अनलक्की यी १७ नेता : जो ५०० भन्दा कम मतले चुनाव हारे – Nepal Press

अनलक्की यी १७ नेता : जो ५०० भन्दा कम मतले चुनाव हारे

कैलाली । प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । तीमध्ये केही उम्मेदवारहरू झिनो मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनबाट चुकेका छन् ।

मोरङ १

मोरङ क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार घनश्याम खतिवडा ४३० मतले पराजित भए । यहाँ नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बू विजयी भए । लिम्बूले २७ हजार २ सय ९७ मत पाउँदा खतिवडा २६ हजार ८ सय ६७ मा रोकिए ।

सुनसरी ४

रोमाञ्चक प्रतिस्पर्धा भएको सुनसरी ४ नेपाली कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री कार्कीले ११२ मतले चुनाव जिते । यहाँ एमालेका जगदीशप्रसाद कुसियैत पराजित भए ।
कार्कीले ३० हजार ४८३ मत ल्याए भने कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।

धनुषा २

धनुषा क्षेत्र नम्बर २ एमालेका उमाशंकर अरगरिया डेढ सय मतले पराजित भए । नेपाली कांग्रेसका रामकृष्ण यादव २० हजार १ सय १२ मत पाएर विजयी हुँदा अरगरियाले १९ हजार ९ सय ५५ मत पाएका थिए । उनीहरूको मतान्तर १५७ छ ।

दोलखा

दोलखामा माओवादीका उम्मेदवार गंगा कार्कीसँग एमालेका बालकृष्ण शिवाकोटी ३१८ मतले पराजित भए । कार्कीले ३६ हजार ८ सय ९६ मत प्राप्त गर्दा शिवाकोटी ३६ हजार चार सय ७८ मतमा रोकिए ।

मनाङ

मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुँदा एमालेका पाल्देन छेवाङ गुरुङ ३२८ मतले पराजित भए । गुरुङले २ हजार ५७५ मत पाएर विजयी भए । प्रतिस्पर्धी पाल्देनले २ हजार २ सय ४७ मत प्राप्त गरे ।

कपिलवस्तु २

कपिलवस्तु २ मा पनि झिनो मतान्तरले हारजित भयो । यहाँ कांग्रेसका सुरेन्द्रराज आचार्यसँग एमालेका वृजेशकुमार गुप्ताले ३१७ मतले पराजित भए । आचार्यले ३९ हजार १४ मत पाउँदा गुप्ताले ३८ हजार ६९७ मत पाएका थिए । गुप्ता अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए ।

दाङ २

दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेल पनि झिनो मतले पराजित भए । सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्मासँग महासचिव पोखरेलको मतान्तर १९६ रह्यो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोख्रेलले २६ हजार ६ सय ८१ मत ल्याए ।

दैलेख २

दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाही निर्वाचित भए । शाहीसँग एमालेकी लक्ष्मी पोखरेल १५३ मतान्तरले पराजित भइन् । शाहीले २० हजार १५८ मत प्राप्त गर्दा पोखरेलले २० हजार ५ मत प्राप्त गरे ।

पाँचथर

पाँचथरमा एमालेका वसन्त नेम्बाङसँग नेपाली कांग्रेसका सह महामन्त्री भीष्मराज आङदेम्बे ४७ मतान्तरले पराजित भए । यहाँ नेम्बाङले ३२ हजार ११० मत र आङदेम्बेले ३२ हजार ६३ मत प्राप्त गरेका छन् ।

नेम्बाङ पाँचथरबाट २०४८, २०५६ र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । नेम्बाङ २०७४ सालमा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए ।

ताप्लेजुङ

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराईसँग माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री २०८ मतले पराजित भए र भट्टराईले २१ हजार ९४३ मत पाएर विजयी हुँदा बुढाक्षेत्रीले २१ हजार ७३५मत पाएका थिए ।

काठमाडौं १

काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र १३२ मतले पराजित भए । सिंहले ७१४३ मत पाउँदा मिश्रले ७०११ मत पाएका थिए ।

यसअघि २०७४ को चुनावमा पनि प्रकाशमान र रवीन्द्र मिश्रबिच प्रतिस्पर्धा भएको थियो । त्यति बेला मिश्र ८१९ मतले पराजित भएका थिए ।

बर्दिया २

बर्दिया क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीसँग माओवादी केन्द्रका सुरेश पन्थ १ सय ३६ मतले पराजित भए । लालवीर २६ हजार ५२० मत ल्याएर निर्वाचित हुँदा पन्थले २६ हजार ३८४ मत पाए ।

यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा अदालतले दोषी ठहरर्‍याएपछि कारागारमा रहेका पूर्व सांसद रेसम चौधरीलाई उम्मेदवार बनाएको थियो । तर उनको उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि नागरिक उन्मुक्तिले पहिले नै लालवीरको उम्मेदवारी दर्ता गराएको थियो । लालवीर रेशमका पिता हुन् ।

इलाम २

इलाम २ मा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर जित्दा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाए। त्यहाँ ११४ को मात्रै फरक रह्यो ।

धनुषा ४

धनुषा ४ मा एमालेका रघुवीर महासेठले जम्मा १२४ मतले जिते । उनले ३२ हजार २३६ मत पाउँदा कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत ल्याए ।

पर्सा ३

पर्सा ३ मा पनि एमालेका राजकुरमा गुप्ताले १५१ मतले मात्रै जितेका हुन् । गुप्ताले २४ हजार २६० मत पाउँदा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार १०९ मत पाए ।

सुनसरी १

सुनसरी १ मा जसपाका अशोक राईले जम्मा ४५३ मतले जितेका हुन् । उनले १७ हजार ५९ मत पाउँदा स्वतन्त्र पार्टीका गोमा तामाङले १६ हजार ६०६ मत पाए ।

बारा २

बारा २ मा जसपाका रामसहाय प्रसाद यादवले ३५४ मतले जितेका छन् । उनले १३ हजार ८२२ मत पाउँदा माओवादीका शिवचन्द्र प्रसाद कुशवाहले १३ हजार ४६८ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर