एमबाप्पेलाई मुस्कुराएर बधाई दिँदै घर फर्किए लेवान्डोस्की – Nepal Press

एमबाप्पेलाई मुस्कुराएर बधाई दिँदै घर फर्किए लेवान्डोस्की

दोहा । साविक विजेता फ्रान्ससँग ३-१ गोलले पराजित भएपछि पोल्यान्ड कतारमा जारी विश्वकपबाट घर फर्किएको छ । आइतबार राति भएको खेल सकिएपछि पोल्यान्डका प्रभावशाली स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले नजिकै गएर केलियन एमबाप्पेसहितका खेलाडीलाई मुस्कुराउँदै बधाई दिए ।

स्वयं फ्रान्सका कप्तान ह्युगो लोरिससहितका खेलाडी पनि लेवान्डोस्की नजिकै पुगेर सान्त्वना दिएका थिए । टोली प्रिक्वाटरफाइनलबाट बाहिरिएको भए पनि लेवान्डोस्की खासै दुःखी देखिएनन् । लेवान्डोस्की पछिल्ला दुई संस्करणका फिफा वर्ष खेलाडी हुन् र सम्भवतः कतार संस्करण उनको अन्तिम विश्वकप हो ।

धेरै कीर्तिमानमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछ्याइरहेका लेवान्डोस्कीले पोल्यान्डलाई यसपटक ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुर्‍याएका थिए । तर, समूहगत चरणको अन्तिम खेलमा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनासँग २-० गोलले पराजित भए पनि समान अंक भएको मेक्सिकोलाई गोल अन्तरमा पछाडि पार्दै पोलान्ड नकआउट चरणमा पुगेको थियो ।

पोल्यान्ड एमबाप्पेको शानदार लयका कारण प्रि-क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन । यो खेलमा एमबाप्पेले दुई गोल गरे । चार वर्षअघि रुसमा सम्पन्न संस्करणमा फ्रान्सलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेल्दै सर्वोत्कृष्ट युवा खेलाडीको अवार्डसमेत जितेका एमबाप्पे यसपटक पनि तत्कालका लागि गोल्डेन बल र गोल्डेन बुटका दावेदार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर