मिसन पीएम, गगनकुमार थापा र बदलिँदो राजनीतिक परिदृश्य – Nepal Press
फरक मत

मिसन पीएम, गगनकुमार थापा र बदलिँदो राजनीतिक परिदृश्य

संसदमा उल्लेख्य मात्रामा युवाको उपस्थिति त्यो पनि फराकिलो मतले जीत निकालेकै आधारमा निकालिने निष्कर्ष हो– ‘आजसम्म चल्दै आएका परम्परागत राजनीतिक केन्द्रका केन्द्रीय जालोलाई युवाले भत्काए ।’ त्यतिमात्र नभई आजसम्म चल्दै आएका शक्तिकेन्द्रमा ‘धावा’ बोलेर आफ्नो सामर्थ्यलाई शक्तिमा रुपान्तरण गर्ने जब्बरजस्तको प्रयत्न पनि जारी छ । अवसर र चुनौती जीवन्त राजनीतिक दलको जीवनमा अक्सर आइ नै रहने विषय हुन् । तर, त्यसलाई दलले कसरी मुलुकको हितमा सदुपयोग गर्दछ भन्ने विषय महत्वपूर्ण हुन आउँछ ।

यो निर्वाचनमा आफ्नो मुनाफाका लागि राजनीति गर्नेहरु त ‘जनमत’बाट बढारिन पुगे नै । तर, राजधानी काठमाडौंसहितमा राष्ट्रिय स्वतन्त्र पार्टी, पश्चिम तराईमा नागरिक उन्मुक्ति र मधेसमा जनमत पार्टीको उदयले ‘कांग्रेस, एमाले तथा माओवादी’ जस्ता दलको परम्परागत प्रभाव क्षेत्र खुम्चन पुग्दा राजनीतिक परिदृश्य नै बदलिन पुगेको देखिन्छ । जुन बदलावको मूलधारका दलले नजरअन्दाज गरे भने भावी दिनमा उनीहरुलाई ‘प्रजा परिषद्’ बन्नबाट कसैले रोक्न सक्दैन् ।

निर्वाचनको पूर्ण परिणाम सार्वजनिक हुँदा नहुँदै दलहरु सरकार निर्माणको जोडघटाउमा लागेका समाचार बाहिर आएका छन् । गठबन्धनको ‘ध्येय’ हिजोकै ‘पोजिसन’लाई निरन्तरता दिँदै आलंकारिक राष्ट्रपति पद एकले अर्काेलाई जिम्मा लगाउने नै देखिन्छ भने ‘अपोजिसन’ एमालेको ‘ध्येय’ गठबन्धनमा ‘दरार’ पैदा गराई शक्तिशाली पोजिसन प्रधानमन्त्री पद हात लगाउने ! अन्तमा केही नलागे कांग्रेसलाई नै सत्ता सुम्पिएर आफू सहयोगी बन्ने । चालबाजीबाट सक्दा चाहिं कांग्रेसलाई बाहिरै राखेर बाँकी दलबीचमा एकता गरी पोजिसनहरुको भागबन्डा गर्ने एमाले रणनीति देखिन्छ ।

यीमध्ये मुलुकले जुन बाटो लिए पनि कांग्रेस, एमाले र माओवादी पार्टीका शीर्ष तहका नेताहरु ‘म्युजिकल रुपी’ सत्ता बाहिर नरहेसम्म मुलुकमा उत्साहको सञ्चार सम्भव नै छैन् । कांग्रेस, एमाले जस्ता दल ठूला भए पनि जनमतको सन्देश भनेको भोलिका मितिमा पनि पार्टी सभापति र मुलुकको कार्यकारी पोजिसनमा तिमीहरु नै रहने हो भने हाम्रो रोजाइमा तिमीहरु ‘कांग्रेस, एमाले, माओवादी’ जस्ता दल पर्ने छैनौं भन्ने नै हो । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत दलप्रति जनताले देखाएको सांकेतिक ‘मत’बाट मूलधारका दलहरु सच्चिन तयार भएनन् भने जनमतबाट सक्किने बाटोमा जाने निश्चित छ ।

काठमाडौंसहितमा राष्ट्रिय स्वतन्त्र पार्टी, पश्चिम तराईमा नागरिक उन्मुक्ति र मधेसमा जनमत पार्टीको उदयले ‘कांग्रेस, एमाले तथा माओवादी’ जस्ता दलको परम्परागत प्रभाव क्षेत्र खुम्चन खोज्दा राजनीतिक परिदृश्य नै बदलिन पुगेको देखिन्छ । जुन बदलावको मूलधारका दलले नजरअन्दाज गरे भने भावी दिनमा उनीहरुलाई ‘प्रजा परिषद्’ बन्नबाट कसैले रोक्न सक्दैन ।

जनताका बीच सच्चिएको सन्देशका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्तावक र वरिष्ठ नेता डा. शेखर कोइराला र प्रकाशमान सिंह समर्थक भएर कांग्रेस संसदीय दलको नेतामा पार्टी महामन्त्री तथा युवा नेता गगनकुमार थापालाई अगाडि सार्नु कांग्रेसका निम्ति पनि श्रेयस्कर देखिन्छ । त्यसअघि (समानुपातिकमा रहेका अनुहार) जसका कारण जनमानसमा कांग्रेस पार्टी अलोकप्रिय बन्न पुग्यो, उहाँहरु आफैं पनि सच्चिएर हामी ‘युवा नेता’का पक्षमा छौं भन्ने सन्देश दिन जरुरी छ । युवा नेताहरु महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलमात्र नभई संस्थापन पक्षका नेता पूर्णबहादुर खड्का, मोहनबहादुर बस्नेतसम्मले पार्टीलाई भोलिका मितिमा ‘एकल बहुमत’को बनाउने हो भने पार्टी सभापति देउवालाई ‘तपाईं संसदीय दलको नेता नलडी युवाको पक्षमा उभिनुस्’ भन्ने आँट गर्न सक्नुपर्दछ । तबमात्र कांग्रेस ‘जनताको कांग्रेस’मा रुपान्तरण हुनेछ ।

सवाल कांग्रेसको मात्र होइन, सवाल एमाले र माओवादीको पनि हो । ‘बार्दली’मा बसेरमात्र पार्टी टुटफुट नजोगिएका कारण जनताले एमाले अध्यक्षबाहेक वरिष्ठ उपाध्यक्ष र महासचिव जस्तो जिम्मेवार नेतालाई ‘सच्चिन’का लागि संसद भवनभन्दा बाहिर राखिदिए ! यो तथ्यसँगै प्राप्त जनमतको कदर नगरी विपक्षीप्रतिको कटाक्षले मात्र जनताले पत्याउने छैनन् भन्ने नजिर एमालेको हकमा स्थापित बन्न पुग्यो । तसर्थ, विनापूर्वाग्रह योगेश भट्टराई र ठाकुर गैरेको पुस्ताका लागि संसदीय दलको मैदान छाड्न केपी शर्मा ओलीसमेत तयार हुने सन्देशले मात्र एमालेसमेत बलियो बन्न सम्भव छ ।

एमाले फुटेर बनेको एकीकृत समाजवादी दलको चर्चा धेरै जरुरी छैन । माओवादी केन्द्रको हकमा बौद्धिक मतदाता बस्ने नेपालका कुनै पनि अपवादलाई छाडेर शहरबाट माओवादीले विजय हासिल गर्न नसकेबाट पनि उसले आफूलाई ‘रिभ्यू’ गर्न जरुरी देखिन्छ । हुन त कांग्रेसमा बाहेक एमाले, माओवादी दलमा पार्टी सभापतिसामु आँखा जुधाएर ‘संवाद’सम्म पनि लगभग ‘बर्जित’ झैं छ । यो अवस्थामा नेतृत्व परिर्वतन जस्तो ‘क्रान्तिकारी कदम’ कति सम्भव होला ?

कांग्रेस, एमाले जस्ता दल ठूला भए पनि जनमतको सन्देश भनेको भोलिका मितिमा पनि पार्टी सभापति र मुलुकको कार्यकारी पोजिसनमा तिमीहरु नै रहने हो भने हाम्रो रोजाइमा मूलधारका तिमीहरु ‘कांग्रेस, एमाले, माओवादी’ जस्ता दल पर्ने छैनौं भन्ने नै हो ।

मूलधारका दलले आफू सच्चिएको सन्देश दिन हिजोका गल्तीबाट सुधारको कार्य प्रारम्भ गर्नुपर्ने हुन्छ । हिजो दलीय नाफा-घाटाका लागि प्रधानन्यायाधीश सुशीला कार्कीसम्मलाई महाअभियोग लगाइयो ! त्रुटि त्यहीबाट आरम्भ भयो । अब त्रुटि सच्याउन राष्ट्रपतिमा उनै सुशीला कार्कीलाई अगाडि सारिनु दलहरुको पनि हितमा छ । उपराष्ट्रपतिको हकमा अन्तर्राष्ट्रिय व्यक्तित्वसमेत बनाउन सफल वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई दलले अगाडि सार्दा दलको ‘हाइट’ र ‘हैसियत’ उठन सक्छ ।

प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका सांसदले आफ्नो नेता चयन गरेर गगनकुमार थापालाई अगाडि सार्दै गर्दा गठबन्धनभित्र सर्वदलीय सहमति कायम गर्न ‘सांसद खरिद बिक्री’को विसंगतिसमेत भित्रिने छैन । सम्भावित राष्ट्रपतिमा डाक्टर बाबुराम भट्टराई र प्रधानमन्त्रीमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालले आलोपालो गर्दा मुलुक पुनः ‘सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द’ कालीन समय झैं ‘दुष्चक्र’मा फस्ने निश्चित प्रायः देखिन्छ । त्यो भूल गर्नु भनेको मुलुक पुनः मध्यावधिमा जानु हो र मूलधारका दल समाप्तसमेत हुनु हो ।

‘नो नट अगेन’ वाला पुस्ता र नेताको ‘भिजन’ मुलुकले दुर्गति व्यहोरेर हेरिसक्यो । नेपाली जनताका बीच उहाँहरुले देखाउन बाँकी नै केही रहेन । अब पनि उहाँहरुले ‘आफैं’ भन्नु भनेको नेपालीले उहाँहरुले नेतृत्व गर्नु भएको दलको अवशानमात्र हेर्न बाँकी रहने हो । परम्परागत दलका लागि यी शब्दहरु ‘अप्रिय’ लाग्ला । तर, सत्य यही हो । समानुपातिकमा राखिएका अनुहारका कारण कांग्रेसको समानुपातिकको मत खस्कियो, एमालेमा भोलिको पार्टी हाँक्ने नेताको अनुहार चित्त नबुझेकै कारण पाँच वर्षको परीक्षण अवधिभित्र सच्चिन संसद बाहिर राखिदिए ।

युवा नेताहरु महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलमात्र नभई संस्थापन पक्षका नेता पूर्णबहादुर खड्का, मोहनबहादुर बस्नेतसम्मले पार्टीलाई भोलिका मितिमा ‘एकल बहुमत’को बनाउने हो भने पार्टी सभापति देउवालाई ‘तपाईं संसदीय दलको नेता नलडी युवाको पक्षमा उभिनुस्’ भन्न आँट गर्न सक्नुपर्दछ । तबमात्र कांग्रेस ‘जनताको कांग्रेस’मा रुपान्तरण हुनेछ ।

उता माओवादीमा एकातिर ‘व्यक्ति हत्या’ बेगर पनि शक्ति आर्जन गर्न सकिने सन्देश दिन माओवादी हाराहारीकै शक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ल्याइदिए भने अर्कातिर शहरी बौद्धिक मतदाताको रोजाइमा माओवादी पार्टी पर्दै परेन । राष्ट्रिय पार्टी बन्न नै हम्मे-हम्मे परेको माधव नेपालको नेकपा एकीकृत समाजवादी दललाई एमालेसँगको विद्रोहको सन्दर्भमा ‘ठीकै छ’ भनेर अनुमोदनसम्म भने गरिदिए । जहाँसम्म रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सन्दर्भ छ- उक्त दलको नीति, कार्यक्रम र विचार के र संगठनको पद्धति कस्तो हुने भन्ने भेउ नै नपाई केवल मूलधारका दलको प्रवृत्तिको कटाक्षस्वरुप जनताले चौथो शक्ति बनाइदिए ! जुन शक्ति भोलिका मितिमा शक्तिका रुपमा स्थापित बन्छ वा ‘पानी फोका’ भएर बिलाउँछ भन्ने विश्लेषण गरिनु आजैका मितिमा हतारो हुनेछ ।

मूलधारको दलको ध्येय यतिवेला जनतामा आफू सच्चिएको सन्देश दिएर जनताका बीच जानु नै सान्दर्भिक हुनेछ । हुन त कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा पनि ‘घण्टी चिन्ह’बाट कोही नलडेको हेक्कै नराखी गगन थापाको क्षेत्रमा ‘घण्टी’ले किन उम्मेदवारी दिएन भन्ने प्रश्न गर्दै एकाथरि कांग्रेसलाई ठिक्क छ । अब सवाल ‘घण्टी’को को कहाँ लड्यो वा लडेन भन्ने हुँदै होइन । सवाल त गगन थापा पुस्ताको ‘होस्टे’मा विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतका नेपाली कांग्रेसमा भविष्य भएका युवा पुस्ताले ‘हैंसे’ गर्दै देश निर्माणमा लाग्ने भन्ने नै हो ।

समानुपातिकमा राखिएका अनुहारका कारण कांग्रेसको समानुपातिकको मत खस्कियो, एमालेमा भोलिको पार्टी हाँक्ने नेताको अनुहार चित्त नबुझेकै कारण पाँच वर्षको परीक्षण अवधिभित्र सच्चिन संसद बाहिर राखिदिए ।

सँगै, देशैभर नेपाली कांग्रेसबाट निर्वाचित युवा पुस्ताको रोजाइमा युवा नेता ‘गगन’ नपरी प्रौढ पुस्ताका अन्य नेता छनोट गर्दैगर्दा भोलि जनताका बीचमा दिने जवाफ पनि ती सांसद अर्थात प्रौढ नेता छान्ने सांसदले तयार गर्नुपर्ने हुन्छ, तर्क जे गरे पनि जनताले प्रौढ पुस्तालाई रुचाउने नेताका कुरामा भरविश्वास गर्ने आधार रहन्न । त्यतिमात्र नभई सत्ता र शक्तिको घोडामाथि सवार भएर पनि अहिले झैं त्यतिवेला चुनाव जित्न नसक्दा आफूमाथि अन्तर्घात गरियो भनेर महामन्त्री थापामाथि कटाक्ष गर्दै रोइलो गर्नुको अर्थ रहन्न । यतिमात्र नभई भोलि जनताका बीच जाने बाटो नै बन्द हुनसक्दछ । यतिवेला इतिहासले समेत मूल्यांकन गर्ने गरी युवा नेताहरु विश्वप्रकाश, प्रदीप पौडेल, रामहरि खतिवडा हुँदै उदय शमशेर राणालगायतको समर्थन त स्वभावैले गगनमाथि हुने नै भयो । बाँकी युवा नेतासमेतको प्रतिनिधिमूलक नेताहरुको ‘मूल्यांकन’समेत इतिहासले गर्नेछ ।

जब कोही ‘प्रौढसामु’ आत्मसमर्पणको तहमा पुग्छ, तब उसलाई भोलिको मितिमा जनताका बीच जानसमेत हम्मे-हम्मे पर्ने निश्चित नै छ । यहाँ सन्दर्भ उठाउनैपर्ने हुन्छ- कांग्रेस संसदीय दलको नेता चयनको सन्दर्भमा मुलुकले अग्रगमनको बाटो लिन्छ वा यथास्थिति तथा पश्चगमनमा जान्छ, त्यसैमा सिंगो मुलुकको ‘भाग्य र भविष्य’ जोडिनेछ । सँगै भिजनरी पुस्ताका नेता कांग्रेस महामन्त्री थापाको नेतृत्वमा पाँच वर्षका लागि मुलुकको बागडोर सुम्पिएर मूलधारका राजनीतिक दलले परिपक्वता प्रदर्शन गर्न सक्दा मुलुकमा देखिएको निराशाको समेत अन्त्य हुने आंकलन गर्न सकिन्छ । अन्यथा, जनमानसमा देखिएको निराशाले मूलधारका राजनीतिक दललाई कुन किनारामा लगेर थन्क्याउने हुन्, आजकै मितिमा भनिहाल्न सक्ने अवस्था रहन्न ।

सन्दर्भ फेरि पनि मिसन पीएमकै उठाउनु पर्दा मुलुकलाई ‘ड्राइभ’ गर्ने शक्ति नेपाली कांग्रेसले प्रौढको नेतृत्वमा निराशावादी निकासमार्फत देशलाई नयाँ नेतृत्व दिने कि युवा पुस्ताको नेतृत्वमा आशाको ‘रक्तसञ्चार’ भन्ने विषयले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्नेछ ।

प्रतिक्रिया

2 thoughts on “मिसन पीएम, गगनकुमार थापा र बदलिँदो राजनीतिक परिदृश्य

  1. सुशिला कार्की कहाँ स्वतन्त्र हुन् ? उनी विदेशीक‍ो उस्काहटमा एमाले विरोधी क्याम्पमा छिन् । बनाउने नबनाउने ठगबन्धनको धन्दा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *