को हुन् सञ्चारमन्त्री कार्कीलाई ‘ऐँठन’ पार्ने जगदीश ? – Nepal Press

को हुन् सञ्चारमन्त्री कार्कीलाई ‘ऐँठन’ पार्ने जगदीश ?

इटहरी । वाम गठबन्धन हुँदा २०७४ मै सुनसरीमा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको थियो । जिल्लाका ४ क्षेत्रमध्ये ३ क्षेत्रमा आफ्ना उम्मेदवार भएको कांग्रेसका सबै उमेद्वारले जिते । जित्नेमा एक थिए तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । उनले सुनसरी-४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका रमेश श्रेष्ठलाई ६ हजार मतान्तरलाई पराजित गरे ।

गत चुनावमा अचानक भोजपुरबाट झरेर जितेका कार्कीलाई यो चुनाव झनै सजिलो हुने धेरैको तर्क थियो । पहिले काम नगरी चुनाव लड्दा जितेकोमा अहिले काम गरेको र साथमा पाँचदलीय सत्तागठबन्धनको साथ भएकोले उनको जित निश्चित हुने धेरैको तर्क थियो ।

तर, नतिजा हेर्दा यो आँकलन फेल खायो । कार्कीले सकसपूर्ण रूपमा जित हात पारे । गत चुनावमा एमाले-माओवादी गठबन्धनसँग भिड्दा ६ हजार बढी मतान्तरले विजयी भएका उनलाई अहिले पाँच दल हुँदा ११२ मात्र भयो । कार्कीलाई कडा टक्कर दिने उम्मेदवार हुन् एमाले नेता जगदीशप्रसाद कुसियैत ।

सुनसरी ४ को परिणाम सबैभन्दा ढिला भएर आजमात्रै सार्वजनिक भयो । कार्कीले ३० हजार ४८३ मत ल्याए भने कुसियैतको ३० हजार ३७१ मत आयो ।

देउवाका विश्वासपात्र बहालवाला संघीय मन्त्रीसँग चुनाव लडेका कुसियैत प्रदेश १ का पूर्वमन्त्री हुन् । २०१६ सालमा जन्मिएका उनी २०५१ सालको मध्यावधि चुनावमा सुनसरी क्षेत्र नम्बर ५ मा गिरिजाप्रसाद कोइरालासँग पराजित भए ।

२०५३ को उपनिर्वाचनमा भने विजयी बने । उनले कांग्रेसका हरि सापकोटालाई हराएका थिए । मोरङ १ र सुनसरी ५ उठेका गरिजाप्रसाद कोइरालाले दुवै क्षेत्रमा जितेपछि सुनसरी ५ छाडेका थिए । त्यही क्षेत्रमा गरिएको उपचुनावमा कुसियैतले जित निकाले ।

२०५६ मा सप्तरी र २०७० मा सुनसरीमा चुनाव लड्दा भने जगदीश पराजित भए । २०७४ को चुनाव जितेर उनी साढे ३ वर्ष प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बने ।

जगदीश एमालेका पछिल्ला दुई महाधिवेशनबाट निरन्तर केन्द्रीय सदस्य छन् भने अहिले सनुसरी जिल्ला इन्चार्जसमेत छन् । २०३४ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका जगदीश पार्टी राजनीतिमा भने २०३९ बाट आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर