विश्वकपमा आजदेखि नकआउट- अर्जेन्टिना र अष्ट्रेलिया तथा नेदरल्यान्ड्स र अमेरिका भिड्दै – Nepal Press

विश्वकपमा आजदेखि नकआउट- अर्जेन्टिना र अष्ट्रेलिया तथा नेदरल्यान्ड्स र अमेरिका भिड्दै

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको नकआउट चरण शनिबारदेखि सुरु हुँदै छ। पहिलो दिन अर्जेन्टिनाले अष्ट्रेलिया र नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछन्।

नेपालीसमयअनुसार पौने ९ बजे सुरु हुने खेलमा समूह एको विजेताका रुपमा नेदरल्यान्ड्सले समूह बीको उपविजेता अमेरिकासँग खेल्न लागेको हो।

त्यस्तै पौने १ बजे सुरु हुने खेलमा समूह सीको विजेताका रुपमा अर्जेन्टिना र समूह डीको उपविजेताका रुपमा अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने छ।
अर्जेन्टिना र अस्ट्रेलिया दुवैले जारी विश्वकपको पहिलो खेलमा हार ब्यहोरेका थिए। साउदी अरबले अर्जेन्टिनालाई २-१ र फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोलले हराएको थियो।

अर्जेन्टिनासँग तुलानात्मकरुपमा सजिलो प्रतिद्धन्द्धी परेपनि कप्तान लियोनल मेस्सी हरेक टोलीले सबैलाई हराउन सक्ने अवस्था रहेको स्वीकार गर्छन्। जारी प्रतियोगितामा ट्युनिसियाले फ्रान्स, दक्षिण कोरियाले पोर्चुगल, जापानले जर्मनी र स्पेन, क्यामरुनले ब्राजिलजस्ता टोलीलाई हराएकाले त्यसप्रति अर्जेन्टिना सचेत देखिन्छ।

साउदी अरबसँगको पराजयपछि अर्जेन्टिनाले मेक्सिको र पोल्यान्डलाई समान २-० गोलको नतिजामा हराएको थियो। सन् २००६ पछि पहिलोपटक नकआउट चरण पुगेको अस्ट्रेलिया यसअघि क्वाटरफाइनल पुगेको इतिहास छैन।

अर्जेन्टिना र अस्ट्रेलियाबीच हालसम्म ५ पटक प्रतिस्पर्धा भएकामा दक्षिण अमेरिकी टोली अपराजित छ। अर्जेन्टिनाले ४ जित र एक बराबरी खेलेको छ। सन् २०१५ मा अन्तिमपटक भिडेकामा अस्ट्रेलिया पराजित भएको थियो।

यता पछिल्ला १८ खेलयता अपराजित रहेको नेदरल्यान्ड्स उच्च मनोबलमा देखिन्छ। हालसम्म यी दुई टोलीबीच ५ पटक प्रतिस्पर्धा भएकामा नेदरल्यान्ड्सले चार जित र एक हारको नतिजा निकालेको छ। सन् २०१५ मा अन्तिमपटक भिडेकामा अमेरिका ४-३ गोलले विजयी भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर