भारतलाई रविको चुनौती- अत्याचार सैह्य हुँदैन, दार्चुलामा भेट्ने कि दिल्लीमा ? – Nepal Press

भारतलाई रविको चुनौती- अत्याचार सैह्य हुँदैन, दार्चुलामा भेट्ने कि दिल्लीमा ?

काठमाडौं । दार्चुलामा भारतीय पक्षको ज्यादतीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने आक्रामक बनेका छन्। दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रूपमा भारतले बन्द गरेपछि उनले भारतलाई चुनौती दिँदै युवा पुस्तालाई ज्यादती सैह्य नहुने चेतावनी दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘त्यही महाकाली नदीमा तुइन तर्दा तर्दै तुइन काटिन्छ, खस्छन् ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा र हराउँछन् सधैँका लागि । त्यही महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहँदा गरिएको विस्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यही महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउन थालिन्छ।’

नेपालीले ज्यादतीको प्रतिरोध गर्दा उताबाट आएको ढुंगाले लागेर घाइते चार जना बालबालिका घाइते भएको उल्लेख गरेका छन्। भारतको ज्यादतीविरुद्ध सरकार देशले नदेखेको उनको भनाइ छ।

‘वर्षौँको यो निरीहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्त्वपूर्ण कुरा के हुन्छ राज्यको रु’ उनले प्रश्न गर्दै भनेका छन्, ‘आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार रु आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कूटनीति बनाउन के ले रोक्छ सरकारलाई रु राज्य यस्तो हुनु हुँदैन ।सरकार अब यसरी चल्नु हुँदैन ।’

यो निरन्तरको निरीहताको अर्थ अब खोज्नुपर्ने उनेको बुझाइ छ।

उनले भारतलाई चुनौती दिँदै भनेका छन्, ‘नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा गरौँ। दार्चुलामा भेट्ने हो कि काठमाडौँमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौँ तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन।’

यस्तै, रास्वपाका महामन्त्री तथा प्रवक्ता डा। मुकुल ढकालले पनि एक विज्ञप्ति जारी गरेर महाकालीको बहाव नेपालतर्फ धेकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेकोप्रति आपत्ति जनाएका छन्।

‘अन्तर्राष्ट्रिय सन्धि सम्झौता, भारतसँगको हाम्रै द्विपक्षीय सन्धि सम्झौताहरूको विरुद्धमा कार्य भइरहँदा पनि सरकार मूकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैर जिम्मेवार कार्य हो’ प्रवक्ता ढकालले भनेका छन्, ‘कुनै पनि नेपाली राजनीतिक दल, त्यसमा पनि सरकार सञ्चालनको जिम्मेवारीमा रहेका दलहरूले केवल आफ्नो राजनीतिक लाभ हेरेर देशको सिमाना र नागरिकको जीवन रक्षाको लागि केही नबोल्ने संस्कारले हाम्रो राष्ट्रियता कमजोर हुने गम्भीर जोखिम देखिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर