकरका रुपमा पेनाल्टी सुटआउट हुने हुन्छ।

तर कतारमा जारी २२ विश्वकप फुटबलमा नकआउट चरणका चार खेलहरु सकिएका छन् तर सबै खेलको नतिजा निर्धारित ९० मिनेटमै आएको छ। कुनैपनि खेल अतिरिक्त समयसम्म पनि पुगेको छैन।

विश्वकप फुटबलमा सन् १९८२ देखि मात्र टाइब्रेकरको नियम लागु भएको हो। त्यसयता विश्वकपका ३० खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको छ। सन् १९९४ को विश्वकप र २००६ को विश्वकपको फाइनल टाइब्रेकरसम्म पुगेको थियो।

सन् १९९४ को विश्वकपमा इटालीलाई टाइब्रेकरमा हराएर ब्राजिल चौथोपटक विश्व विजेता बनेको थियो। २००६ को विश्वकपमा फ्रान्सलाई टाइब्रेकरमै हराएर इटाली पनि चौथोपटक विश्व विजेता बनेको थियो। विश्वकपमा पेनाल्टी सुटआउट पहिलोपटक प्रयोग भएको सन् १९८२ को संस्करण हो।

त्यतिबेला सेमिफाइनलमा पश्चिम जर्मनीले निर्धारित र अतिरिक्त समयको खेल  ३-३ गोलको बराबरीमा सकिएपछि फ्रान्सलाई टाइब्रेकरका रुपमा लिइएको पेनाल्टी सुटआउटमा हराएको थियो। विश्वकप इतिहासमा सबैभन्दा बढी पेनाल्टी सुटआउट खेल्ने टोलीका रुपमा अर्जेन्टिना रहेको छ। अर्जेन्टिनाले हालसम्म ५ पटक टाइब्रेकर खेलेको छ जसमा एउटा मात्र हारेको छ।

सन् २००६ को विश्वकपमा जर्मनीले क्वाटरफाइनलमा अर्जेन्टिनालाई टाइब्रेकरमा हराएको थियो। जर्मनीले विश्वकप इतिहासमा एकपटक पनि पेनाल्टी सुटआउट हारेको छैन। जर्मनीले सबै ४ पेनाल्टी सुटआउट जितेको छ। यीबाहेक एकभन्दा बढि पेनाल्टी सुटआउट खेल्ने क्रोएसिया मात्र हो। उसले पनि दुईपटक पेनाल्टी सुटआउट खेलेकामा दुवैमा जित हात पारेको छ। इङ्ल्यान्ड र स्पेनले हलासम्म खेलेका समान ४ पेनाल्टी सुटआउटमध्ये ३ वटामा हार ब्यहोरेका छन्।

पोर्चुगलका रिकार्डो र क्रोएसियाका ड्यानियल सुबासिच विश्वकपको एउटै पेनाल्टी सुटआउटमा सबैभन्दा बढी ‘सेभ’ गर्ने गोलरक्षक हुन्। रिकार्डोले सन् २००६ मा इङ्ल्यान्डविरुद्ध ३ र सुबासिचले सन् २०१८ मा डेनमार्कविरुद्ध ३ वटा पेनाल्टी विफल बनाएका थिए।

सुबासिचले त्यसै विश्वकपको क्वाटरफाइनलमा पनि एउटा पेनाल्टी रोक्दै एकै विश्वकपमा सर्वाधिक पेनाल्टी रोक्ने कीर्तिमान बराबरी गरेका थिए। य्रकेनका अलेक्जान्डर सोभकोभ्स्की विश्वकपको कुनै एक पेनाल्टी सुटआउटमा एउटै पनि गोल नब्यहोर्ने गोलरक्षक हुन्। सन् २००६ को विश्वकपमा स्वीट्जरल्यान्डका दुईवटा प्रहार उनले रोकेका थिए भने एउटा प्रहार बारमा लागेपछि युक्रेन ३-० ले विजयी भएर क्वाटरफाइनल  पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *