विश्वकपमा लेवान्डोस्की र एमबाप्पे भिड्दै ! – Nepal Press

विश्वकपमा लेवान्डोस्की र एमबाप्पे भिड्दै !

दोहा। समूहको  अन्तिम खेलमा अर्जेन्टिनासँग २-० गोलले पराजित भएपनि नकआउट चरणमा स्थान बनाएको पोल्यान्डले प्रिक्वाटरफाइनलमा आइतबार साविक विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्दै छ।

नेपाली समयअनुसार राती पौने ९ बजे सुरु हुने खेलमा  समूह सीको उपविजेताका रुपमा पोल्यान्डले समूह डीको विजेता फ्रान्ससँग खेल्न लागेको हो। त्यसो त फ्रान्स पनि समूहको आफ्नो अन्तिम खेलमा ट्युनिसियासँग पराजित भएको थियो। यद्यपी फ्रान्स समूह विजेता हुनबाट रोकिएन। पछिल्ला दुईपटकका फिफा वर्ष खेलाडी लेवान्डोस्की ४० वर्षपछि पोल्यान्डलाई कम्तिमा क्वाटरफाइनल पुर्‍याउने प्रयाशमा रहेका छन्।

यसअघि सन् १९८२ को विश्वकपमा पोल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो। पोल्यान्ड ३६ वर्षपछि पहिलोपटक नकआउट चरण पुगेर प्रिक्वाटरफाइनल खेल्न लागेको हो।

यसपटक पोल्यान्डले समूहगत चरणमा एक जित, एक बराबरी र एक हारको नतिजा निकालेको थियो। समान अंक भएको मेक्सिकोलाई गोलअन्तरमा पछाडि पार्दै पोल्या्न्डले नकआउट चरणमा स्थान बनाएको हो। पोल्यान्डका सर्वकालिन सर्वाधिक गोलकर्ता लेवान्डोस्कीले जारी विश्वकपमा एक गोल मात्र गरेका छन्। यता सुरुका दुई खेल जितेर नकआउट चरणमा स्थान बनाएको फ्रान्स अप्रत्यासितरुपमा तेस्रो खेलमा पराजित भएको थियो।

फ्रान्स विश्वकपका पछिल्ला चार संस्करणमा नकआउट चरण पुग्ने पहिलो साविक विजेता टोली हो। प्रशिक्षक डिडियर डेस्च्याम्प्सले लयमा रहेका केलियन एमबाप्पेलाई ट्युनिसियाविरुद्ध सुरुवाती टोलीमा समावेश गरेका थिएनन्। अघिल्लो खेल खेलेका ९ जना खेलाडीलाई ट्युनिसियाविरुद्ध सुरुवाती टोलीमा समावेश गरिएको थिएन। एमबाप्पेले जारी विश्वकपमा ३ गोल र एक असिस्ट गरेका छन्। अघिल्लो विश्वकपका सर्वोत्कृष्ट युवा खेलाडी एमबाप्पे फिफा वर्ष खेलाडी बन्न प्रयाशरत स्ट्राइकर हुन्।

ठुला प्रतियोगितामा पोल्यान्ड र फ्रान्स दोस्रोपटक भिड्न लागेका हुन्। यसअघि सन् १९८२ को विश्वकपमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएकामा पोल्यान्ड टाईब्रेकरमा पराजित भएको थियो। फ्रान्सले पोल्यान्डसँग हालसम्म १६ पटक प्रतिस्पर्धा गरेकामा ८ जित, ५ बराबरी र ३ हार ब्यहोरेको छ। पोल्यान्डले अन्तिमपटक सन् १९८२ मा फ्रान्सलाई हराएको थियो। त्यसयता यी दुई टोलिबीच ७ पटक प्रतिस्पर्धा भएकामा फ्रान्सले ३ जित र चार बराबरी खेलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर