मकालु क्षेत्रका पौरखी दम्पतीहरु : श्रीमान् हिमालमा, श्रीमती होटलमा – Nepal Press

मकालु क्षेत्रका पौरखी दम्पतीहरु : श्रीमान् हिमालमा, श्रीमती होटलमा

इटहरी । प्रदेश १ को विश्वस्तरीय मकालु आधार शिविर जाँदाको अन्तिम गाउँ हो टासी गाउँ । टासी गाउँ कटेर पहिलो क्याम्प डाँडाखर्कमा पर्यटकहरु खाना खान पुग्छन् । जंगलबीचको क्षेत्र भएको डाँडाखर्कमा दुई बालक छोरा लिएर एक्लै होटल चलाउँछिन् किपा शेर्पा । उनका जेठा छोरा तीन वर्षका छन्, कान्छा एक्काइस महिनाका ।

उनका जेठा छोरालाई पर्यटकहरुले बाबा कता भन्दा उनले परका हिमाली लहरतिर औंला देखाएर संकेत गर्छन् । हालसालै नेपालप्रेसकर्मीले गरेको प्रश्नमा पनि उनले त्यही हिमाली लहर देखाउँदै उनले बाबाको ठेगाना भने । आमाले छोराको संकेत देखेर हाँस्दै भनिन्, ‘उसले त्यही हिमालमा छ भन्नेमात्रै बुझ्छ । अहिले मेरो बुढा चोयुमा छ । मलाई क्याम्प तीन पुगेको कुरा आएको छ ।’

पायोनियर एडभेन्चरमा काम गर्ने उनका श्रीमान जस्तै उनको जिन्दगीमा पनि ‘एडभेन्चर’ नै छ । गाउँभन्दा अलग बस्नु परेको छ । जंगलभन्दा अरु केही आसपास छैन । तर, यतै उनी रमाएकी छन् । भन्छिन्, ‘जंगलमा बसेको जस्तै हुँदैन । पाहुनाहरु आएको आयै गर्छ । छोराहरु त्यतै भुल्छन् । म काममै व्यस्त हुन्छु ।’

नेपालका चिनिएका आरोही लाक्पा ग्याल्जेनसँग सात वर्ष अगाडि बिहे गरेकी हुन् किपाले । बिहे गर्दा लाक्पाको परिचय विद्यार्थीको थियो । सात वर्षपछि दुवैको परिचय फेरिएको छ । मकालु क्षेत्रकै नुर्बु गाउँ माइत भएकी किपा होटल सञ्चालकको रुपमा चिनिन्छिन् ।

टासी गाउँका रैथाने लाक्पा नेपालका चिनिएका आरोहीको रुपमा चिनिन्छन् । लाक्पाले सगरमाथा, मनास्लुदेखि केटुसम्म आरोहण गरेका छन् । कोभिड १९ को समयमा पनि उनी सगरमाथा क्षेत्रमै सक्रिय थिए ।

श्रीमान लाक्पा देशविदेशका हिमालमा आउने विदेशी पाहुनाहरुलाई बाटो देखाउन सक्रिय हुँदा श्रीमती किपा पनि मकालु चढ्न र पदयात्रामा आएका देशीविदेशी पर्यटकहरुलाई खानपिन र आवाजको व्यवस्था गर्न सक्रिय हुन्छिन् ।

श्रीमान हिमालमा जाँदा कस्तो अनुभूति हुन्छ भन्ने प्रश्नको ओइरो किपालाई आफ्नो होटलमा आउने धेरैले सोध्छन् । नेपाल प्रेसकर्मीले पनि त्यही प्रश्न दोहोर्‍याउँदा उनले भनिन्, ‘पहिले पहिले धेरै डरमात्रै हुन्थ्यो । अहिले डर कम हुन्छ । बानी पर्दै गयो ।’

बानी परे पनि डर पुरा हट्न भने नसक्ने किपाको भनाइ छ । उनी थप्छिन्, ‘हिमाल हो । जतिवेला जे पनि हुनसक्छ । भर पर्ने अवस्था चै हुन्न ।’

वर्षमा आठ महिना हाराहारीमात्रै डाँडाखर्कमा होटल चलाउने किपा कमाइको बारेमा धेरै खुल्न चाहिनन् । उनले भनिन्, ‘बुढाको कमाइ जत्ति हुन्न । तर, घरबार चलाउन पुग्छ ।’

किपा शेर्पाको होटलभन्दा एक क्याम्पमुनिको टासी गाउँमै मकालु डाँफे लज चलाउँछिन् पासाङ याङ्जी । ६ सन्तानकी आमा पासाङलाई आफ्ना श्रीमान निमा दोर्ची शेर्पाले कुन कुन हिमाल चढे जानकारी छैन । कुन कुन देशका हिमाल चढे जानकारी छैन ।

उनलाई यत्ति जानकारी छ उनका श्रीमान निमा विदेशीहरुलाई हिमाल चढाउन देश विदेश जान्छन् । पछिल्लो आठ वर्षदेखि नियमित लज सञ्चालन गर्दै आएकी पासाङलाई आफ्नो लजको मात्रै राम्रो जानकारी छ ।

आफ्ना आरोही श्रीमान निमाबारेमा पाहुनाहरुले सोधे उनी घरका भित्तामा टाँगिएका उनका प्रमाणपत्र र हिमाल चढ्न प्रयोग हुने सामग्री देखाउँछिन् । प्रश्न गर्नेहरुलाई भन्छिन्, ‘मेरो बुढाको बारेमा सबैकुरा त्यही कागजमा छ ।’

मकालु क्षेत्रकै सेदुवा माइत भएकी उनी पर्यटकलाई खानपिन र आवासबाहेक सामान्य खेतीपाती गर्छिन् । भन्छिन्, ‘पाहुना आउँदा लजमा व्यस्त । नआउँदा बारीमा ।’

होम स्टे नम्बर ४ को रुपमा सूचीकृत पासाङको लजमा देशीविदेशी आगन्तुकहरु आउँछन् । उनका दुई स्कुले छोराछोरीसँगै लज चलाएर बस्ने पासाङ र उनका श्रीमान निमाको भेट वर्षमा केही महिनामात्रै हुन्छ । हिमाल र होटलमा काम नहुँदामात्रै श्रीमानश्रीमतीको घरमा भेट हुने उनी बताउँछिन् ।

किपा र पासाङ त दुई प्रतिनिधि पात्रमात्रै हुन् । संखुवासभाको विश्वको पाँचौं अग्लो शिखर मकालु क्षेत्रका धेरै दम्पतीहरुको दिनचर्या किपा र पासाङको जस्तै छ । आफन्त र परिवार हुँदै छरछिमेकमा भएका चर्चित आरोहीहरुसँग उनीहरुको हिमचिम दैनिक हुन्छ ।

त्यही हिमचिमले किपालाई पनि एक दिन हिमाल चढ्न मन छ । तर, त्यसमा एक सर्त छ- छोराहरु हुर्किऊन् । छोराहरु हुर्किएपछि हिमाल चढ्ने योजनामा रहेकी किपा भन्छिन्, ‘एक दिन हिमाल गएर आउने त सपना नै छ ।’

पासाङको भने किपा जस्तो हिमाल चढ्ने सपना छैन । बुढेसकाल लागेकाले त्यो सपना नभएको उनी बताउँछिन् । भन्छिन्, ‘म त हिमाल चढ्न सक्दिनँ । छोराछोरीहरुले चढ्छन् होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर