मधेशीमाथि अपमानजनक शब्द प्रहार गरे कडा कारबाही गर्ने मधेशी आयोगको चेतावनी – Nepal Press

मधेशीमाथि अपमानजनक शब्द प्रहार गरे कडा कारबाही गर्ने मधेशी आयोगको चेतावनी

काठमाडौं । मधेशी आयोगले मधेशी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ । आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि मधेशी समुदायलाई लक्षित गरी ‘काले, मदिसे, भैया, धोति’ जस्ता अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सदभावमा खलल पार्ने काम भइरहेको र त्यस्ता काम गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि पनि नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको हो ।

आयोगले यस्ता अमानवीय, गैर-संवैधानिक तथा गैर-कानूनी कार्यले राष्ट्रिय एकतामासमेत असर पुर्याउन सक्ने आयोगका सचिव रुद्रप्रसाद लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनका अनुसार आयोगले मधेशी समुदायले नै मुख्यतः सिमाको रक्षा गरिरहेको, मधेशी समुदाय महत्वपूर्ण तथा गौरवशाली समुदाय रहे पनि समय-समयमा यस्ता घटनाबाट पीडित हुनुपर्ने कुरा प्रति चिन्ता व्यक्त गरेको ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तसहित आयोगका सदस्यबाट यस्ता संवेदनशील घटनाको अनुगमन हुने गरेको र यस्ता घटनाप्रति आयोगले तुरन्तै सम्बन्धित निकायलाई यथाशिघ्र छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सिफारिससमेत गर्दै आएको जनाइएको छ । आयोगको सिफारिसपछि सम्बन्धित निकायले उक्त घटनामाथि छानविन गरेर दोषीलाई कानुनी दायरामा समेत ल्याएको भन्दै आयोगले यस्ता घटनाको उजुरी आयोगमा विभिन्न माध्यमबाट दिनसमेत सबैलाई विज्ञप्तीमार्फत नै अनुरोध गरेको छ ।

 

CamScanner 12-04-2022 16.28
CamScanner 12-04-2022 16.28

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर