जापान, दक्षिण कोरिया र सेनेगललाई एकसाथ फापेको एसियाली मैदान – Nepal Press

जापान, दक्षिण कोरिया र सेनेगललाई एकसाथ फापेको एसियाली मैदान

दोहा। विश्व फुटबलमा एसिया र अफ्रिकी राष्ट्रको प्रभाव देखिन्छ। विश्वकपमा एसियाली टोली सेमिफाइनल र अफ्रिकी टोली क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको इतिहास छैन।

२० वर्षअघि एसियाली भूमीमा आयोजित संस्करणमा दक्षिण कोरियाले सेमिफाइनलसम्म पुगेर महादेशीय कीर्तिमान बनाएको थियो। त्यतिबेला पहिलोपटक सहभागी भएको अफ्रिकी टोली सेनेगल पनि क्वाटरफाइनलसम्म पुगेको थियो। सहआयोजक जापान पनि नकआउट चरण पुगेको थियो।

२० वर्षपछि एसियाली मैदानमा फर्किएको विश्वकपमा अनौठो संयोग बनेको छ। कतारमा जारी विश्वकपमा जापान, दक्षिण कोरिया र सेनेगल तीनवटै टोली नकआउट चरण पुगेका छन्। सेनेगल केवल तेस्रोपटक विश्वकप खेलिरहेको छ। यसअघि सन् २०१८ मा पनि छनोट भएको सेनेगल त्यतिबेला समूहगत चरणबाटै बाहिरिएको थियो।

यसपटक पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-० गोलले पराजित भएको सेनेगल त्यसपछिका लगातार दुई खेलमा कतारलाई ३-१ र इक्वेडरलाई २-१ गोलले पराजित गरि नकआउट चरण पुगेको हो। सेनेगलले क्वाटरफाइनल प्रवेशका लागि आइतबार इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। सेनेगल सन् २००२ मा विश्वकपको क्वाटरफाइनल पुग्दा यस्तो सफलता हात पार्ने केवल दोस्रो अफ्रिकी टोली बनेको थियो। त्यसअघि सन् १९९० को विश्वकपमा क्यामरुनले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो।

१२ वर्षपछि नकआउट चरण पुगेको दक्षिण कोरिया यसपटक पोर्चुगल, घाना र उरुग्वेजस्ता टोली रहेको समूहबाट अगाडि बढेको हो। पहिलो खेलमा उरुग्वेसँग बराबरी खेलेको दक्षिण कोरियाले दोस्रो खेलमा घानासँग हार ब्यहोरेपनि तेस्रो खेलमा पोर्चुगललाई २-१ गोलले हराएर नकआउट चरणमा स्थान बनाएको हो।

विश्वकप इतिहासमा ११ औँ पटक सहभागी हुनेक्रममा दक्षिण कोरिया यसअघि एकपटकभन्दा प्रिक्वाटरफाइनलभन्दा अगाडि बढेको छ। पछिल्ला दुई संस्करणमा समूहगत चरणबाटै बाहिरिएको थियो। अब क्वाटरफाइनल प्रवेशका लागि दक्षिण कोरियाले पाँचपटकको विजेता ब्राजिलसँग खेल्ने छ। यता जापानले यसपटक दुई विश्व च्याम्पियनलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो।

पहिलो खेलमा जर्मनीलाई हराएको जापानले अन्तिम खेलमा स्पेनलाई स्तब्ध बनाउँदै नकआउट चरणमा ठाउँ बनाएको हो। जापान यसअघि विश्वकपमा क्वाटरफाइनल पुगेको इतिहास छैन। सन् १९९८ को विश्वकपमा पहिलोपटक सहभागी भएको जापान त्यसयताका हरेक संस्करण खेलिरहेको छ। यसबीचमा सन् २००२, २०१० र २०१८ मा प्रिक्वाटरफाइनलस्मम पुगेको थियो। अब हुने खेलमा क्रोएसियालाई पराजित गर्न सके जापान विश्वकपमा पहिलोपटक क्वाटरफाइनल पुग्ने छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *