बौद्ध विश्वविद्यालयद्वारा १० वर्षे रणनीतिक योजना सार्वजनिक – Nepal Press

बौद्ध विश्वविद्यालयद्वारा १० वर्षे रणनीतिक योजना सार्वजनिक

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ । विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा बुधबार लुम्बिनीमा समारोहबीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरिएको हो ।

विश्वविद्यालयले २०३० सम्म अन्तर्राष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापित गर्ने जनाएको छ । मुलुककै एकमात्रै विशिष्टिकृत विश्वविद्यालयले बौद्ध दर्शन, संस्कृतिसहित अन्य विषयमा अध्यापन गराउँदै आएको छ ।

रणनीतिक योजना सार्वजनिक गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले तीन आधार बनाएर विश्वविद्यालय अघि बढ्ने बताए । अन्तर्राष्ट्रिय विश्वविद्यालय निर्माण गर्ने, बौद्ध साहित्य, संस्कृतिको अनुशरणसहितको शिक्षा प्रवद्र्धन गर्ने र सामाजिक उत्तरदायित्व विकासका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रमुख तीन आधार रहने उनले बताए । यी आधरभित्रै रहेर अनुसन्धान, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीति विश्वविद्यालयको रहेको बज्राचार्यले बताए ।

भिजन २०३० प्लस कार्यान्वयनका सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगका नीति, अन्तर्राष्ट्रिय शिक्षासंगको स्तरमिलान, गुणस्तरीयता र अनुसन्धानमा आधारिक शिक्षालाई नीतिका रुपमा अंगिकार गरिने रणनीतिक योजनामा छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले मुलुकको सातौं स्तरमा रहेको विश्वविद्यालयलाई कम्तिमा तेस्रो स्थानसम्म अवको केही वर्षभित्रै पु¥याउने लक्ष्य राखिएको बताए । ‘अनुसन्धानमा आधारिक शैक्षिक कार्यक्रम सञ्चालन गर्दै दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गर्ने रणनीति विश्वविद्यालयले अंिगकार गरेको, उनले भने ।

विश्वविद्यालयले यसअघि प्राज्ञिक तथा भौतिक गुरुयोजना निर्माण गरेको थियो । त्यो गुरुयोजनाका मूलभूत पक्षहरुलाई अंिगकार गर्दै विश्वविद्यालयले यो रणनीति बनाएको हो । विश्वविद्यालयले अवको केही समयमै तीन संकायमा १० वटाभन्दा बढी विभाग स्थापना गर्ने लक्ष्य बनाएको छ ।

रजिष्ट्रार आचार्यले रणनीति कार्यान्वयनमा दीगो आर्थिक स्रोतको सुनिश्चितता, विषयगत दक्ष जनशक्ति चुनौतिका रुपमा रहेको बताउँदै ती चुनौतीलाई चिर्दै अघि बढिने बताए । पछिल्लो ६ वर्षमा विश्वविद्यालयको चामत्कारिक विकास भएको भन्दै त्यसलाई निरन्तरता दिइने उनले बताए ।

कार्यक्रममा बोल्दै बयोद्धकुशुम धर्म महासंघका अध्यक्ष महायोगी श्रीधर राणा रिम्पोछेले बौद्ध दर्शनको अनुयायी हुनुमात्रै नभई यसको दार्शनिक चेतना सबैमा हुनुपर्ने बताए । ‘विश्वविद्यालयले बौद्ध दर्शनको खास मर्मलाई आम जनताबीच सूसूचित बनाउनुपर्छ, उनले भने ।
नेपालमा थुप्रै बौद्ध संस्कृति र परम्परा रहेको भन्दै त्यसको उजागर गर्दै प्रवद्र्धन गर्न विश्वविद्यालयले गहिरो अध्ययन अनुसन्धान गराउनुपर्ने उनले बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बौद्ध दर्शनको सतही जानकारी मात्रै फैलिरहेको भन्दै यसको गहिराई बाहिर आउन नसकेको बताए । ‘बौद्ध दर्शनको प्रभाव यति धेरै छ कि हामीले त्यसको मुलसम्म खोतल्न सकिरहेका छैनौं, उनले भने–‘बौद्ध विश्वविद्यालयले अनुसन्धानलाई नै केन्द्रमा राखेर यसको उजागरमा प्राथमिकता दिनुपर्छ ।’ उपाध्यक्ष मैत्तेयले लुम्बिनी विकास कोषले बौद्ध दर्शन, क्षेत्र, पुरातत्वको अध्ययन अनुसन्धानमा विश्वविद्यालयसंग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए ।

कार्यक्रममा धर्माेदय सभाका अध्यक्ष केशवमान शाक्यले बौद्ध विश्वविद्यालयको १० वर्षे प्रगतिले जोकोही आर्कषित हुने भन्दै विश्वविद्यालयको स्वरुपमा आएको भन्दै खुसी प्रकट गरे । कुनै पनि संस्थाको जिवन्तताका लागि सरोकारवाला निकायसंग नियमित छलफल हुनुपर्ने भन्दै विश्वविद्यालयले त्यस्तो काम गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले प्रकाशन गरेका पाँच वटा पुस्तक विमोचन गरिएको थियो । अनुसन्धान केन्द्रबाट धम्मपद अट्टकथा, स्वयम्भु पुराण, त्रिशिंखा, बोधि चाइनिज भाग १ र २ बिमाचन गरिएको हो । पुस्तकका विषयमा अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले यी पुस्तकले बौद्ध अध्ययन अनुसन्धानमा लागेका अध्येतालाई महत्वपूर्ण सहयोग गर्ने भन्दै नेपाली बाङ्मयमा बौद्ध पुस्तकको बलियो गरी उपस्थिति गराउने बताए ।

नेपाली भाषामा बौद्ध ग्रन्थका पुस्तकहरु अध्ययन नहुँदा भारतीय पुस्तकमा निर्भर हुनुपर्ने बाध्यता रहेको भन्दै स्वदेशकै अनुसन्धानकर्ताबाट अनुदित पुस्तकले बौद्ध दर्शनलाई जनतामाझ बुझाउन सजिलो हुने उनले बताए । उनले अनुसन्धान केन्द्रबाट पछिल्लो दुई वर्षमा साढे दुई दर्जन पुस्तक प्रकाशन गरेको बताए ।

विश्वविद्यालयले स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको थियो । नेपालका लागि इजरायली राजदूत हनान गोदारको उपस्थितिमा देवदहमा गुरुयोजना तथा शैक्षिक कार्यक्रमका विषयमा छलफल गरिएको थियो । दिवसकै अवसरमा बुधबार विहान रणनीतिक योजना परामर्श समितिको बैठक बसेको थियो । विश्वविद्यालयकै सहकार्यमा लुम्बिनीमा मोन्लाम पूजा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर